माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सम्पन्न भएको छ।विद्यालय शिक्षातर्फको एउटा महत्वपूर्ण खुड्किलोको रुपमा रहेको यो परीक्षापछि विद्यार्थीहरू अर्को तहका लागि कुन विषय छनोट गर्ने भन्ने विमर्शमा छन्। अभिभावकहरू समेत आफ्ना बच्चाको रुचि र क्षमता अनुसार कुन विषय पढाउने भन्नेमा चासो लिइरहेको पाइन्छ ।
नेपालमा एसईईपछिको अध्ययनका लागि साधारण तथा प्राविधिक क्षेत्र अन्तर्गत विभिन्न विषय उपलब्ध छन् । साधारण शिक्षातर्फ विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी तथा शिक्षाशास्त्र संकाय छन् । प्राविधिक तथा व्यावसायिक शिक्षातर्फ प्रि–डिप्लोमा, डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रमहरु उपलब्ध छन् ।
प्राविधिक र व्यावसायिक शिक्षाको आवश्यकता र उपलब्धता
कुनै पेसा वा व्यवसायसँग सम्बन्धित व्यवहारिक ज्ञान र सीप सिकाउने शिक्षा नै प्राविधिक तथा व्यावसायिक शिक्षा हो । यो अध्ययनले व्यावसायिक तथा पेशागत क्षेत्रसँग आवद्ध हुन सहज बनाउँछ । यस्तो शिक्षाले वस्तु तथा सेवाको उत्पादन, उत्पादकत्व तथा यसको गुणस्तर बढाउन महत्वपूर्ण योगदान गर्छ । यस्ता जनशक्तिलाई रोजगारी तथा उद्यमशीलताको अवसर समेत प्रशस्त हुने गरेको छ ।
सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमलाई उच्च प्राथमिकता दिएको छ । सरकारले १६ औं पञ्चवर्षीय योजनामा प्राविधिक शिक्षामा विद्यार्थीको भर्ना दर ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । यो लक्ष्य पूरा गर्न हालसम्म ६७५ स्थानीय तहमा प्राविधिक शिक्षालयको विस्तार गरिएको छ । यसको प्रवद्र्धनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत् कक्षा ९ देखि कक्षा १२ सम्म प्राविधिक धारको पठनपाठन हुँदै आएको छ । प्राविधिक धारमा कृषि र इन्जिनियरिङतर्फ विभिन्न ६ वटा कार्यक्रमहरु सञ्चालनमा छन् । एसईईपछिको प्राविधिक तथा व्यावसायिक शिक्षा उपलब्ध गराउने एकमात्र निकाय भनेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) हो । यसले आङ्गिक शिक्षालय, साझेदारीमा सञ्चालित शिक्षालय र सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा तथा सम्बन्धन प्राप्त निजी शिक्षालयमार्फत् प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

परिषद्ले सञ्चालन गर्ने कार्यक्रमहरूमा एसईईपछि १८ महिने तथा २४ महिने प्रि–डिप्लोमा तह र ३ वर्षे डिप्लोमा तथा प्रमाणपत्र तह समावेश छन् । परिषद् बाट सम्बन्धन लिएर देशभर प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्थाको संख्या १ हजार १६९ रहेका छन् । यस्ता शैक्षिक संस्थाहरूमा ५३ वटा कार्यक्रम सञ्चालनमा छन् । शैक्षिक सत्र २०८०र८१ मा नियमित भर्ना क्षमता ७५ हजार ४०९ रहेको छ ।
विद्यार्थीको न्यूनतम योग्यता र अध्ययन अवधि
