प्रधानमन्त्री केपी शर्मा ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलले पछिल्लो समय राजतन्त्र पुनर्स्थापनाको बहस चलिरहे पनि त्यसका लागि सरकारको कमजोरी आधार नबन्ने स्पष्ट पारेका छन्।
बुधबार नागरिकन्युजको डिजिटल संवाद कार्यक्रम ‘फ्रन्टलाइन’ मा बोल्दै खरेलले राजतन्त्रको शासन नेपाली जनताले भोगिसकेको र त्यसमार्फत के उपलब्धि हासिल भयो भन्ने प्रश्न उठाउँदै पुनः राजतन्त्र स्थापनाका लागि सरकारका कमजोरीलाई कारण देखाउन नहुने बताएका हुन्।
नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले पछिल्लो समय राजावादी गतिविधि बढिरहेको सन्दर्भ उठाउँदै सोधेको प्रश्नको उत्तर दिँदै खरेलले भने, ‘’पूर्वराजाका पछिल्ला अभिव्यक्तिहरू सुन्दा उहाँ आफैँलाई नारायणहिटी दरबारमा फर्किन मन लागेको हो कि जस्तो देखिन्छ। उहाँ पहिले पनि त्यहीँ बसेर शासन गर्नुभएको थियो। हामीले राजतन्त्र नचिनेका होइनौँ, नभोगेका होइनौँ। तर, राजा हुँदा उहाँले के गर्नुभयो ? अब फर्किएर पनि त्यही गर्ने होइन ?।’’
उनले इतिहासको सन्दर्भ उल्लेख गर्दै भने, ‘’पृथ्वीनारायण शाहले देश एकीकरणमा भूमिका खेल्नुभएको हामी मान्छौँ। तर, उहाँका छोराहरुले पनि त्यही गरे त ?’’
शासन व्यवस्था परिवर्तन भइसकेको अवस्थामा सुशासनका मामलामा केही कमजोरी हुन सक्ने स्वीकार गर्दै खरेलले भने, ‘’तर, ती कमजोरीलाई राजतन्त्र स्थापनाका लागि मल होइन। राजतन्त्रको कुशासन हामीले देखिसकेका छौँ।’’
प्रकाशित: १३ चैत्र २०८१ २०:०४ बुधबार