२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

नारी दिवस: महिला सशक्तीकरणका लागि आत्ममूल्याङ्कन

महिला सशक्तीकरणको कुरा गर्दा हामी आर्थिक स्वतन्त्रता, शिक्षा तथा सामाजिक स्वतन्त्रताको विषयलाई महत्त्व दिन्छौं। तर सशक्तीकरणको पहिलो र महत्त्वपूर्ण आधार भनेकै आत्ममूल्य र आत्मविश्वास हो। जबसम्म महिलाले आफूलाई मूल्यवान् ठान्दैनन् र आफ्नो क्षमतामा विश्वास गर्न सक्दैनन्, तबसम्म बाहिरी अवसरहरू उपलब्ध भएर पनि सशक्तीकरण सम्भव हुँदैन।

हाम्रो समाजमा अझै पनि महिलालाई सीमित भूमिकामा मात्र हेर्ने परम्परागत सोचाइ विद्यमान छ। परिवार, समाज र संस्थाले महिलाको योगदानलाई उचित मूल्याङ्कन नगर्दा उनीहरूको आत्ममूल्य कमजोर हुन जान्छ। यही कारण महिलाले आफ्नो आत्मसम्मान, आत्मनिर्णय क्षमता र आत्मविश्वासलाई मजबुत बनाउन आवश्यक छ।

पुरुष र महिला दुवै समाजका आधारस्तम्भ हुन्। दुवैको योगदान परिवार, समाज, अर्थतन्त्र, राजनीति तथा अन्य क्षेत्रमा उत्तिकै महत्त्वपूर्ण छ। महिला सशक्तीकरणको कुरा गर्दा पुरुषको योगदानलाई नकार्नु उचित हुँदैन। समानता भनेको प्रतिस्पर्धा होइन, एकअर्कालाई सम्मान गर्दै अगाडि बढ्नु हो।हाम्रा विभिन्न धर्मगन्थ्रमा पनि नारी–पुरुष समानताबारे चर्चा गरिएको छ। ‘समं पुरुष आस्तां नारी अपि समं स्थिता’ अर्थात् पुरुष र महिला समान रूपमा स्थापित हुनुपर्छ।  

‘समं पुरुष आसीत्, समं स्त्री आसित् (ऋगवेदः ५.६०.५)’, ‘स्त्रीशक्ति बिनु नृप नर नाही (रामचरित्रमानस)’ अर्थात् सामाजिक सन्तुलन कायम गर्न महिला र पुरुष दुवैको उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ।

हाम्रो धार्मिक ग्रन्थमा जस्तै सरकारका नीतिहरूमा पनि समानताको व्याख्या राम्रै गरिएको छ। सरकारका नीति र कानुनी संरचनामा महिलाहरूको अधिकार र समानता सुनिश्चित गर्ने प्रावधान छन्, जस्तै महिलाका लागि आरक्षण, शिक्षा र स्वास्थ्यमा समान पहुँच। तर के हाम्रा धर्मग्रन्थ र सरकारी नीतिमा उल्लेख गरिएझैं व्यवहारमा पनि यही परिदृश्य देख्न सकिन्छ त ? अझै पनि महिलाहरूले आफ्नो अस्तित्वका लागि संघर्ष गरिरहेको अवस्था छ।

अचम्म त के छ भने महिलाको उपस्थिति जुनसुकै क्षेत्रमा बढो रुचाइन्छ तर जब तिनै महिला आफ्नो अस्तित्व र पहिचानको अधिकारका लागि आवाज उठाउँछन्, समाजको एउटा हिस्सा त्यो स्वीकार्न तयार हुँदैन। महिलाले नेतृत्व गर्ने, निर्णय लिन चाहने वा आफ्नो स्वतन्त्रता र आत्मनिर्भरता प्रमाणित गर्न खोज्दा धेरैलाई असहज लाग्छ। यो मानसिकतालाई जडबाटै परिवर्तन गर्न आवश्यक छ, जसले महिलालाई केवल सहायक भूमिकामा मात्र सीमित राख्ने प्रयास गर्छ।

