यहाँका दनुवार अगुवाहरूले आफ्नो अधिकार लिने नाममा अरुको अस्तित्वमाथि प्रहार हुन नहुने बताएका छन्। पहिचान, संस्कार, संस्कृति, रहनसहन र भेषभूषासँगै अन्य अधिकार लिँदा अरु कसैको अस्तित्वमाथि प्रहार हुन्छ कि भनेर सचेत हुनुपर्नेमा उनीहरूको खबरदारी थियो।
आइतबार (आज) सम्पन्न जिल्ला अधिवेशनको अवसरमा जिल्लाबासी दनुवार अगुवाहरूले यस्तो धारणा राखेका हुन्। सामूहिक र समुदायगत अधिकार प्राप्तिको दौरानमा सबै एकताबद्ध भएर लाग्न आह्वान गर्दै अगुवाहरूले समुदाय, समाज र देशका निम्ति साझा प्रतिबद्धताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
नेपालका समुदायमा पिछडा वर्गभित्र पर्ने आदिवासी जनजाति समुदाय दनुवारहरूको साझा संस्था ‘दनुवार जागरण समिति उदयपुर’ को दोस्रो जिल्ला अधिवेशनको अवसरमा अगुवाहरूले हक, अधिकार प्राप्तिका लागि सबैभन्दा पहिला आफैँ एक हुनुपर्ने खाँचो औँल्याए।
केन्द्रीय अध्यक्ष रामकुमारसिंह दनुवारले यो समुदाय सदियौँदेखि पछि पर्दै र पारिँदै आएको बताउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि पछिल्लो दशकयता हक र अधिकार के हो भन्नेबारे भर्खर जानकारी हुन थालेको बताए।
दास युगदेखि राणा, पञ्चायत र बहुदलसम्म दनुवार समुदाय पूर्ण मानवको रूपमा जिउन नपाएको अनुभव सुनाउँदै अध्यक्ष दनुवारले माओवादीको १० वर्षे जनयुद्ध र त्यसपछि प्राप्त सङ्घीय गणतन्त्रले आफूहरू को हो, कस्तो हो र पहिचान र अधिकार के हो भन्ने बारेमा जान्न पाएको बताए।
सदियौँदेखि गुमेको पहिचान र जातीय अधिकार गणतन्त्रले दिने गरी संविधानमै लिपिबद्ध भए पनि आफू-आफूका बीचमा एकता अभावमा अझै पाउन नसकेको भन्दै उनले अब एकताबद्ध भएर अधिकार लिन सङ्घर्ष गर्नुपर्ने आवश्यक्ता रहेको बताए।
प्रदेशसभा उपसभामुख सृजना दनुवारले दनुवार समुदायको एकता र साझा पहिचानको महत्त्वमा जोड दिँदै हरेक क्षेत्र, जाति, समुदाय र तह तप्काको प्रगति र समृद्धिका लागि एकजुट भएर अघि बढ्नुपर्ने बताइन्। विविधतालाई एकतामा परिणत गर्न दनुवार जागरण समाजको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै उपसभामुख दनुवारले सदियौँको पौराणिक इतिहास र विरासत बोकेको दनुवार समुदायलाई थप जागरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन्।
अधिवेशनले कृष्णराज दनुवारको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। नवनिर्वाचित अध्यक्ष दनुवारले आइतबार नै शपथ लिँदै दनुवार समुदायको हक, अधिकार र पहिचानको संरक्षण, सम्वर्द्धन र विकासका लागि आफू र आप्नो नेतृत्वको समिति समर्पित भएर लाग्ने प्रतिबद्धता जनाए। उनले आफ्नो समुदायको संस्कार, संस्कृति जोगाउन पूर्वाग्रही हुन नहुने भन्दै संविधानप्रदत्त अधिकारमा भने कसैसँग सम्झौता नगर्ने अडान लिए।
आफ्नो अधिकार लिन आवश्यक परे खोस्न तयार हुने तर, त्यसो गर्दा अरुको अधिकारमाथि कुनै चोट र प्रहार नहोस् भन्नेतर्फ सतर्क रहन उनको आग्रह थियो। आफ्नो कार्यकाल प्रभावकारी र परिणाममुखी बनाउन सबैसँग सहयोग र सहकार्यको आग्रह पनि उनले गरे। अधिवेशनले दनुवार समुदायको सामाजिक, सांस्कृतिक र राजनीतिक उत्थानमा नयाँ दिशा तय गर्नुका साथै सकारात्मक ऊर्जा थपेको पनि उनले बताए।
प्रकाशित: ७ वैशाख २०८२ २०:५६ आइतबार





