म्याग्दीको रत्नेचौर-भकुण्डे सडक २७ वर्षअघि ट्र्याक खुलेको यो सडक कालोपत्र गर्ने तयारी भएको छ।
बेनी नगरपालिका-१ रत्नेचौरदेखि वडा नं. २ भकुण्डेसम्मको सात किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल, घुम्ती र ग्रेड सुधार गरी कालोपत्रका लागि सवबेस र बेस बिछ्याउन थालिएको छ।
सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत सञ्चालित यो सडक चालु आर्थिक वर्षभित्र कालोपत्र गर्ने तयारी छ। सवइञ्जिनियर जीवन पौडेलले चार किलोमिटर पाँच सय मिटरमा सवबेस र बेस बिछ्याएर कालोपत्र गर्न लागिएको बताए।
‘एक किलोमिटर दुई सय मिटर ढलान भइसकेको छ,’ उनले भने, ‘थप दुई सय मिटर ढलान र तीन किलोमिटर कालोपत्रका लागि संरचना निर्माण अन्तिम चरणमा छ।’ नौ मिटर फराकिलो सडकमा सातái चौडाइमा आधुनिक प्रविधिको कालोपत्र र ढलान हुनेछ।
२०५६ मा ट्र्याक खुलेको यो सडक बेनी नगरपालिका-१, २, ४ र बागलुङ नगरपालिकाको मालिकाका बासिन्दाले प्रयोग गर्छन्। पहिले एक घण्टाको यात्रा अहिले २० मिनेटमा छोटिएको छ।
यो योजना २०७९ भदौ ६ मा गजेन्द्र-नयाँबाटो जेभीले २३ करोड ३२ लाखमा ठेक्का लिएको थियो। ३० महिनाको ठेक्का अवधि २०८२ फागुनसम्म थपिएको छ।
सडक डिभिजनका अनुसार ७५ प्रतिशत भौतिक र ५९ प्रतिशत वित्तीय प्रगति भएको छ। निर्माण कम्पनीका प्राविधिक अरुण सेढाइले पर्याप्त बजेट नभए पनि समयअघि योजना सम्पन्न गर्न लागिएको बताए।
चालु वर्षको चार करोड बजेट खर्च भइसकेको छ। थप बजेटका लागि सडक डिभिजनले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा प्रस्ताव गरेको छ।
सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा रणनीतिक सडक आयोजनाका लागि ४०-४० करोड विनियोजन गरेको थियो। अघिल्लो कार्यकालका सांसद भूपेन्द्रबहादुर थापाको सिफारिसमा यो आयोजना छनोट भएको हो।
सङ्घीय सरकारकै बजेटबाट रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किलोमिटर तीन सय मिटर कालोपत्र र तीन सय मिटर ढलान गरिएको छ। भकिम्ली-बरङ्जा-अर्मनको किमचौर हुँदै ताराखोलासम्म मार्ग खोलिएको छ। रासस
प्रकाशित: १३ वैशाख २०८२ ०९:२९ शनिबार