महिलाको अस्तित्वलाई समानताका दृष्टिकोणले हेरिनुपर्छ किनकि महिला कुनै पनि क्षेत्रमा पुरुषसरह सक्षम छन्। जबसम्म महिलाको अस्तित्वलाई सहर्ष स्वीकार गरिँदैन, तबसम्म समाजले सही प्रगति गर्न सक्दैन। तसर्थ समाजको मानसिकतामा परिवर्तन ल्याउन अत्यन्तै जरुरी छ र यो परिवर्तनको सुरुवात महिला आफैंबाट हुन जरुरी छ। हाम्रो सोच, दृष्टिकोण र आत्मसम्मानले नै हाम्रो जीवनको दिशा निर्देश गर्छ।

महिलाले आफैंलाई कमजोर होइन, सक्षम र बलियो ठान्नुपर्छ। आफ्नो क्षमतालाई चिन्नु, आफ्नो योगदानलाई सम्मान गर्नु र आफ्नो अधिकारप्रति सचेत हुनुपर्छ।

महिला प्राकृतिक रूपमा पुरुषभन्दा फरक छन्। शारीरिक रूपमा कमजोर होलान् तर मानसिक क्षमता र योग्यताका आधारमा पुरुषभन्दा हामी महिला कम छैनौं। तर यति हुँदाहुँदै पनि महिलाहरूको उपस्थिति किन चाहेजति हुन सकेको छैन ? यो हामीले मनन गर्ने विषय हो। हामी आफैंमा पनि सुधार गर्नुपर्ने केही पक्ष छन् कि ? त्यतातिर पनि सोच्न आवश्यक छ। महिलामा केही यस्ता पक्ष छन्, जसलाई सुधार्न अत्यन्त जरुरी छ।

आत्मविश्वास र निर्णय क्षमता

पुरुषका तुलनामा महिला आफ्नो क्षमता हुँदाहुँदै पनि व्यक्तिगत, सामाजिक वा विभिन्न कारणले निर्णय लिन हिचकिचाउँछन्। निर्णय गर्दा त्रुटि भएमा आलोचित हुनुपर्ने भय, क्षमतामा प्रश्न उठ्ने डर, परिवार र समाजबाट सुरक्षित विकल्प रोज्न दिइने दबाबले गर्दा पनि महिलाको आत्मविश्वासमा कमी हुन जान्छ।

महिलाको आत्मविश्वास बढाउन आफ्नो क्षमतामा विश्वास राख्ने र चुनौतीलाई अवसरका रूपमा लिने बानीको विकास गर्नुपर्छ। नियमित रूपमा नयाँ सिप सिकेर आत्मबल बढाउनुपर्छ।

व्यावसायिक सञ्जाल निर्माणमा कमी

कामकाजी महिलालाई कार्यालय र घरपरिवारको दोहोरो भूमिका निभाउनुपर्ने हुँदा पुरुषजस्तो स्वतन्त्र रूपमा सामाजिक तथा व्यावसायिक सञ्जाल निर्माण गर्न अग्रसरता देखाउँदैनन्। नेतृत्वदायी भूमिकालाई प्रभावकारी बनाउन नेटवर्किङ र कनेक्सन बिल्डिङले ठुलो भूमिका खेल्छ।

यस समस्याको उपायस्वरूप विभिन्न पेसागत कार्याक्रम, सेमिनार र कार्यशालामा सहभागी भई नयाँ सम्बन्ध बनाउने प्रयास गर्नुपर्छ। आफ्नो समयलाई व्यवस्थित गरी व्यक्तिगत र व्यावसायिक जीवनको सन्तुलन कायम गर्नुपर्छ।

सामाजिक दबाब र भूमिका विभाजन

दृढता, आत्मविश्वास र स्पष्ट विचार नेतृत्वमा हुनुपर्ने गुण हुन्। तर समाजले महिलाहरूलाई सौम्य, नम्र र सहयोगी भूमिकामा बढी रुचाउँछ। जसले गर्दा जब महिलाहरू दृढ भएर निर्णय लिन्छन्, समाजले उनीहरूलाई कठोर वा असंवेदनशील भनेर आलोचना गर्छ। यस्तो समस्याको समाधानका लागि स्वस्थ जीवनशैली अपनाएर आफ्नो मानसिक र शारीरिक ऊर्जा बढाउनुपर्छ र हरेक आलोचनालाई डटेर सामना गर्नुपर्छ।

