१७ चैत्र २०८१ आइतबार
image/svg+xml १३:८ अपराह्न
समाज

बुटवल– गोरुसिंगे सडक निर्माण कम्पनीले नदीजन्य पदार्थ चोरेको आरोप

राजस्व छली गरेको आरोपमा टिप्पर नियन्त्रणमा, ६० हजार जरिवाना

तीव्र गतिमा काम गरेर प्रशंसा बटुलेको बुटवल– गोरुसिंगे सडक निर्माण कम्पनीले नै नदीजन्य पदार्थ चार्ने गरेको भेटिएको छ । बाणंगगा नगरपालिकाको बाणगंगा खोलाबाट नदीजन्य पदार्थ चोर्ने गरेको भेटिएको हो ।

एससिइजीसी–एनएस जेभी निर्माण कम्पनीले नक्कली भ्याट बिल बनाई नदीजन्य पर्दाथ निकासी गर्ने क्रममा मंगलवार पक्राउ परेको हो । बाणगंगा नगरपालिका राजस्व शाखाले नदीबाटै नक्कली बिल बनाई ढुवानी गरिरहेको आयोजनाको लु २ ख १७०४ नम्बरको टिप्पर नियन्त्रणमा लिएको छ ।

बुटवल–गोरुसिंगे सडकलाई आवश्यक पर्ने नदीजन्य पर्दाथ निकासी गर्न बाणगंगा नगरपालिकाले उक्त ठेकेदारलाई चालु आबका लागि भ्याट बाहेक १५ रुपैयाँ रुपैयाँको दरले ६४ हजार घन मिटर माल निकाल्न स्वीकृति दिएको छ । तर ठेकेदारले तोकिएको परिमाण भन्दा बढी मालवस्तु निकालेर बाहिर बेच्ने उद्देश्यले नक्कली बिल बनाई चोरी गरिरहेको स्थानीय बताउँछन् । ठेकेदारले चैत ११ गते उक्त ट्रकलाई ४२० नम्बरको रसिद काटेका छन् भने १२ गते करिब ४ बजे नगरपालिकाको टोली अनुगमन आउने थाहा पाएपछि हतार हतार ४१२ नम्बरको रसिद काटेका छन् ।

नगरपालिका श्रोतका अनुसार ४१२ नम्बरको उक्त रसिद नक्कली हो । यसबारे पालिकाले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । राजस्व प्रमुख मदन घिमिरेले यस बारे अनुसन्धान भइरहेको बताए । राजस्व छली गरेको आरोपमा ६० हजार जरिवाना तिराइएको उनले बताए । बुटवल–गोरुसिंगे आयोजनाको ठेकेदार प्रतिनिधि बाबुराम अधिकारीकै निर्देशनमा किर्ते भ्याट बिल बनाई नदीजन्य पर्दाथ चोरी भइरहेको आरोप छ।

आयोजनाको बुटवल देखि बुड्ढी चोक सम्मको ४ लेन सडक निर्माणका लागि १ लाख घन मिटर नदीजन्य पर्दाथ आवश्यक पर्ने लागत स्टिमेट हुँदा हुँदै पनि ठेकेदार पक्षले ३ लाख घन मिटर नदीजन्य पर्दाथ निकासीका लागि बाणगंगा नगरपालिका सँग माग गरेका थिए । तर बाणगंगाले महत्त्वपूर्ण आयोजना भन्दै हाल ६४ हजार मात्र दिने र पछि आवश्यक परे दिने भन्दै सिधै कार्यपालिका बाटै निर्णय गरेर सामाग्री उपलब्ध गराएको थियो ।

नक्कली भ्याट बिल बनाएका ठेकेदार बाबुराम अधिकारी तथा आयोजना माथि नक्कली बिल बनाई भ्याट छली गरेको, पालिकाले तोकेर दिएको परिमाण चोरी गरेको, पालिकाको सरकारी छाप किर्ते गरेको लगायतका छानबिन हुने बताइएको छ । बाणगंगा पुल नजिकै बेस बनाएको निर्माण कम्पनीले लुम्बिनी क्रेसरसंग सम्झौता गरी नदीजन्य पदार्थ निकासी गर्ने गरेको छ । आयोजनाको नाममा बाणगंगा नदीको चरम दोहन गर्ने गिरोह यतिखेर ठेकेदार सँग मिलेर ठूलो चलखेल गरेको र त्यसमा स्थानीय राजनीतिक दल र जनप्रतिनिधीहरुको समेत संलग्नता हुन सक्ने स्थानीयवासी बताउँछन् । 

प्रकाशित: १३ चैत्र २०८१ १७:०३ बुधबार

खुशी 0 %
दुखी 100 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App