२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

नागरिकले आफ्नै हातले भविष्य लेख्ने यो सुनौलो अवसर हो: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यसपटकको निर्वाचन विगतका कुनै पनि चुनावभन्दा महत्त्वपूर्ण र ऐतिहासिक रहेको बताएका छन्।

बिहीबार काठमाडौं क्षेत्र नम्बर-३ मा मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

बङ्गलामुखी मन्दिरको दर्शन गरेर मतदान गर्न पुगेका लामिछानेले आफूलाई यसपटक निकै सकारात्मक महसुस भएको सुनाए।

उनले भने, ‘यो इतिहासको एउटा यस्तो मोड हो, जहाँ कलिला भाइबहिनीहरूले आफ्नो बलिदानी दिएपछिको परिवर्तनका लागि भएको निर्वाचन हो।’

उनले एउटा दुःखद घटनाले ल्याएको परिस्थितिमा यो चुनाव हुन लागेको भन्दै यसलाई विगतका अन्य चुनावभन्दा बढी महत्त्वपूर्ण ठानेको र आफू भावुक समेत भएको बताए।

लामिछानेले अब मुलुक कस्तो बनाउने र कस्तो नेतृत्व छान्ने भन्ने कुरा पूर्ण रूपमा नागरिकको हातमा रहेको प्रस्ट पारे।

‘राजनीतिक दलका रूपमा हामीले जे गर्नुपर्थ्यो, गरिसकेका छौं,’ उनले थपे, ‘अब नागरिकको विवेकले देशको भविष्य निर्धारण गर्नेछ। यो एक–एक नागरिकले आफ्नो भविष्य आफैं लेख्ने सुनौलो अवसर हो।’ उनले कसैको दबाब वा प्रभावमा नपरी निर्धक्क भएर मतदान गर्न अपिल गरेका छन्।

जेन-जी आन्दोलन र युवाहरूको माग सम्बोधन गर्ने विषयमा सोधिएको प्रश्नमा उनले रास्वपा नै ती मागलाई सबैभन्दा बढी न्याय गर्न सक्ने पार्टी भएको दाबी गरे।

उनले भने, ‘जेनजीहरू सबैभन्दा बढी उम्मेदवार भएको, घाइते र सहिद परिवार उम्मेदवार भएको पार्टी नै रास्वपा हो। त्यसैले यो आन्दोलनबाट सिर्जना भएको परिस्थितिलाई हामीले नै सबैभन्दा बढी सम्बोधन गर्नेछौं।’ उनले विभिन्न पक्षसँग सहमति गर्दा पनि लिखित रूपमै गरेको स्मरण गराए।

मतदानका क्रममा आफ्ना पार्टीका नेताहरू डा. मनीष झा र सुलभ खरेलको टोलीमाथि भएको आक्रमणको उनले भर्त्सना गरे। लोकतन्त्रको सबैभन्दा ठूलो अभ्यास निर्वाचन भएको बताउँदै उनले मतपत्रबाहेक अन्य माध्यमबाट आक्रोश पोख्न नमिल्ने बताए।

सभापति लामिछानेले देशभरका आफ्ना कार्यकर्ता र शुभेच्छुकलाई संयमित रहन निर्देशन दिएका छन्। उनले भने, ‘कसैले ठूलो स्वर गरे वा आलोचना गरे पनि प्रतिक्रिया नजनाउनुहोला। एकदम शान्त रहनुहोला।’

उनले शान्त ढंगले निर्वाचन सम्पन्न गर्न र परिणामलाई स्वीकार गर्न सबैलाई आग्रह गरेका छन्।

प्रकाशित: २१ फाल्गुन २०८२ ११:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App