१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

सहर ‘कन्ट्रोल’ गर्दै बाँके प्रहरी

नेपालगन्ज सहरको शान्तिसुरक्षा अभिवृद्धिका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले प्रविधिमैत्री सुरक्षा व्यवस्थालाई थप सशक्त बनाउँदै सहरभर सिसी क्यामेराबाट निगरानी गर्ने प्रक्रिया अघि बढाएको छ। नेपालगन्ज उपमहानगरपालिकासँगको समन्वयमा यो तयारी तीव्ररूपमा अघि बढाइएको प्रहरी भनाइ छ। यससँगै अब नेपालगन्ज सहर पूर्णरूपमा प्रहरीको निगरानी प्रणालीभित्र आउने अपेक्षा गरिएको छ।

सहरका धेरै क्षेत्रमा सिसी क्यामेरा नहुँदा विगतमा अपराध नियन्त्रण तथा अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरी अनुभव छ। कुनै घटना भएपछि प्रमाण जुटाउन समस्या पर्ने, अपराधी पहिचान गर्न समय लाग्ने, अपराध गरेर फरार हुनेलाई नियन्त्रणमा लिन चुनौती देखिने गरेको थियो। यस्तो अवस्थाकै कारण सहर पूर्णरूपमा प्रहरी नियन्त्रणभित्र छैन भन्ने अभिव्यक्ति सार्वजनिक क्षेत्रमा व्यक्त भइरहँदै आएको थियो। यही पृष्ठभूमिमा प्रहरीले सुरक्षा रणनीतिलाई आधुनिक बनाउँदै सिसी क्यामेरा जडानको अभियान अघि सारेको हो।

अब नेपालगन्जका मुख्य सडक, चोक, बजार क्षेत्र, आवासीय इलाका, सार्वजनिक स्थल तथा संवेदनशील स्थानमा सिसी क्यामेरा जडान भएपछि सहर २४ घन्टा प्रहरीको लगातार निगरानीमा रहने छ।

यसअघि अपराध घटेर पछि मात्र प्रहरी परिचालन हुने अवस्था रहँदै आएको भए पनि अब भने घटना हुनै नदिन पहिल्यै सतर्कता अपनाउने, अपराध हुँदै गरेको संकेत देखिनासाथ तुरुन्त नियन्त्रण गर्ने तथा घटना भएपछि तत्काल कारबाही गर्न सकिने अवस्था बन्ने छ। यसले सहरलाई सुरक्षित बनाउने मात्र होइन, अपराध गर्ने मनसाय भएका व्यक्तिहरू पनि सचेत र भयभीत हुने विश्वास लिइएको छ।

सिसी क्यामेराबाट संकलन हुने सम्पूर्ण दृश्य तथा सूचना जिल्ला प्रहरी कार्यालय बाँकेभित्र स्थापना हुँदै गरेको कन्ट्रोल रुम मार्फत नियन्त्रित गरिने छ। त्यहाँ अत्याधुनिक उपकरण जडान गरिने छ र विशेष तालिम प्राप्त प्रहरी टोली २४सै घन्टा निरन्तर निगरानीमा रहने छ। कुन ठाउँमा के गतिविधि भइरहेको छ, कहाँ शंकास्पद अवस्था देखियो, कहाँ घटना हुँदै छ वा भइसक्यो यी सबै कुरा कन्ट्रोल रुममै तत्काल थाहा हुने छ। त्यसपछि त्यहींबाट कमान्ड पास गरेर छिटो र प्रभावकारी ढंगले प्रहरी परिचालन गरिने छ। यसले अपराध नियन्त्रणसँगै दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन, भीड नियन्त्रण र आपत्कालीन उद्धार कार्यलाई पनि सहज बनाउने अपेक्षा गरिएको छ।

जनताको ज्यान, धन र स्वतन्त्रताको सुरक्षा गर्नु प्रहरी प्रशासनको प्रमुख दायित्व हो। नेपालको संविधानले नागरिकलाई सुरक्षित र सम्मानजनक जीवन बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ।

