१ वैशाख २०८२ सोमबार
image/svg+xml ९:१७ पूर्वाह्न
समाज

बाक्लो तुँवालोले निसासियो पोखरा

दुइदिनदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्द

अत्यासलाग्दो अवस्था भयोः पोखरेली

पोखराको सेदीमा दोर्जेज रिसोर्ट एण्ड स्पा संचालन गरिरहेका दोर्जे लामा यतिबेला निकै नै चिन्तित छन्। उनको चिन्ता रिसोर्टको व्यावसायमा भन्दा पनि पोखराको बिग्रँदो मौसमप्रति सबै क्षेत्र मौन बसेकोमा छ। पोखराको आकाश धुमिलिएको दुइसाता पुग्न लाग्दै गर्दा पछिल्लो आइतबारदेखि अझै बढी बिग्रिएको र त्यसले स्वास्थ्यदेखि नागरिकको दैनिकीमा असर परेको उनको गुनासो छ।  

स्वच्छ र सफा सहरको पहिचान बनाएको पोखराले पछिल्ला चारवर्षदेखि यो सिजनमा वर्षेनी यस्तै मार खेप्दै आएको छ। यसका कारण पोखरेलीले सास्ती खेपेको र त्यसको असर मानव स्वास्थ्यमा पर्दा पनि यो समस्या न्यूनिकरण गर्नमा सरोकारवालाले चाँसो नदेखाएको लामाको गुनासो छ।  

‘मुख्य पर्यटकीय सिजन चलिरहेको छ। यो बेला पर्यटक आउने समय हो। तर, पर्यटक आउने त परैको कुरा पोखराबासी नै असुरक्षित हुने अवस्था आयो,’ लामाले भने, ‘अहिले घरबाहिर निस्कन नसक्ने अवस्था छ। आँखा पिरो हुने, नाक पोल्ने, खोकी लाग्ने लगायतका स्वास्थ्य समस्या देखिन थालेका छन।’

लामाका अनुसार पर्यटन क्षेत्र पनि यसबाट अछुतो रहन सकेको छैन। आएका पाहुना पनि घुमफिर र दृष्यावलोकन गर्न नपाउँदा छट्पटिमा छन। आउने र फर्किने तयारीमा रहेका पाहुना हवाई उडान रोकिँदा प्रभावित भएको उनले बताए। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टादेखि बन्द छ। बाक्लो तुँवालोका कारण हवाई उडान प्रभावित भएकाले पर्यटकको आउजाउ नै बन्द भएको छ,’ उनले भने, ‘हामीले त सास्ती खेपेका छौ नै पर्यटकको यात्रा पनि प्रभावित भएको छ।’

पोखराको तुँवालो र मानवस्वास्थ्यमा पारेको असरलाई कम गर्नका लागि स्थानीय तह, प्रदेश र संघीय सरकार तथा व्यावसायी र नागरिक समाज मौन बसेको लामाको गुनासो छ।

‘प्रशासनले केही कडाई गर्ने हो भने जथाभावि डढेलो लाग्न पाउँदैनथ्यो। त्यसो हुँदा यो बेला तुँवालो कम हुन सक्थ्यो। तर, यो बारेमा कसैले चाँसो देखाएनन। पोखरा अस्तव्यस्त बनेको छ। सास फेर्न नसकिने अवस्था आउँदा पनि सबैक्षेत्र चुपचाप बसेका छन,’ उनले भने, ‘पोखरा निसासिएको छ। तर, यसबारेमा कसैलाई चाँसो छैन।’

तुँवालोका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टादेखि बन्द छ। बाक्लो तुँवालो हट्न नसकेपछि आइतबार बेलुकी ५ बजेदेखि बन्द रहेको विमानस्थल खुल्न नसकेको हो। विमानस्थल बन्द हुँदा हवाई उडान रद्ध भएका छन्। विमानस्थल प्रवक्ता जशोदा सुवेदीले २४ घण्टादेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहेको बताईन। ‘विमानस्थल खुल्ने अवस्था नै छैन । भिजिविलिटी नै पर्याप्त छैन। उडान धमाधम रद्ध भएका छन,’ उनले भनिन, ‘मौसम सुधार हुने अवस्था नै देखिएको छैन । बरु, अझ बिग्रँदो छ।’

उनका अनुसार सामान्य अवस्थामा विमानस्थल बिहान ६ बजे नै संचालनमा आउने गर्छ। तर, पछिल्लो केहीदिनदेखि विमानस्थलको खुल्ने समय ढिला हुँदै गएको थियो। ‘आइबार बेलुकीदेखि त पुरै ठप्प भयो। भिजिविलिटीमा सुधार भएको खण्डमा मात्र उडान सुचारु हुने हो। तर, यात्रुले उडान कुर्न छाडिसकेका छन,’ उनले भनिन।  

