आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा खोटाङबाट एकै घरका दुई दाजुबहिनीको नाम समानुपातिक उम्मेदवारीमा सिफारिस भएको छ । फरक फरक दलबाट समानुपातिकमा नाम सिफारिस हुनेहरुमा गायिका सत्यकला राई तथा उनका दाजु खगेन्द्र राई छन् ।
जिल्लाको ऐँसेलुखर्क गाउँपालिका ७ मा जन्मेका उनीहरुको नाम सिफारिस गर्ने राजनीतिक दलहरु भने फरकफरक हुन् । गायिका सत्यकला रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट सिफारिसमा परेकी हुन् भने दाजु खगेन्द्र नेकपा (एमाले)बाट । फरक दलबाट एउटै घरका दाजुबहिनी समानुपातिकमा सिफारिसमा पर्नु संयोग मात्र नभएर पार्टीप्रतिको लगाव र इमान्दारिता भएको उनीहरु बताउँछन् ।
जिल्लाको ऐसेलुखर्क ७ माक्पाका खगेन्द्र एमालेमा लामो समयदेखि प्रतिबद्ध नेताको रुपमा चिनिन्छन् । यसपटकको प्रतिनिधिसभा निर्वाचनमा एमाले खोटाङले राईसहित ३ जनाको नाम समानुपातिकतर्फ सिफारिस गरिसकेको छ ।
बहिनी सत्यकला खोटेहाङ गाउँपालिका ८ सिम्पानीकी स्थायी बासिन्दा हुन् । सीमाना तथा काँडेतार चलचित्रका निर्माता रहिसकेका राष्ट्रबादी चलचित्र निर्माताको परिचय बनाईसकेका अभिनेता नबल खड्काकी पत्नी हुन् राई । अभिनेता खड्का २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)ले खोटाङबाट समानुपातिक उम्मेदवार बनाएको थियो । गायिका राई भने अहिलेसम्म कुनै पनि राजनीतिक दलसँग आवद्ध थिईनन् ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ गायिका सत्यकलाको नाम सिफारिस गरिसकेको रास्वपा खोटाङले प्रारम्भिक सूचीमा पहिलो नम्बरमा समेटेको छ । प्रत्यक्षतर्फका उम्मेदवार भने केहीदिनपछि मात्र सिफारिस गर्नेगरी समानुपातिकतर्फ नाम टुङ्ग्याइएको रास्वपा खोटाङका सभापति मुकुन्दकृष्ण थापाले बताए । पार्टीले प्रत्यक्षतर्फ उम्मेदवार छनोट प्रक्रिया पनि अगाडि बढाईसकेको तर, केही दिनभित्र मात्र टुङ्ग्याउने थापाले बताएका छन् ।
एमालेले पनि प्रत्यक्षतर्फका उम्मेदवारको नाम टुङ्ग्याउन बाँकी राखेको छ । एमालेले पूर्व केन्द्रीय सदस्य रहेका खगेन्द्रसँगै केन्द्रीय सदस्य उषाकला राई र अनुशासन आयोग सदस्य कर्ण घलेको नाम समानुपातिक उम्मेदवारमा सिफारिस गरेको छ । प्रत्यक्षतर्फ भने एमालेले पनि अहिलेसम्म कसैको नाम सिफारिस गरेको छैन ।
प्रकाशित: १० पुस २०८२ १९:४८ बिहीबार





