परराष्ट्र मन्त्रालयले भारतको ओडिशा राज्यको केआईआईटी कलेजमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रिसा साहको मृत्युबारे निष्पक्ष अनुसन्धानका लागि आवश्यक समन्वय भइरहेको बताएको छ।
'यस दुखद् घटनाको सम्बन्धमा स्वतन्त्र एवम् निष्पक्ष अनुसन्धान हुन तथा उक्त शैक्षिक संस्थामा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूतिको लागि यस मन्त्रालयले आवश्यक समन्वय गरिरहेको छ,' शुक्रबार (आज) साँझ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा थप भनिएको छ, 'यस घटनाका सम्बन्धमा नेपाली राजदूतावास, नयाँ दिल्लीले भारतको विदेश मन्त्रालय, ओडिशा सरकारका सम्बन्धित निकायहरू, उक्त शैक्षिक संस्थाका प्रतिनिधिहरूलगायत अन्य सरोकारवाला निकायहरूसँग निरन्तर सम्पर्क एवम् समन्वय गरिरहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।'
केआईआईटी कलेजमा वैशाख १८ गते साँझ नेपाल वीरगञ्जकी प्रिसा साह मृत भेटिएकी थिइन्। जो, ओडिशा नै बसेर अध्ययन गर्थिन्। यसअघि पनि सोही कलेजमा अर्की नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो।

प्रकाशित: १९ वैशाख २०८२ २०:५४ शुक्रबार





