प्रतिनिधिसभा सदस्य निर्वाचन आउन २७ दन बाँकी हुँदा दलीय र स्वतन्त्र उम्मेदवार परिणाम आआफ्नो पक्षमा सार्न सक्रिय छन् । निर्वाचन आयोगले चुनाव प्रचारका लागि फागुन पहिलो सातादेखि मात्र समय तोके पनि दल र उम्मेदवार घरदैलो र सामाजिक सञ्जालबाट मतदाताको मत जित्न व्यस्त छन् । उनीहरू विगतको नतिजा जोगाउने र उल्ट्याउने रणनीतिमा सक्रिय छन् ।
मुलुकको संघीय राजधानी काठमाडौंमा मात्र होइन, दुर्गम जिल्लामा पनि विस्तारै चुनावी रापताप बढ्दै गएको छ । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा पनि पुराना तथा नयाँ दलका र स्वतन्त्र उम्मेदवारले चुनावी रौनक देखिन थालेको छ ।
प्रतिनिधिसभा सदस्यका लागि २०७९ मंसिरमा भएको निर्वाचनमा काठमाडौंबाट प्रतिनिधित्व हुने १० सिटमा नेपाली कांग्रेसले पाँच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार र नेकपा एमालेले एक सिट आफ्नो पक्षमा पारेका थिए । कांग्रेस, रास्वपा र एमाले अघिल्लो निर्वाचनको परिणामलाई जोगाउँदै थप सिटमा जित निकाल्न सक्रिय छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सहितका दलहरू अघिल्लो नतिजा उल्टाएर आफ्नो पक्षमा पार्न लागिपरेका छन् । यसले चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । यस अंकमा काठमाडौंका निर्वाचन क्षेत्र १ देखि ५ सम्म प्रतिस्पर्धीलाई समेट्न खोजिएको छ ।
सिंहबिनाको काठमाडौं–१
अहिले काठमाडौं–१ को चुनावी प्रतिस्पर्धामा कांग्रेस नेता प्रकाशमान सिंह छैनन् । २०६४ सालदेखि निरन्तर यो क्षेत्रबाट निर्वाचित सिंहलाई कांग्रेसले यस पटक उम्मेदवार बनाएन । यो क्षेत्रमा कांग्रेसले महासमिति सदस्य प्रवल थापालाई उम्मेदवार बनाएको छ । थापासँगै राप्रपाका रविन्द्र मिश्र, एमालेका मोहनराज रेग्मी, नेकपाकी मेनुका भण्डारी, रास्वपाकी रञ्जु दर्शना प्रतिस्पर्धामा छन् । त्यस्तै यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले रमिला ज्याख्व (सुवाल), मितेरी पार्टी नेपाल (मिपाने) ले राजकुमार लिम्बु, जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रकाश नायजु, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सविन सिग्देल, श्रम संस्कृति पार्टीले समिर लामा तामाङ, नेकपा (माओवादी) ले धनराज शाही, उज्यालो नेपाल पार्टी (उनेपा) ले मंगलाल श्रेष्ठ, राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालले इन्द्रप्रसाद श्रेष्ठ, नेपाल जनसेवा पार्टी (नेसपा) ले अर्जुनबहादुर शाही, समावेशी समाजवादी पार्टी (ससपा) ले सुरेन्द्र पाण्डे र जनादेश पार्टी नेपाल (जपाने) ले कमल सुवेदीलाई उम्मेदवार बनाएका छन् ।
मिश्र यसअघिका दुई निर्वाचनमा कांग्रेस नेता सिंहसँग पराजित भएका थिए । तीन वर्षअघि २०७९ मा भएको निर्वाचनमा सिंहसँग १२५ मतान्तरले मिश्र पराजित भएका थिए । सिंहले ७ हजार १४३ र मिश्रले ७ हजार १८ मत पाएका थिए । २०७४ को निर्वाचनमा विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका मिश्र कांग्रेसकै सिंहसँगै ८१८ मतान्तरले पराजित भएका थिए । अहिले रास्वपाबाट मैदनामा आएकी रञ्जु अघिल्लो निर्वाचनमा काठमाडौं–५ बाट उम्मेदवार थिइन् । विवेकशील, विवेकशील साझा पार्टी हुँदै रास्वपा प्रवेश गरेकी रञ्जु कुनै समय मिश्रसँग एउटै पार्टीमा थिइन् । अहिले उनीहरू प्रतिस्पर्धी छन् । ४८ हजार ४ सय ८९ मतदाता भएको काठमाडौं–१ लाई सबै दलले प्रतिष्ठाको विषय बनाएका छन् ।