प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रममा एसईईपछिको १८ महिने प्रि–डिप्लोमा र ३ वर्षे डिप्लोमा तथा प्रमाणपत्र कार्यक्रम छन् । यसका साथै प्रि–डिप्लोमा तहको २४ महिने औद्योगिक प्रशिक्षार्थी कार्यक्रम पनि एक हो । परिषद्बाट सञ्चालन हुने कार्यक्रममा कृषि तथा वन, इन्जिनियरिङ, स्वास्थ्य र पर्यटन तथा अन्य समूह रहेका छन् । डिप्लोमा तथा प्रमाणपत्र तहमा कृषि समूहतर्फ बाली विज्ञान, पशु विज्ञान र फुड एण्ड डेरी टेक्नोलोजी लगायत ४ वटा कार्यक्रमहरु छन् ।
त्यस्तै इन्जिनियरिङतर्फ सिभिल, अटोमोवाइल, कम्प्युटर, आर्किटेक्चर लगायत १४ वटा, स्वास्थ्यतर्फ नर्सिङ, सामान्य चिकित्सा, फार्मेसी, फिजियोथेरापी, डेन्टल लगायत १४ वटा र पर्यटन तथा अन्य कार्यक्रममा होटल मेनेजमेन्ट, ब्युटी एण्ड कस्टोमोलोजीसहित ३ वटा कार्यक्रमहरु छन् । त्यस्तै प्रि–डिप्लोमातर्फ कृषि तथा वन, इन्जिनियरिङ र पर्यटन तथा अन्य समूह गरी जम्मा कार्यक्रमको संख्या १८ वटा रहेको छ ।
डिप्लोमा तथा प्रमाणपत्र तहका लागि न्यूनतम शैक्षिक योग्यताको मापदण्ड एसईई तोकिएको छ । यसमध्ये नर्सिङ लगायतका स्वास्थ्य कार्यक्रम अध्ययनका लागि न्यूनतम २ जीपीए ल्याएको हुनुपर्छ । अन्य कार्यक्रम अध्ययनका लागि न्यूनतम १.६ जिपीए निर्धारण गरिएको छ । डिप्लोमा कार्यक्रममा लागि एसईईमा अंग्रेजी, विज्ञान र गणित विषय अध्ययन गरेको हुनुपर्छ । त्यस्तै प्रि–डिप्लोमा तह अध्ययन गर्न एसईईमा सहभागी भएका जोसुकै विद्यार्थी योग्य हुन्छन् ।
प्राविधिक शिक्षामा पहुँचको अवस्था
प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रमहरूमा पछाडि परेका वर्ग, क्षेत्र र समुदायको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले छात्रवृत्तिको व्यवस्था गरिएको छ । सिटिइभिटी अन्तर्गत सञ्चालित कार्यक्रममा अध्ययन गर्न चाहने विद्यार्थीका लागि वर्गीकृत निःशुल्क छात्रवृत्ति, जेहेन्दार छात्रवृत्ति र आवासीय सुविधासहितको विशेष छात्रवृत्ति उपलब्ध गराइँदै आएको छ ।
यसअनुसार शिक्षण संस्थाले सञ्चालन गर्ने कार्यक्रमका लागि तोकिएको कोटा संख्याको १० प्रतिशत विद्यार्थीलाई वर्गीकृत छात्रवृत्ति प्रदान गर्नुपर्नेछ । यस्ता कार्यक्रममा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण भएका विद्यार्थी मात्र योग्य हुने छन् । वर्गीकृत छात्रवृत्तिमा खुला प्रतिस्पर्धासँगै लक्षित वर्गमा पर्ने अपाङ्गता भएका व्यक्ति, पूर्व कमैया हलिया, पिछडिएको दुर्गम क्षेत्रका विद्यार्थी, दलित, महिला, आदिवासी जनजाति तथा आर्थिक वा सामाजिक रूपमा विपन्न समुदायका विद्यार्थीहरू समावेश हुने छन् । यी समूहबाट विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक प्रक्रियामार्फत्छनोट गरिनेछ । साथै, हरेक कार्यक्रमबाट एक जना विद्यार्थीलाई जेहेन्दार छात्रवृत्ति पनि प्रदान गरिन्छ ।
त्यस्तै दलित, मुस्लिम, विपन्न तथा सीमान्तकृत समुदायका छात्रछात्रालाई निर्वाह भत्ता, यातायात खर्च, र पोशाक खर्चसहित निःशुल्क प्रशिक्षणको व्यवस्था गरिएको छ । साथै, प्राविधिक शिक्षालयको संस्थागत पहुँच नपुगेका पालिकामा स्थायी रूपमा बसोवास गर्ने छात्रछात्राका लागि आवासीय सुविधा सहित विशेष छात्रवृत्तिको व्यवस्था गरी प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रमहरूमा सहभागी गराइँदै आएको छ । यसका अतिरिक्त स्थानीय तह, गैह्र सरकारी संस्था र समुदायहरूबाट समेत यसप्रकारको अध्ययन गर्नका लागि छात्रवृत्ति उपलब्ध गराउँदै आएको पाइन्छ ।
