३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८२ लाई औपचारिकता र माल्यार्पणमा सीमित नराखी बौद्धिक विमर्स र राष्ट्रिय चेतनासँग जोड्ने प्रयासस्वरूप नेपाली सेनाको देवीदत्त गणले जुम्लामा अन्तरमावि हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ।
विद्यार्थी केन्द्रित यस कार्यक्रमले इतिहासबोध, तर्कशक्ति र समसामयिक चेतनालाई एकै थलोमा जोड्दै पृथ्वी जयन्तीको सार्थकता उजागर गरेको सहभागीको धारणा छ। जिल्लाका विभिन्न स्थानीय तहका १७ वटा माध्यमिक विद्यालय सहभागी प्रतियोगितामा चन्दननाथ नगरपालिका, गुठिचौर, तातोपानी, तिला, हिमा र कनकासुन्दरी गाउँपालिकाका विद्यालयस्तरीय टोली सहभागी भएका थिए। प्रत्येक विद्यालयबाट तीन–तीन जना विद्यार्थी सहभागी हुँदा कुल २५ जनाले प्रतिस्पर्धा गरेका देवीदत्त गण जुम्लाले जनाएको छ।
भौगोलिक कठिनाइ र अन्य व्यवस्थापकीय कारणका कारण सिंजा र पातारासी गाउँपालिकाका विद्यालय सहभागी हुन नसकेनन्। प्रतियोगितामा पृथ्वी नारायण शाहको राष्ट्र एकीकरणमा रहेको ऐतिहासिक योगदान, राष्ट्रिय एकताको महत्व, संविधान र नागरिक कर्तव्य, समसामयिक राष्ट्रिय–अन्तर्राष्ट्रिय विषय, सामान्य ज्ञान तथा तर्कशक्तिसँग सम्बन्धित प्रश्न समावेश गरिएको थियो। बहुविकल्पीय, द्रुत उत्तर र टोलीगत छलफलका चरणहरूमा प्रतिस्पर्धा गराइएकाले कार्यक्रम ज्ञानमूलक मात्र नभई रणनीतिक र समन्वयात्मक पनि बनेको आयोजकको भनाइ छ। उत्तरको शुद्धता, समय व्यवस्थापन र टोलीगत समन्वयलाई मुख्य आधार मानेर मूल्याङ्कन गरिएको थियो। कडा प्रतिस्पर्धापछि हिमा गाउँपालिकाको टोलीले १ सय ३५ अंक ल्याउँदै प्रथम स्थान हासिल गर्यो।
चन्दननाथ नगरपालिका १ सय २५ अंकसहित दोस्रो स्थानमा रहँदा कनकासुन्दरी गाउँपालिका समान १ सय १० अंक ल्याएर तेस्रो स्थानमा सीमित भयो। तातोपानीले ६५, तिलाले ८० गुठिचाैर गाउँपालिकाले ४० अंक ल्याइएका थिए।अङ्कको नजिकको प्रतिस्पर्धाले अन्तिम चरणसम्म दर्शक र सहभागीको चासो उच्च रहेको थियो।विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई देवीदत्त गणका गणपति प्रमुख सेनानी धिरज थापाले मेडल र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरे।
पुरस्कार वितरण समारोहमा बोल्दै प्रमुख सेनानी थापाले पृथ्वी जयन्तीलाई केवल विगत सम्झने दिनका रूपमा होइन, नयाँ पुस्तामा इतिहासबोध, राष्ट्रप्रेम र जिम्मेवार नागरिक चेतना विकास गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। ‘पृथ्वी नारायण शाहले कल्पना गरेको एकीकृत नेपाल आजको पुस्ताले बौद्धिक, नैतिक र व्यवहारिक रूपमा जोगाउन सक्नुपर्छ,’ उनले भने, ‘यस्ता प्रतियोगिताले विद्यार्थीको अध्ययनप्रतिको रुचि बढाउनुका साथै सेना र समुदायबीचको सम्बन्धलाई पनि थप सुदृढ बनाउँछ।’
कार्यक्रमप्रति सहभागी विद्यार्थी, शिक्षक तथा अभिभावकले उत्साहजनक प्रतिक्रिया दिएका छन्। पृथ्वी जयन्तीलाई भाषण, जुलुस र माल्यार्पणमा सीमित नराखी ज्ञान, तर्क र प्रतिस्पर्धासँग जोडिएको कार्यक्रमले विद्यार्थीलाई सोच्न र बुझ्न प्रेरित गरेको उनीहरूको भनाइ छ। एक सहभागी शिक्षकले भने, ‘यस्ता गतिविधिले पाठ्यपुस्तकभन्दा बाहिरको ज्ञान र आत्मविश्वास दुवै बढाउँछ।’देवीदत्त गण जुम्लाले आगामी दिनमा पनि जिल्लामा शैक्षिक, बौद्धिक तथा चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। स्थानीय स्तरमै आयोजना गरिएका यस्ता कार्यक्रमले दुर्गम जिल्लाका विद्यार्थीमा पनि राष्ट्रिय विषयप्रति चासो र आत्मविश्वास बढाउने विश्वास आयोजकको छ।
प्रकाशित: १४ पुस २०८२ १२:५५ सोमबार