काठमाडौं–२, मैदानमा पुराना–नयाँ अनुहार
काठमाडौंको उत्तरपूर्वमा पर्ने यो क्षेत्रका मतदाता निर्वाचनैपिच्छे फरकफरक अनुहार छान्न रूचाउँछन् । यो क्षेत्रका उम्मेदवार विस्तारै मतदाताकहाँ पुग्न थालेका छन् । यो क्षेत्रमा १६ दलका र स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् । एमाले र राप्रपाले २०७९ कै उम्मेदवारलाई दोहोर्याएको यो क्षेत्रमा कांग्रेसलगायतले नयाँ अनुहारलाई उम्मेदवार बनाएका छन् ।
एमालेले मणिराम फुयाँल र राप्रपाले कुन्तीदेवी पोखरेललाई नै अघि सारेका छन् । कांग्रेसले कविर शर्मा, रास्वपाले सुनील केसी, नेकपाले नितेश पौडेललाई उम्मेदवार बनाएका छन् । विगतमा यो क्षेत्रबाट माधवकुमार नेपालले पनि प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका थिए । अहिले उनी नेकपामा छन् । ८८ हजार ७ सय ८ मतदाता रहेको यो क्षेत्रमा प्रलोपा, उनेपा, श्रम संस्कृति पार्टी, रामुपा, राष्ट्रिय परिवर्तन पार्टी (रापपा), आम जनता पार्टी (आजपा) सहितका दलका उम्मेदवार पनि प्रतिपर्धामा छन् ।
अघिल्लो निर्वाचन २०७९ मा यो क्षेत्रबाट रास्वपाकी सोविता गौतम निर्वाचित भएकी थिइन् । गौतमले १५ हजार २३८ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी एमालेका फुयाँल ११ हजार ५६६ मतमा रोकिएका थिए । राप्रपाकी पोखरेलले ११ हजार २४ मत पाएकी थिइन् । कांग्रेस र तत्कालीन माओवादी केन्द्रका साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीले ९ हजार ४५९ मत ल्याएकी थिइन् । काठमाडौं महानगरपालिकाका ९ र ३२, कागेश्वरी मनोहरा नगरपालिकाका ४ देखि ९ सम्मका वडा र शंखरापुर नगरपालिका यो क्षेत्रमा पर्छन् ।
घिसिङको प्रवेशले रोचक काठमाडौं–३
शिवपुरीधारा, बागद्वार, सुन्दरीजल आधा काठमाडौंको खानेपानी माग धान्ने क्षेत्र हो काठमाडौं–३ । खानेपानी समस्याले सधैँ काकाकुल जस्तो यो क्षेत्र उनेपाका अध्यक्ष कुलमान घिसिङको उम्मेदवारीले पनि थप चर्चामा छ । ‘मुलुकलाई लोडसेडिङ मुक्त गराएको’ भन्दै चर्चा कमाएका घिसिङ पार्टी खोलेर निर्वाचनमा होमिएका हुन् । यो क्षेत्रमा कांग्रेसका रमेश अर्याल, एमालेका रामेश्वर फुयाँल, रास्वपाका राजुनाथ पाण्डे, नेकपाका निरज लामा, राप्रपाका सुन्दरसिंह बोहरासहित उम्मेदवार छन् । कांग्रेसले अघिल्लो पटक निर्वाचित सन्तोष चालिसेलाई उम्मेदवार नबनाएर अर्याललाई अघि सारेको हो । यो क्षेत्रमा कांग्रेस, एमाले, उनेपा रास्वपाबिच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
६४ हजार ४ सय ७९ मतदाता रहेको यो क्षेत्रमा कागेश्वरी मनोहरा नगरपालिकाका १,२, ३ वडाका केही भाग, गोकर्णेश्वर नगरपालिकाका १ देखि ९ वडा र काठमाडौं महानगरपालिकाको ६ नम्बर वडा पर्छन् । परम्परागत राजनीतिक शक्ति बलियो ठानिएको यस क्षेत्रमा घिसिङको उम्मेदवारीले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको स्थानीय बताउँछन् । यसअघि चार पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका फुयाँल दुई पटक निर्वाचित भएका थिए ।
गगनले छाड्दा सुस्त काठमाडौं–४
