११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

जोखिममा हिमाली याक चौँरीपालन : संरक्षणको खाँचो

थासाङ–२ घट्टेखोलास्थित हिमालयन याक नाकपालन उपसमितिका सदस्य भीमप्रसाद थकालीलाई याकचौँरीका पाठापाठी हुर्काउन समस्या छ।

उनको करिब ७० वटा याकचौँरी छन्। पुस्तौंदेखि यो पेशा अङ्गाल्दै आएका थकालीले याकचौँरीपालन जोगाउन गाह्रो भएको बताए। सरकारले हिमाली क्षेत्रका याकचौँरीपालन व्यवसाय संरक्षण गर्न कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ। ‘सरकारले हिमाली याकचौँरीपालन संरक्षणका लागि अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकिरहेको छैन,’ उनले भने, ‘हिमालमा चरनक्षेत्रमा घाँस नहुने, वन्यजन्तुको जोखिम र सुख्खा खडेरीले पानीको अभाव हुँदा यो व्यवसायनै लोप हुने अवस्थामा पुगेको छ।’

जिल्लाका पाँच स्थानीय तहमा करिब चार हजार ७०० याकचौँरी छन्। याकचौँरीपालनको हकहित र उत्थानका लागि २०७६ मा हिमालयन याकचौँरी पालन तथा संरक्षण व्यवस्थापन समिति गठन भएको थियो। त्यसको उपशाखा थासाङ–२ घट्टे खोलामा छ।  

थकालीजस्तै थासाङ–२ मा २२ घरधुरीले २२ गोठमा करिब ७०० याक नाक पाल्छन्। पुस्तौनी व्यवसाय याकचौँरीपालनबाट राम्रो आम्दानी हुने उनीहरूको भनाइ छ। याक नाकको दूधबाट घ्यू, छुर्पी र मासु बन्छ। यसका अतिरिक्त याक नाकको रगत बिक्री गरेर वैकल्पिक आम्दानी हुन्छ।

थासाङमा हिउँद र बर्खायाममा फरक–फरक ठाउँमा गोठ सारेर याकचौँरी व्यवस्थापन गरिन्छ। बर्खायामको चिसोमा मुलीखर्क, मार्चे र बतासे डाँडामा गोठ सारिन्छ। हिउँदमा बस्तीनजिकको पट्के खर्क, छिप्लुङ खर्क, सेकुङ खर्क, खैक्यु खर्क र लुप्साङ खर्कमा गोठ सारिन्छ। याकचौँरी पालक गौतम शेरचनले गोठालालाई वार्षिक दुई लाख र खाने, बस्ने र लत्ताकपडाको व्यवस्था गरिने बताए।  

पछिल्लो समय हिमाली क्षेत्रमा याकचौँरीपालन सङ्कटमा छ। जलवायु परिवर्तनले वातावरणीय क्षेत्रमा असर पर्दा याकचौँरीपालन समस्यामा परेको स्थानीयको अनुमान छ।  

हिमाली क्षेत्रमा समयमा हिउँ नपर्ने, बेमौसमी हिमपात र कुनै वर्ष हिउँ नपर्ने समस्याले चरनक्षेत्रमा घाँस पाइन छाडेको छ।  

हिमालयन याक नाक उपसमितिका किसानले याक नाकको रगत बिक्री गरेर वैकल्पिक आम्दानी गर्छन्। याकचौँरीको आलो रगत बिक्री गर्ने हिमाली क्षेत्रको पुरानो सांस्कृतिक प्रचलन हो। याकचौँरीको आलो रगतले ग्याष्ट्रिक, गानोगोला, हाडजोर्नी दुख्ने र पेटसम्बन्धी रोगमा फाइदा पुग्ने विश्वास छ।  

एक वयस्क याकचौँरीबाट २५ देखि ४२ गिलास रगत निकालिन्छ। यो रगत प्रतिगिलास ३०० रुपैयाँमा बिक्री हुन्छ। रासस

प्रकाशित: ८ वैशाख २०८२ ०८:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App