नजिकै बग्दै गरेको भेरी नदीको किनारमा सुन्दर फाँट छ। झोलुंगे पुल तर्नेबित्तिकै स्वास्थ्य चौकी र प्रहरी कार्यालय भवन छ। नजिकै विद्यालय छ। हेर्दा यो बस्ती जति सुन्दर र सम्पन्न देखिन्छ, बस्तीभित्र पसेपछिका पीडाका भारी उठाउनै नसकिने खालका छन्। ‘नजिकै भेरी गन्छ, हामीले त्यसको उपयोग गर्न पाएका छैनौं, हाम्रा फाँट सिँचाइ अभावमा बाँझै हुन्छन्’, स्थानीय रूपा कामले भनिन्, ‘बर्खामा मात्रै हो जमिन हरियाली हुने भेरीको पानी सम्झने मात्रै हो।’
रूपाले भनेजस्तै यहाँ सिँचाइको मात्रै समस्या होइन, अहिलेसम्म यहाँ विद्युत् पुगेको छैन। पोल र तार तानिएको तीन वर्ष भइसक्यो बिजुली बलेको छैन। केहीले सोलारमार्फत घर उज्यालो गर्छन्। अधिकांशका घरमा सोलार छैन। बर्थिङ सेन्टरको सुविधासहितको स्वास्थ्य चौकी छ। आवश्यक उपकरण छन्। विद्युत् नहुँदा ती उपकरण स्वास्थ्य संस्थाले चलाउन पाएको छैन। खानेपानी अभाव झन् त्यस्तै छ।
‘हेर्दा यो बस्ती जति सुन्दर छ, यहाँका पीडाको भारी उठाउन नसक्ने छ’, उनले भनिन्, ‘कर्णाली प्रदेशको राजधानीसँग जोडिएको गाउँको अवस्था त यस्तो छ, कर्णालीका हिमाल पहाडतिरको अवस्था झन् कस्तो होला।’ हुन पनि कर्णाली प्रदेशको राजधानीको सहर वीरेन्द्रनगरदेखि यो गाउँको दूरी २५ किलोमिटर टाढा हो।
बराहताल गाउँपालिका– ४ को यो गाउँ भेरी किनारपारिका झन्डै एक दर्जन गाउँको केन्द्र पनि हो। यहींबाट माथिल्लो तरंगा, साझाघाट, कुटा सिम्लेपानी, केलाडी, नरर्सिङकाँडा, गाइनेकाँडा, हर्रेकाँडा, सुकुरमालालगायतका गाउँ जोडिन्छन्। सोलारमार्फत भेरीको पानी तान्नका लागि २०७६ सालमा सोलार लिफ्ट आयोजना सुरु भयो। केही दिन भेरीको पानीले किनारको भूमि सिँचित पनि भयो। यो धेरै दिन टिकेन।
सिँचाइ अभावमा खेतीपातीका लागि आकाशे पानीको भर पर्नुपर्ने बाध्य यहाँ छ। हिउँदमा पर्याप्त पानी नपर्दा गहुँ, तोरी, मसुरो र चना खेती फस्टाउन नसकेको स्थानीय बताउँछन्। खानेपानी र सिँचाइको त कुरै छाडौं, विद्युत् नहुँदा स्कुले विद्यार्थीलाई पढ्न समस्या छ। भेरी किनारमा गर्मी समयमा अत्यधिक गर्मी हुन्छ। टिनको पाताले छाएको विद्यालयमा दिउँसो समयमा पढ्न गाह्रो हुन्छ। राति पढ्नका लागि विद्युत् छैन। ‘बिजुली नहुँदा विद्यार्थीलाई पढ्न समस्या छ’, स्थानीय ललित सुनारले भने, ‘घरमा बत्ती हुँदैन, विद्यालयमा टिनको पाता तातिएर गर्मीमा भित्र बसेर पढ्न सक्दैनन्।’
बिजुली नहुँदा कुटानी–पिसानीका लागि डिजेलबाट चल्ने मिलको भर पर्नुपर्छ। स्थानीय आशाराम थापाका अनुसार कुटानी–पिसानी गर्दा प्रति केजी ६ रूपैयाँ तिर्नुपर्छ। ‘बत्ती भएको भए कुटानी पिसानी मात्रै होइन, अन्य दैनिक काममा धेरै सहजता हुन्थ्यो’, उनले भने, ‘पोल र तार आएको तीन वर्ष भइसक्यो, बत्ती कहिले आउने हो थाहा छैन।’
तरंगामा विद्युत् पुर्याउन हुड्केबाट बरडाँडा, कुम्भीकोट हुँदै विद्युत्का पोल र तार तानिएको छ। हुड्के–कुम्भीकोट–साँझघाट सडक विस्तारका क्रममा कतिपय पोल ढलेका छन्। ढलेका पोल कहिले बनाएर कहिले तरंगामा बत्ती पुग्ने हो टुंगो छैन। गाउँका हुनेखानेको घरमा उज्यालोका लागि सोलार जडान गरिएका छन्। कतिपय गरिब र विपन्न परिवारले उज्यालोका लागि सोलार जडान गर्न सकेका छैनन्। ‘कसैको घरमा त सोलार पनि छैन’, पानसरा कठायतले भनिन्, ‘सोलार नभएको घरमा अँध्यारोमा बस्नुपर्ने बाध्यता छ।’
गाउँमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी छ। स्वास्थ्य चौकीभित्र अक्सिजन कन्सनट्रेटर र भ्याक्सिन राख्ने फ्रिज पनि छ। त्यो सञ्चालन गर्नका लागि आवश्यक बत्ती छैन। ‘कन्सनट्रेटर अक्सिजनको सबैभन्दा सजिलो विकल्प हो, बत्ती छैन, सोलारबाट चलाउन सकिँदैन’, स्वास्थ्य चौकीका प्रमुख चन्द्रकिरण थापाले भने, ‘आवश्यकताअनुसारका सबै उपकरण भए पनि सेवा दिन पाइरहेका छैनौं।’
विगतमा अक्सिजन अभावले एकजना बालकले ज्यान गुमाएको रेकर्ड स्वास्थ्य चौकीसँग छ। अक्सिजन कन्सनट्रेटर बत्ती नभएका कारण काम नगरेपछि वीरेन्द्रनगर रिफर गरिएका बालकको प्रदेश अस्पताल पुग्नासाथ निधन भएको उनले जानकारी दिए।
वडाध्यक्ष बिर्ख सिजापती ठेकेदारको लापरबाहीका कारण तरंगावासीले बिजुली बाल्न नपाएको बताए। ‘तरंगामा आउने सिधा लाइनलाई अर्को वडातिर घुमाउने काम भयो’, उनले भने, ‘यसमा ठेकेदारको ठुलो लापरबाही छ।’ उनले चाँडोभन्दा चाँडो बत्ती बाल्ने गरेर छलफल भइरहेको बताए। ‘बत्ती आइदिए धेरै समस्याको समाधान हुन्थ्यो। भेरीको पानी लिफ्टिङ गरेर खानेपानी र सिँचाइमा प्रयोग गर्न सकिन्थ्यो। उब्जनी बढ्थ्यो’, उनले भने, ‘विद्यार्थीलाई पढ्न सजिलो हुन्थ्यो, स्वास्थ्य संस्थामा थन्किएका उपकरण चलाएर जनतालाई स्वास्थ्य सेवा दिन सकिन्थ्यो।’
प्रकाशित: २ वैशाख २०८२ ०७:४७ मंगलबार