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तीन पटक निर्वाचन जितेको क्षेत्र हो काठमाडौं–४ । पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकबाट सभासद बनेका थापा त्यसपछिका निर्वाचनमा निरन्तर यही क्षेत्रबाट निर्वाचित हुँदै आएका थिए । अहिले उनी काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवार छन् । पार्टीले उनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । काठमाडौं–४ मा कांग्रेसले यस पटक सचिन तिमल्सेनालाई उम्मेदवार बनाएको छ । एमालेले राजन भट्टराईलाई तेस्रो पटक यही क्षेत्रबाट मैदनामा उतारेको छ । थापाले छाडेपछि भट्टराई निर्वाचन परिणाम आफ्नो पक्षमा आउनेमा आशावादी छन् । यो क्षेत्रमा उनका प्रतिस्पर्धी कांग्रेसका तिमल्सेना मात्र होइन। रास्वपाका पुकार बम पनि छन् । यसअघि २०७९ मा काठमाडौं–१ बाट पराजित बम यस पटक ४ मा पुगेका हुन् । बमले काठमाडौं–१ मा बमले चार हजार ११५ मत पाएका थिए ।
२०७९ को निर्वाचनमा थापाले २१ हजार ३०२ मतले जित्दा निकटतम प्रतिस्पर्धी भट्टराई १३ हजार ८५५ मतमा रोकिएका थिए । त्यतिबेला कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दलबिच चुनावी गठबन्धन थियो । यो क्षेत्रमा बुढानीलकण्ठ नगरपालिकाका १, २ र ८ देखि १३ नम्बरसम्मका वडा, काठमाडौं महानगरपालिकाका १ ,७, ८ र ३० नम्बर वडा पर्छन् ।
काठमाडौं–५ मा पुरानालाई चुनौती
यो क्षेत्रमा राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका पुराना दलका नेतासँग नयाँ दलका नयाँ अनुहार प्रतिस्र्धामा छन् । यो क्षेत्रमा कांग्रेसबाट महामन्त्री प्रदीप पौडेल, एमालेबाट पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपाबाट पूर्वअध्यक्ष कमल थापा उम्मेदवार छन् । यी तीन यसभन्दा अघि एकअर्काविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएका अनुहार हुन् । उनीहरूसँग रास्वपाका सस्मित पोखरेल, उनेपाका श्रीराम गुरुङ, नेकपाकी कल्पना शर्मा, गतिशील लोकतान्त्रिक पार्टीकी निशा अधिकारीसहित प्रतिस्पर्धामा छन् । त्यस्तै राष्ट्रिय जनमोर्चाका अशोकविक्रम जिसी, नेकपा (संयुक्त) का निमेश खनाल, नेमकिपाकी शोभालाल श्रेष्ठ, मंगोल नेसनल अर्गनाइजेसनकी मीरा गुरुङ, मिपानेकी सुनिता न्यौपाने, नेकपा (माक्र्सवादी) का युवराज काफ्ले, जसपा नेपालका दानिन्द्र जोशी, त्रिमूल नेपाल पार्टीका रमेश तामाङ, आजपाका कोमल पौडेल, प्रलोपाका विष्णु श्रेष्ठ, संयुक्त नागरिक पार्टीका श्यामकाजी सुनुवार पनि चुनावी मैदानमा छन् ।
२०७९ को निर्वाचनमा एमालेका पोखरेललाई कांग्रेसका पौडेलले पराजित गरेका थिए । पोखरेलविरुद्ध युवाको आवाज बनेर चुनावी प्रतिस्पर्धामा उत्रिएका तनहुँका पौडेल अन्य दलका नेता तथा कायर्कर्ताको पनि आकर्षणमा परेका थिए । अहिले राप्रपाबाट थापा र रास्वपाबाट सस्मित यसै क्षेत्रबाट उठ्दा पौडेललाई चुनौती थपिएको विश्लेषण गर्न थालिएको छ ।
७८ हजार ११४ मतदाता रहेको यो क्षेत्रमा अघिल्लो निर्वाचनमा कांग्रेसका पौडेल १५ हजार २६९ मतसहित निर्वाचित हुँदा एमालेका पोखरेल १० हजार १९० मतमा रोकिएका थिए । त्यसबेला रास्वपाका प्रणय राणाले ५ हजार ४७७, राप्रपाका रामप्रसाद उप्रेतीले ३ हजार १ ६२, स्वतन्त्र उम्मेदवार श्रीराम गुरुङले २ हजार ७६१, हेमराज थापाले २ हजार ४४६ र सुशान्त श्रेष्ठले १ हजार ७१२ मत पाएका थिए । श्रीराम अहिले उनेपाबाट उम्मेदवार छन् ।
प्रकाशित: २२ माघ २०८२ २१:५६ बिहीबार