प्राविधिक शिक्षाका लागि भर्ना प्रक्रिया
हरेक वर्ष एसईईको नतिजा प्रकाशन भएकै हप्ता परिषद्ले नयाँ शैक्षिक सत्रको लागि भर्नाको सूचना आव्हान गर्दछ । निश्चित समय अवधि तोकेर प्रकाशन गरेको सूचना अनुसार प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीले आफूले चाहेको कार्यक्रम र तहमा भर्नाका लागि आवेदन फारम भर्ने व्यवस्था गर्दछ । यस वर्ष भर्नाका लागि अनलाइन आवेदन फारामको व्यवस्था गर्न लागेको छ । यसका लागि विद्यार्थीले परिषद्को परीक्षा नियन्त्रण कार्यालयको वेभसाइटमा गएर अनलाईन पोर्टल मार्फत आवेदन फाराम भर्नुपर्नेछ । आवेदन फारामका साथ आफ्ना शैक्षिक योग्यताका प्रमाणपत्र र अन्य आवश्यक कागजात पेश गर्नु पर्ने व्यवस्था रहेकोछ ।
विगतमा वर्षमा परिषद्ले सञ्चालन गर्ने कार्यक्रममा नियमित भर्ना, वर्गीकृत छात्रवृत्ति र विशेष छात्रवृत्तिका लागि फरक फरक समयमा भर्नासम्बन्धी काम गर्दै आएको थियो । यसले गर्दा विद्यार्थी, अभिभावकलाई कठिनाई भएको र स्वयं प्रवेश परीक्षा र भर्नासम्बन्धी व्यवस्थापन गर्न कठिनाई भएकोले आगामी शैक्षिक सत्रदेखि एकीकृत प्रवेश परीक्षा सञ्चालन गरी भर्ना प्रक्रिया एकैसाथ अगाडि बढाउने तयारी गरेको छ । जसअनुसार प्रि–डिप्लोमा, डिप्लोमा तथा प्रमाणपत्र तहको कार्यक्रमका लागि पूर्ण शुल्क सहितको खुला, पूर्ण शुल्क सहितको समावेशी, वर्गीकृत निःशुल्क छात्रवृत्ति, विशेष छात्रवृत्ति र औद्योगिक प्रशिक्षार्थी कार्यक्रमहरू अध्ययन गर्न आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका विद्यार्थीहरूबाट भर्नाका लागि अनलाईन आवेदन माग गरिने व्यवस्था हुनलागेको छ।त्यस्तै आगामी शैक्षिक सत्रमा सञ्चालन हुने कार्यक्रममा भर्नाका लागि विद्यार्थीले एसईईमा प्राप्त गर्ने प्राप्ताङ्गको आधारमा योग्यताक्रमको सूचि तयार गरी योग्यताक्रम अनुसार भर्नाका लागि नामावली प्रकाशन गर्ने गरी काम हुदै गरेको जानकारी प्राप्त भएको छ ।
प्रशिक्षण शुल्क

सिटिइभिटी अन्तर्गत सञ्चालन हुने शिक्षण संस्थाले लिने शुल्क शिक्षण संस्थाको स्वरूप, कार्यक्रम र तहअनुसार फरक–फरक हुन्छ । परिषद्का आङ्गिक शिक्षालयहरू नेपाल सरकारको अनुदानबाट सञ्चालन हुन्छन् । त्यस्तै, साझेदारी तथा सामुदायिक विद्यालयमा सञ्चालन हुने शैक्षिक संस्थाहरूले समेत कार्यक्रम सञ्चालनका लागि सरकारबाट केही अनुदान पाउँछन् । निजी क्षेत्रमा सञ्चालन हुने शैक्षिक संस्थाहरूको मुख्य आम्दानी विद्यार्थीहरुबाट प्राप्त हुने शुल्क मात्र भएकाले तुलनात्मक रूपमा निजी शिक्षालयहरूको शुल्क केही महँगो पर्न जान्छ । त्यस्तै, स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूको शुल्क अन्य कार्यक्रमको तुलनामा उच्च हुने गरेको पाइन्छ ।
