अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको पुलबजार क्षेत्रमा स्थानीयको अवरोधले सडक विस्तारको काम डेढ महिनादेखि रोकिएको छ। सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका अनुसार करिब २०० मिटर क्षेत्रमा काम ठप्प छ।
पुलबजारमा ‘सेन्टर लाइन’ को विषयमा स्थानीयले असहमति जनाउँदै सडकको बीचबाट दायाँबायाँ ७५/७५ फिट (१५० फिट) मध्ये १४० फिटमा भइरहेको काम रोकेका छन्। स्थानीयले दुवैतर्फका घरमा बराबर दूरी छुट्याउनुपर्ने माग गरेका छन्।
‘हामीले सडकको डिजाइनअनुसार बीचबाट बराबर छुट्याउने हो, स्थानीयले घरको दूरी बराबर गर्नुपर्छ भन्दै विवाद गरेपछि काम रोकिएको छ,’ आयोजनाका इन्जिनियर विष्णु खनालले भने। उनका अनुसार बनेपा नगरपालिकाका जनप्रतिनिधि र स्थानीयबीच मङ्गलबार भएको छलफल पनि निष्कर्षविहीन भएको छ।
पुलबजारको अवरोधले बनेपाको मुख्य सहर क्षेत्रमा पनि निर्माण प्रभावित छ। चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकको डल निर्माण भइरहे पनि अन्य काम रोकिएको छ। खनालका अनुसार अवरोध तत्काल हटेन भने वर्षाअघि कामले गति नपाउने जोखिम छ। धुलिखेल क्षेत्रमा भने एक किमी सडकमा वाल, ड्रेन, पेवमेन्टको काम सम्पन्न भई कालोपत्रको तयारी छ।
पुलबजारमा मापदण्डभित्रका घर–टहरा हटाउने, बिजुलीको पोल, अप्टिकल फाइबर र हाइटेन्सन पोल सार्ने काम पनि रोकिएको छ। आयोजनाका अनुसार साँगा–धुलिखेल खण्डमा नासिकास्थानमा दुई, भैँसीपाटीमा तीन, जनागालमा दुई, बुडोलमा एक र २८ किलोमा एक गरी नौ घर–टहरा हटाउन बाँकी छ। बिजुलीको पोल सार्ने काम ७० प्रतिशत सकिएको छ भने एक हाइटेन्सन पोल सार्न बाँकी छ।
आयोजनाले चैत २७ मा सार्वजनिक सूचना जारी गरी मापदण्डभित्रका संरचना हटाउन अनुरोध गरेको थियो। यसअघि २८ किलो, बुडोल, बनेपा र पुलबजारमा स्थानीय अवरोधले घर–टहरा हटाउने काममा ढिलाइ भएको थियो।
यसैबीच, सूर्यविनायक–धुलिखेल सडकको छ लेन विस्तार समयमा नसकिने भएको छ। वि.सं. २०७९ पुस २४ बाट सुरु भएको १६ किमी सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य भए पनि बाँकी आठ महिनामा काम नसकिने आयोजनाले जनाएको छ। हाल ४५ प्रतिशत काम भएको छ।
आयोजनाका सूचना अधिकारी सजना अधिकारीले मापदण्डभित्रका संरचना हटाउन, रुख, बिजुलीका पोल र अप्टिकल फाइबर केबल स्थानान्तरणमा ढिलाइले समय थप्नुपर्ने बताइन्। ‘साँगा–धुलिखेल खण्डमा बनेपाको सहरी क्षेत्रमा पुल र व्यक्तिगत घरको विवादले पनि ढिलाइ भएको छ,’ उनले भनिन्। समयसीमासम्म करिब ६५ प्रतिशत काम हुने अनुमान छ।
आयोजनाअन्तर्गत साँगा–धुलिखेल खण्ड (८.४ किमी) को विस्तारका लागि ४ अर्ब ५ करोड ६४ लाख र सूर्यविनायक–साँगा खण्डका लागि ३ अर्ब ८८ करोड ९३ लाखमा ठेक्का सम्झौता भएको थियो।
साँघुरो सडकले बर्सेनि ट्राफिक जाम बढेपछि विस्तार थालिएको हो। तातोपानी नाका खुलेसँगै यो राजमार्गमा सवारी चाप बढेको छ। हाल कोटेश्वरबाट मध्यपहाडी र पूर्वी तराईका लागि दैनिक १ हजार ५०० भन्दा बढी लामो दूरीका सवारी चल्छन्। रासस
प्रकाशित: १० वैशाख २०८२ १३:४३ बुधबार