विमानस्थल बन्द भएपछि अधिकांश हवाई उडान पनि रद्ध भएका छन्। बुद्ध एयरले पोखराबाट विभिन्न गन्तव्यका लागि तय गरेका १७ वटा उडान सोमबार बेलुकीसम्म रद्ध गरिसकेको छ। आइतबार पनि बुद्धका २ वटा उडान रद्ध भएका थिए। ‘हवाई उडान हुनै सक्ने अवस्था छैन। आइतबारदेखि बन्द रहेको विमानस्थल खुल्नै सकेको छैन,’ बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बराल भन्छन, ‘भिजिविलिटी नै अपुग छ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित हुनका लागि कम्तिमा ३७ सय मिटरको भिजिविलिटी चाहिन्छ। तर, भिजिविलिटी २ हजार मिटर हाराहारीमा रहेको छ।’

पोखरा खुल्दा देखिने हिमाली श्रृंखला लामो समयदेखि देखिएका छैनन। आसपासका डाँडाकाँडा समेत यो बेला देख्न सकिन्न। खरानीको धुलो र धुँवा बजारमा फैलिएपछि अत्यासलाग्दो अवस्था आएको पोखरेलीको गुनासो छ।

 ‘पोखराको तुँवालोबाट बच्नका लागि अब सहरै छाड्नुपर्ने अवस्था आउन थाल्यो। स्वच्छ सास फेर्न पनि नपाउने अवस्था सिर्जना भएको छ,’ मासबारका इन्द्रप्रसाद पौडेलले भने, ‘निसासिएजस्तै भएको छ । आँखा र नाक पोल्ने गर्दा अत्यासलाग्दो बनेको छ।’

पृथ्वीनारायण क्याम्पसका प्राध्यापक जीवन रेग्मी नागरिकमा सचेतना अभावमा यो समस्या वर्षेनी थपिएको बताउँछन्। जलवायु परिवर्तनका विविध क्षेत्रमा अनुसन्धान गर्दै आएका रेग्मीका अनुसार नागरिकमा सचेतना अभावमा हरेक वर्ष नेपालले यस्तै समस्या खेप्दै आउन थालेको छ। ‘सबैभन्दा महत्वपूर्ण कुरा सचेतना जगाउनु हो। तर, अहिलेको बिग्रँदो मौसम गफ गर्ने विषय मात्र बनेको छ, यसका विरुद्ध सचेतना जगाउने कुरामा चाँसो कतै छैन,’ उनले भने, ‘घर वरिपरि केही परिवर्तन गर्न सकेको खण्डमा पनि थोरधेर फरक पार्छ। किनकी घरछेउमा कसैले डढेलो लगाउँदै गर्दा वा फोहर जलाउँदै गर्दा रोक्न सक्यो भने पनि प्रभाव कम हुन्छ।’

गाउँदेखि सहरसम्मको समस्याले गर्दा यस्तो अप्ठेरो निम्तेको उनले बताए। ‘सहरभित्रै बारी सफा गर्नका लागि फोहोर थुपारोर आगो बाल्ने चलन छ। त्यसैले अहिलेको समस्या तत्कालको असरले नभई लामो समयको बेवास्ताले हो,’ उनले भने। उनका अनुसार अहिले मानव स्वास्थ्यमा यो प्रदूषणले असर पार्न थालेको छ। स्वासप्रश्वासदेखि स्वास्थ्यमा गम्भिर समस्या पनि देखिने उनले बताए। ‘खुला ठाउँमा एक्लै हिड्दा पनि मास्क लगाउनुपर्ने अवस्था छ। यो सबै हेलचेक्रयाँइले निम्त्याएको परिणाम हो,’ रेग्मीले भने।  

उनका अनुसार डढेलोका कारण अहिलेको अवस्था आएको हो। ‘मुख्य रुपमा डढेलोको असर छ। देशभर डढेलो लागेको छ। सानोतिनो हावाले यो तुँवालो फाल्न सकेको छैन। पानी पर्न पनि सकेको छैन,’ रेग्मीले भने, ‘यसले भिजिविलिटी पुरै घटाउँछ। सबैभन्दा गम्भिर रुपमा त मानव स्वास्थ्यमा असर पर्छ।’ स्थानीय तहका टोलसम्म पुगेर बेलैमा सचेतनाका कार्यक्रम संचालन गरेको खण्डमा मात्र यो समस्या कम हुनसक्ने उनले बताए।  

‘टोलटोललाई बेलैमा परिचालन गर्नुपर्छ। आगो लाग्नुभन्दा अगाडि नै परिचालन गरेर जथाभावि लाग्ने डढोले रोक्न सक्यो भने कम हुन्छ,’ उनले भने। उनका अनुसार वर्षा नभएसम्म पोखराको यो तुँवालो तत्काल हट्ने अवस्था रहन्न। ‘समुदायले नै जथाभावि आगो लगाउँँदा यो अवस्था आएको हो। अहिले आफैलाई परेको समस्या स्थानीय प्रशासन, स्थानीय तह, प्रदेश र संघीय सरकार कसैले बुझन् चाहँदैन,’ उनले भने, ‘यो विषयमा चर्चा पनि कतै हुँदैन। बेलैमा वास्ता पनि कसैले गर्दैनन। खालि समस्या निम्त्यिो भनेर कुरा गर्ने मात्र हो।’  

प्रकाशित: २५ चैत्र २०८१ १८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App