त्यसअनुसार अपराध नियन्त्रण, कानुनको प्रभावकारी कार्यान्वयन, सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण र मानव सुरक्षालाई प्राथमिकतामा राख्दै प्रहरीलाई प्रविधिमैत्री बनाइने प्रयास भइरहेको छ। आजको समयमा केवल जनशक्तिमा मात्र निर्भर भएर अपराध नियन्त्रण सम्भव छैन।

अपराधको शैली, घटनाको प्रकृति र जोखिमको स्वरूप परिवर्तन भइरहेका छन्। त्यही कारण विश्वभरका धेरै सहरमा सार्वजनिक स्थानदेखि राजमार्ग, सरकारी कार्यालय, व्यापारिक क्षेत्र, बैंक, व्यावसायिक केन्द्र तथा संवेदनशील स्थानसम्म सिसी क्यामेराको व्यापक प्रयोग हुँदै आएको छ। नेपालगन्ज पनि अब त्यही आधुनिक सुरक्षा अभ्यासतर्फ अघि बढ्दै छ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले प्रविधि प्रयोग आधुनिक सुरक्षाको आवश्यक आधार भएको बताए।

उनका भनाइमा नेपालगन्जजस्तो बढी चहलपहल भएको सहरलाई केवल परम्परागत शैलीले मात्र सुरक्षित राख्न सकिन्न। अपराधको स्वरूप बदलिँदै गएको अवस्थामा प्रहरी पनि निरन्तर अपडेट हुनुपर्ने आवश्यकता देखिएको छ।

‘नेपालगन्ज अब सिसी क्यामेरामार्फत २४सै घन्टा प्रहरीको प्रत्यक्ष निगरानीमा रहने छ। कुनै पनि घटना भयो भने तुरुन्तै जानकारी हुन्छ, अपराधी भाग्न पाउने सम्भावना धेरै कम हुन्छ। यसले अपराध नियन्त्रणमा ठुलो टेवा पुर्‍याउने छ’, एसपी जिसीले बताए।

उनले सिसी क्यामेरा अपराध नियन्त्रणको साधन मात्र नभई नागरिकमा सुरक्षाको विश्वसनीयता कायम गर्ने साधन भएको पनि उल्लेख गरे।

उनका अनुसार सहर सुरक्षित भयो भने व्यापार, सामाजिक जीवन, समृद्धि र विकासका सबै पक्षमा सकारात्मक परिणाम देखिन्छ। उनले यस कार्यमा स्थानीय तह, निजी क्षेत्र र आम नागरिकको सहकार्य अपरिहार्य रहेको जनाए।

‘प्रहरी केवल कारबाहीको संस्था होइन, जनताको सुरक्षामा समर्पित सेवा प्रदायक अंग हो। यो अभियान जनताको सुरक्षासँग प्रत्यक्ष जोडिएको छ, त्यसैले सबैको साथ, सहकार्य र विश्वास अत्यावश्यक छ’, उनले भने।

नेपाल-भारत सीमानजिक रहेको, व्यापारिक आवागमन बढी हुने, विविध गतिविधिले भरिपूर्ण रहेको सहरका रूपमा नेपालगन्जको सुरक्षा चुनौती पनि स्वाभाविक रूपमा जटिल रहेको छ।

यस्ता चुनौतीलाई व्यवस्थापन गर्न प्रविधि प्रयोगको यो कदम महत्त्वपूर्ण हुने प्रहरी विश्वास छ। सिसी क्यामेरा जडानपछि अपराध दर्ता दर कम हुने, अनुसन्धान छिटो र प्रभावकारी हुने, अपराधी चाँडै समातिने र सहरभर सुरक्षाको अनुभूति बलियो हुने अपेक्षा लिइएको छ।

प्रकाशित: १४ पुस २०८२ १२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App