१२ पुस २०८२ शनिबार
image/svg+xml
समाज

मर्स्याङ्दी जलविद्युत् केन्द्रमा खडेरीको असर : आधा घट्यो उत्पादन

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट हाल ३० मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ। ६९ मेगावाट क्षमता भएको यो केन्द्रले अहिले ४० प्रतिशत अर्थात् ३० मेगावाट विद्युत् मात्र उत्पादन गरेको हो।

लामो समयदेखिको सुख्खायाम र नदीमा पानीको बहाव कम हुँदा उत्पादन निकै घटेको केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले बताए। उनले भने, ‘यो वर्षको हिउँदमा पानी परेन, लामो खडेरीले विद्युत् उत्पादन ४० प्रतिशतमा झरेको छ।’

उनका अनुसार, सामान्य अवस्थामा ४० मेगावाट उत्पादन हुनुपर्नेमा खडेरीका कारण ३१ मेगावाटमा झरेको छ। केन्द्रमा २३–२३ मेगावाटका तीनवटा टर्बाइन छन्। सन् १९८९ मा निर्माण सम्पन्न भएको यो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडेर वितरण गरिँदै आएको छ।

सुख्खायामका कारण नदीमा मिसिने खोला, झरना र खोल्सीको पानी घटेको तथा कतिपय सुकेकाले उत्पादनमा असर परेको गौतमले बताए। उनले भने, ‘वैशाख लागेपछि घाम चर्को हुने, हिउँ धेरै पग्लने र वर्षा बढ्ने भएकाले उत्पादन वृद्धि हुने विश्वास छ।’

सुख्खा मौसममा विद्युत् उत्पादन कम हुँदा नेपाल विद्युत् प्राधिकरणले भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता छ। मर्स्याङ्दी नदी हिमालबाट बग्ने भएकाले चिसो मौसममा तापक्रम घट्दा हिउँ कम पग्लने र वर्षा नहुँदा सहायक नदी, खोला, खोल्सी र झरनाको पानी घट्दा विद्युत् उत्पादनमा कमी आउने गरेको छ। रासस

प्रकाशित: ३० चैत्र २०८१ ०७:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App