
अमेरिकाबाट २१ पुरातात्विक वस्तु स्वदेश ल्याइयो (तस्बिर)


नेपालबाट चोरी भएर अमेरिका पुगेका २१ पुरातात्विक महत्वका कलात्मक वस्तु नेपाल फिर्ता ल्याइएका छन्। आइतवार बिहान पुरातत्व विभागले ती मूर्तिहरू सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेको छ। यीमध्ये तीनवटा पौवा चित्र (१५–१८ औं शताब्दी) छन्। यी चित्र काठमाडौंको इटुम्बहालबाट वि.सं. २०३७ मा हराएका थिए।
त्यस्तै, एउटा प्रस्तरको स्थानक बुद्धको मूर्ति (९ औं शताब्दी) बुङमतिको मच्छिन्द्रबहाल परिसरको चैत्यबाट हराएको थियो। साथै, आर्ट इन्स्टिच्युट शिकागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुद्धलिन्द बुद्धको मूर्ति बान–१ (१२–१३ औं शताब्दी) र अन्य १६ कलात्मक वस्तु (९–१९ औं शताब्दी) पनि नेपालका विभिन्न ठाउँबाट हराएर अमेरिका पुगेका थिए।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले भने, ‘नेपाली सम्पदा संसारको जुनसुकै कुनामा पुगे पनि तिनको महत्व बुझेर फर्काउने क्षमता हामीसँग छ। अब नेपालबाट मूर्ति चोर्ने हिम्मत कसैले गर्न सक्दैन।’ उनले विगतमा हराएका वस्तु अहिले फर्किनु सकारात्मक भएको बताए। ‘पहिले यस्ता सम्पदा कसरी गए?’ भन्दै प्रश्न गरे। उनले अब दुराचार गर्ने समय नभएको र चोरी हुन नसक्ने दाबी गरे। मूर्ति प्रतिस्थापनका लागि सरकार प्रतिबद्ध रहेको र आर्थिक चिन्ता नलिन आग्रह गरे। ‘स्थानीय सरकार आफ्नो आस्था जोगाउन सक्षम छ,’ उनले भने। ‘आस्थाका धरोहर हराएका ठाउँमै फर्काउन हामी प्रतिबद्ध छौं।’
हालसम्म बेलायत, अस्ट्रिया, अमेरिका, चीन (तिब्बत), भारत, जर्मनी, अस्ट्रेलिया र इटलीबाट १७७ पुरातात्विक महत्वका मूर्ति र कलात्मक वस्तु विभिन्न व्यक्ति तथा संघसंस्थाको प्रयासबाट फिर्ता भएका छन्। अमेरिका, फ्रान्स, बेलायत, चीन, अस्ट्रिया, अस्ट्रेलियालगायत देशबाट थप वस्तु फर्काउन कूटनीतिक पहल भइरहेको छ। संयुक्त राज्य अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएका पुरातात्विक वस्तुको संख्या १०४ पुगेको छ।

.jpg)








