फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह संसदीय राजनीतिको तयारीमा होमिएका छन्।
यो दौडमा उनलाई एक्लै नहिँड्न दबाब दिँदै जेन-जीका प्रतिनिधिहरूले सबै नयाँ र वैकल्पित शक्तिहरुसँग मिलेर अघि बढ्न आग्रह गरेका छन्।
बिहीबार ललितपुरस्थित कुमार व्यञ्जनकारको निवासमा दिनभर चलेको ‘म्याराथन’ राजनीतिक भेटघाटमा युवाहरूले बालेनलाई ‘मिल्ने’ प्रस्ताव राखेका हुन्।
भेटमा सहभागी जेनजी अगुवा पुरुषोत्तम यादवले मेयर शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र ऊर्जा मन्त्री कुलमान घिसिङसँग सहकार्य गर्न सुझाए।
‘हामीले बालेन दाइलाई स्पष्टसँग भन्यौँ- दाइ प्लिज, तपाईं राजनीतिमा आइदिनुपर्यो। तर एक्लै होइन, रवि र कुलमान सरसँग जसरी पनि मिल्नुपर्छ,’ यादवले भने।
अर्का प्रतिनिधि युजन राजभण्डारीका अनुसार बालेनले पनि युवाहरूलाई स्वच्छ छवि भएकाहरू अगाडि आउनुपर्ने र मिल्नुपर्ने बताएका थिए।
नेपाल जेन-जी फ्रन्टकी संयोजक रक्षा बमले आफूहरू धेरै कुरा त्यागेर मिड ट्वान्टिज मै राजनीतिमा चासो राखिरहेको भन्दै शीर्ष नेताहरू मिल्नुको विकल्प नरहेको बताइन्।
जेन-जीहरूको प्रस्तावमा बालेनले आफू संसदीय राजनीतिमा औपचारिक रूपमा होमिएको संकेत दिएका थिए। उनले देश विकास पार्टी (चुनाव चिह्न लौरो) मार्फत आगामी निर्वाचनमा भाग लिने र देशभर उम्मेदवारी दिने तयारी सुनाएको एक प्रतिनिधिले जानकारी दिए।
बालेनले राजनीतिको नयाँ अध्याय सुरु गरेकाले यस अभियानमा जेन-जीको पनि साथ चाहिने बताएका थिए। बालेनले २५ वर्ष पूरा भएका युवाहरूलाई उम्मेदवार बन्न समेत आग्रह गरेका थिए।
जेन फोर्सका संयोजक रोहनराज दंगालका अनुसार बालेनले रवि र कुलमानसँगको एकताबारे ब्रिफिङ गर्दै भने, ‘एकै ठाउँमा आउने विषयमा रवि र कुलमान सकारात्मक हुनुहुन्छ। तपाईंहरू पनि यसमा सकारात्मक रूपमा सहभागी हुनुस्।’
बालेनले बिहीबार बिहानैदेखि कुलमान घिसिङ, रवि लामिछाने, डा. बाबुराम भट्टराई, सुनिल शर्मा, अमरेशकुमार सिंह लगायतसँग ‘वान अन वान’ वार्ता गर्नुको कारण निर्वाचन आयोगको समयसीमा हो।
पुस १३ र १४ गतेभित्र समानुपातिक बन्दसूची बुझाउनुपर्ने भएकाले बालेन देश विकास पार्टी मार्फत नयाँ शक्तिहरूलाई गोलबद्ध गर्ने अन्तिम कसरत छन्।
कुलमान घिसिङसँगको एकता लगभग टुंगो लागिसकेको र रवि लामिछानेसँग निर्णायक वार्ता भइरहेको बुझिएको छ।
प्रकाशित: १० पुस २०८२ १९:४५ बिहीबार