परिषद्ले आफ्ना मातहतका शिक्षालयहरूलाई निश्चित सीमाभित्र रहेर शिक्षण शुल्क लिने व्यवस्था गरेको छ । जसअनुसार प्रि–डिप्लोमा तहका कार्यक्रमका लागि आङ्गिक शिक्षालयमा रु.१५ हजारदेखि रु.२२ हजारसम्म र सामुदायिक विद्यालय तथा साझेदारी शिक्षालयमा रु.५५ हजारदेखि रु.६५ हजारसम्म तोकेको पाइन्छ । त्यस्तै डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रममा आङ्गिक शिक्षालयमा अधिकतम रु.१ लाख ६० हजार र सामुदायिक विद्यालयमा रु.१ लाख ९० हजार भएको पाइन्छ । त्यस्तै, निजी शिक्षालयका केही कार्यक्रमका लागि शुल्क निर्धारण गरिएको छ जसमा प्रविणता प्रमाणपत्र तह (नर्सिङ) मा रु.४ लाख ७५ हजार, सामान्य चिकित्सामा रु.४ लाख ४ हजार र फार्मेसीमा रु.३ लाख ३७ हजार ८०० तोकिएको छ ।
शैक्षिक मान्यता र रोजगारीका अवसर
प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रमहरुमा रोजगारीलाई प्राथमिकता दिइएको हुन्छ । श्रम बजारको मागको अध्ययन गरी सो अनुसारका सीप र ज्ञान सिकाईन्छ । यी सबै कार्यक्रमहरु शैक्षिक पनि हुन् । यस्ता कार्यक्रमको अध्ययन पश्चात् उच्च शिक्षा अध्ययनको लागि मार्ग प्रशस्त हुन्छ । डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रमको अध्ययन पूरा भएपछि स्नातक तहको अध्ययन गर्न सकिने छ । साथै यसका प्रमाणपत्र विदेशी विश्व विद्यालयमा समेत मान्यताप्राप्त छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको प्रमुख ध्येय युवा जनशक्तिलाई प्राविधिक सीप सिकाई रोजगारी सिर्जना तथा उद्यमशीलता विकास गर्नु हो । प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तर र सान्दर्भिकता उत्पादित जनशक्तिको रोजगारी तथा स्वरोजगारीका क्षेत्रमा भएको आवद्धतालाई हेरिन्छ । अध्ययनपछि सरकारी सेवादेखि गैरसरकारी क्षेत्र तथा निजी संस्थामा समेत प्रशस्त अवसर छन् । सरकारी तथा अर्धसरकारी निकायमा डिप्लोमा तहको अध्ययन पूरा गरेपछि जुनियर टेक्निसियन पाँचौ तह र निजामति सेवामा सहायक स्तर प्रथम प्राविधिक तहमा प्रतिस्पर्धाका लागि योग्य हुन्छन्।त्यस्तै प्रि–डिप्लोमा तहको अध्ययन पश्चात प्राविधिक चौथो तहका लागि योग्य हुने व्यवस्था छ । निजी क्षेत्रमा समेत दक्ष प्राविधिक तथा सुपरभाइजर तहमा सेवा गर्ने अवसर मिल्दछ ।
निष्कर्ष
देशको आर्थिक समृद्धि र विकासको स्तर त्यस देशका नागरिकको प्राविधिक सीप र ज्ञानसँग प्रत्यक्ष सम्बन्धित हुन्छ । प्राविधिक सीप र ज्ञानलाई रोजगारी सिर्जना गर्ने र गरिबी न्यूनीकरण गर्ने महत्वपूर्ण माध्यमको रूपमा लिइन्छ। यसैलाई मध्यनजर गर्दै नेपाल सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षालाई उच्च प्राथमिकता दिएको छ। यसका वावजुद यस्ता शिक्षामा अपेक्षित रूपमा विद्यार्थीलाई आकर्षित गर्न नसकिएको अवस्था छ। यस्तो अवस्थामा प्राविधिक शिक्षाको महत्व, अध्ययनपछिको दिगो तथा सम्मानित रोजगारीका अवसर, वृत्ति मार्गको सुनिश्चितता तथा जीवन पर्याप्त सिकाई, उद्यमशीलता, सामाजिक मान्यता तथा प्रतिष्ठासम्बन्धी सूचना सम्बन्धित पक्षसम्म पुर्याउनु आजको आवश्यकता हो ।
(लेखक आचार्य सीटीईभीटीको निर्देशक हुन्।)
प्रकाशित: १७ चैत्र २०८१ १२:५८ आइतबार