शुक्रबार तीनकुनेमा भएको प्रदर्शन उग्र बनेपछि दुई जनाको मृत्यु भएको घटनाले सामाजिक सञ्जाल तातेको छ। यो घटनाको दोष पूर्वराजा ज्ञानेन्द्र शाहमाथि लगाउँदै उनलाई पक्राउ गर्नुपर्ने माग सामाजिक सञ्जाल प्रयोगकर्ताले जोडतोडले उठाइरहेका छन्।
यो ट्रेन्डमा ठूला राजनीतिक दल र नागरिक समाजका अगुवाहरू पनि सक्रिय छन्। उनीहरूले शुक्रबारको अराजकताका लागि पूर्वराजालाई जिम्मेवार ठहर्याएर कानुनी दायरामा ल्याउनुपर्ने बताइरहेका छन्।
यता, पूर्वराजाका समर्थकले भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि उल्टै आरोप लगाएका छन्। केही वर्षअघि एक सार्वजनिक कार्यक्रममा दाहालले जनयुद्धमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मेवारी लिने अभिव्यक्ति दिएको प्रसंग कोट्याउँदै समर्थकहरूले सामाजिक सञ्जालमा ‘अरेस्टप्रचण्ड’ ह्यासट्याग चलाएर उनलाई पक्राउ गर्नुपर्ने माग गरेका छन्।
यो घटनाले दुवै पक्षका समर्थकबीच तीव्र बहस छेडिएको छ। एकातिर पूर्वराजालाई प्रदर्शनको मुख्य योजनाकार मानिएको छ भने अर्कोतिर दाहालको विगतका अभिव्यक्तिलाई लिएर उनलाई पनि कारबाहीको माग उठेको छ।
यो पनि पढ्नुहोस्
फेसबुकमा चलाइयो ‘ह्यासट्याग अरेष्ट ज्ञानेन्द्र’ अभियान
प्रकाशित: १७ चैत्र २०८१ ०८:१२ आइतबार