राजतन्त्र पुनर्स्थापनाका नाममा शुक्रबार काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनका क्रममा ‘छियाछिया’ बनेको घर भाइरल बनेको छ। बाटोमा हिँड्नेहरू त्यो घर नियाल्छन् र तस्बिर खिच्छन्। घरमा लागेको आगो निभेको छ। तर घरधनीको मन अझै पोलिरहेको छ। उनी घर नियाल्छन् र बिरक्तिन्छन्।
‘मैले २० वर्षअघि बैंकबाट ५० लाख ऋण लिएर बनाएको घर हो। त्यतिबेला घर नियाल्दा मन फुरुंग हुन्थ्यो,’ घरधनी नयनबहादुर क्षेत्रीले मंगलबार नागरिकसँग भने, ‘अहिले यो घर नियाल्दा मन छियाछिया बनेको छ।’ कुन पार्टीले केका लागि आन्दोलन गरेको र कसले किन दबाएको भन्ने उनलाई कुनै सरोकार छैन।
न त उनलाई आन्दोलनको भविष्य र वर्तमानसँग नै सरोकार छ। तर उनले सरोकार नराखेको आन्दोलनले उनको सपनाको घर भताभुंग बनाएको छ। ‘घरको क्षति करिब १८ लाख जति भएको आकलन छ,’ उनले भने, ‘त्योभन्दा धेरै मानसिक क्षति भोगेको छु।’
आफूले मात्र नभएर घरमा रहेका चार व्यवसायीले पनि दुःख भोग्नुपरेको उनले सुनाए। ‘पहिलो तलमा मार्बल थियो, दोस्रो तलामा भेटनरी अस्पताल,’ उनले भने, ‘तेस्रो र चौथो तलमा आइटी कार्यालय थियो।’
उक्त घटनासंगै रोजीरोटीको खोजीमा आफ्नो घरमा पसल थाप्नेको जीवन पनि असहज बनेको उनले सुनाए।
तीनकुने चोकको मूल सडकमा रहेका कारण घरको सौन्दर्यमा कुनै कमी नआओस् भनेर आफूले निर्धक्क खर्च गरेको उनले सुनाए। आफूले सँगैको घरलाई समेत साथ लिएर सौन्दर्यकरण गरेको उनले बताए। पूर्वतिर टाँसिएको उनको छिमेकीको त्यो घरमा त सिसा मात्र चर्केको होइन, आगलागी भएर जनधनको समेत क्षति भएको छ। ‘यो समग्र घटनाले सबैको मन त्रसित बनाएको छ,’ उनले भने, ‘त्रसित मनलाई शान्त बनाउने काम राज्यको हो।’
तर राज्यले अहिलेसम्म खासै चासो नदेखाएको उनको अनुभव छ। वडाले क्षतिको विवरण लगेकोसम्म थाहा पाइए पनि त्योभन्दा बढी कसैले केही चासो नदिएको भन्दै उनले दुखेसो पोखे। ‘हामीले गल्ती नगरी हाम्रो सम्पत्ति नोक्सान भएको छ,’ उनले भने, ‘दोषी जोकोही होस् तर हामीले क्षतिपूर्ति पाउनुपर्छ।’
उनले क्षतिपूर्ति घरधनीले मात्र नभएर ती घरमा पसल राख्नेले समेत पाउनुपर्ने माग गरे। पसल राख्नेहरूको पनि निकै क्षति भएको उनले बताए। उनले यसो भन्दै गर्दा आगलागी भएको घरसँगै टाँसिएको घरमा ‘स्पा’ खोलेका तिलकबहादुर बरुवाल अँध्यरो अनुहार लिएर बाहिर निस्के। वैदेशिक रोजगारीबाट दिक्क भएका उनले गाउँको जमिन बेचेर सहरमा पसल खोलेका थिए। तरउनको सपना पनि खरानी भयो।
‘केही गरौं भनेर विदेश जाने सपना त्यागेर नयाँ कामको थालनी गरेको थिएँ,’ बरुवालले भने, ‘आन्दोलनको आगोमा सबै सपना जले।’ नौ जनालाई रोजगारी दिएर ३५ लाखको लगानीमा खोलेको उनको स्पा केन्द्रमा लाखौंको नोक्सानी भएको उनले सुनाए।
राजसंस्था पुनस्र्थापनाका नाममा शुक्रबार राजधानी सहर काठमाडौंको तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन हिंसात्मक बनेको थियो। प्रदर्शन अराजक बन्दा दुई व्यक्तिले ज्यान गुमाए। त्यसक्रममा ठाउँठाउँमा तोडफोड र आगजनी हुँदा अन्य धेरै ठाउँमा क्षति भएको छ। तर क्षतिको जिम्मा कसैले नलिँदा पीडितहरू अन्योलमा छन्।
प्रहरीले बल प्रयोग गरेपछि तितरबितर प्रदर्शनकारीले व्यक्तिको घरमा तोडफोड, आगजनी र सवारीसाधन तोडफोड र पसलमा लुटपाट गर्न थाले। प्रदर्शनकारीले कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोस्टको कार्यालयमा समेत तोडफोड गरे। प्रदर्शनकारीले नेकपा एसको कार्यालय पनि तोडफोड गरेका थिए।
प्रहरी आन्दोलनकारीलाई दोष दिन्छन्। यता आन्दोलनकारी राज्य पक्ष ती घरमा बसेर आक्रमणमा उत्रेका कारण यस्तो अवस्था आएको बताउँछन्। तर घरधनी आफ्नो समस्या लिएर अध्यारो मुख लगाउँछन्। ‘एकअर्कालाई दोष लगाएर पन्छिनेभन्दा पनि दोषी पत्ता लगाउनु जरुरी छ,’ क्षेत्री थप्छन्, ‘तब मात्र पीडितले न्याय पाएको महसुस गर्नेछन्।’
राजतन्त्र पुनर्स्थापनाको पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने शुक्रबार भएको हिंसात्मक प्रदर्शनको जिम्मेवारी नलिने जनाएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राजासहितको हिन्दु राज्यको पक्षमा हुने शान्तिपूर्ण आन्दोलनमा आफ्नो पार्टीको सहभागिता र नैतिक समर्थन रहने बताए।
हिंसात्मक आन्दोलनको पक्षमा राप्रपा नभएको श्रेष्ठले बताए। यता गृह मन्त्रालयले भने अपराधमा संलग्न व्यक्तिबाट पीडितलाई क्षतिपूर्ति दिलाउने बताएको छ। ‘अनुसन्धानबाट कोको दोषी देखिन्छन्, तिनीहरूबाट पीडितलाई क्षतिपूर्ति दिलाउनेछौं, गृह मन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले भने, ‘यसतर्फ प्रहरीले अनुसन्धान थालिसकेको छ।’
प्रकाशित: २० चैत्र २०८१ ०७:१३ बुधबार