११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

मुग्लिन-पोखरा सडक : बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत तनहुँको दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु भएको छ। पहिलो चरणको कालोपत्र केही समयअघि सम्पन्न भएपछि शुक्रबारदेखि दोस्रो चरणको काम थालिएको हो। 

दमौली बजारको मुख्यचोक, सफासडक चोक र तरकारी लाइन चोकमा पहिलो चरणको कालोपत्र भइसकेको छ। हाल एकतर्फी कालोपत्रको काम भइरहेको मुग्लिन-पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए। 

पूर्वी खण्डका अन्य ठाउँमा कालोपत्र अन्तिम चरणमा पुगे पनि दमौली खण्डमा घरटहरा हटाउन ढिलाइ हुँदा काममा विलम्ब भएको थियो। यो खण्डको ८२.९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ। 

चार लेनतर्फ ३३.५६ किलोमिटर र दुई लेनतर्फ ३.२ किलोमिटरमा अन्तिम कालोपत्र सकिएको छ। उनले भने, ‘हालसम्म कालोपत्र भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३.११ किलोमिटर कालोपत्र भएको छ।’ 

पूर्वी खण्डमा २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। यो खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा पाएको छ। २०२६ मा रेखाङ्कन भएको यो सडकमा सवारी चाप बढेपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा चार लेनको बनाउन लागिएको हो। रासस

प्रकाशित: १३ वैशाख २०८२ ०७:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App