आफ्ना उपलब्धि सबैसामु प्रस्तुत नगर्नु

महिलाहरू सबैसामु आफ्नो उपलब्धि प्रस्तुत गर्न हिचकिचाउँछन् किनभने अझै पनि हाम्रो समाजमा महिलाको सफलता पुरुषको सहयोगको परिणाम हो भन्ने सोच यथावत् छ। कुनै काम राम्रो भएमा पुरुषको सहयोग र बिग्रिएमा महिलाको अक्षमता देख्ने विद्यमान अभ्यासका कारण महिलाहरू खुलेर उपलब्धि प्रस्तुत गर्दैनन्। यस अवस्थामा आफ्नो कामको उपलब्धिबारे अरूसँग खुलेर भन्नुपर्छ। आफैंले आफ्नो कामको मूल्याङ्कन गरी थप सुधार गर्न प्रयासरत हुनुपर्छ।

महिला–महिलाबिच नै प्रतिस्पर्धा

पितृसत्तात्मक संरचना भएको हाम्रो समाजमा पुरुष नेतृत्वलाई नै विश्वास गरिन्छ। यही कारण महिलाहरूले नै पुरुष नेतृत्व बढी रुचाउँछन्। उनीहरूले पुरुष नेतृत्वमा काम गर्न सहज महसुस गर्छन्। तर, उनीहरू नै महिला नेतृत्वलाई सहजै स्वीकार्न सक्दैनन्। महिलाहरूले एकअर्कालाई विश्वास गर्ने, सहयोग गर्ने, समर्थन गर्ने बानीको विकास गर्नुपर्छ। जब महिलाहरूमा एकता हुन्छ, तब मात्र उनीहरू समाजमा समान अवसर र अधिकारका लागि संघर्ष गर्न सक्षम हुन्छन्।

माथि उल्लिखित प्रवृत्ति महिलाहरूको नेतृत्व क्षमताको अभावका कारण नभई परम्परागत सामाजिक संस्कार, लैंगिक भूमिका र आत्मसात गरिएका पूर्वाग्रहहरूको परिणाम हो।

विभिन्न अध्ययनले पनि पुरुष र महिलाको मस्तिष्कमा कुनै आधारभूत भिन्नता नभएको र यसले उनीहरूको बौद्धिक क्षमता वा नेतृत्व क्षमतामा कुनै प्रभाव नपर्ने कुरा पुष्टि भएको छ। समाजले सानैदेखि केटा र केटीलाई फरक भूमिकामा ढाल्ने भएकाले उनीहरूको सोच, आत्मविश्वास र निर्णय क्षमतामा भिन्नता आएको हो।

सामाजिक संरचनाले महिलालाई पछाडि पार्न प्रयास गरे तापनि महिलामा प्रभावशाली नेतृत्वका लागि आवश्यक केही यस्ता क्षमता र विशेषता छन्, जुन पुरुषमा भन्दा बढी पाइन्छ।

– महिलामा भावनात्मक बुद्धिमत्ता प्रायः पुरुषका भन्दा बढी पाइन्छ। यसले टिम निर्माणमा र टिमका हरेक सदस्यसँग राम्रो सम्बन्ध कायम गर्न सहयोग पु¥याउँछ।

– महिलाहरू एकै समयमा धेरै काम कुशलतापूर्वक गर्न सक्षम हुन्छन्। व्यक्ति र व्यावसायिक जिम्मेवारी सन्तुलन गर्न यो क्षमता उपयोगी हुन्छ।

– महिलाहरू आफ्नो विचार कुशलतापूर्वक राख्न सक्ने र अरूको कुरा धैर्यपूर्वक सुन्न सक्ने क्षमता राख्छन्। यो गुण नेतृत्व, वार्ता र सम्बन्ध व्यवस्थापनमा महत्त्वपूर्ण हुन्छ।

– महिलाहरू विवाद समाधान गर्न संवाद र सम्झौतामा जोड दिन्छन्।

– महिलाहरू प्रायः कठिन परिस्थितिमा पनि धैर्य र सहनशील भएर काम गर्ने क्षमता राख्छन्।

– महिलाहरू सहकार्य र समूहमा काम गर्न बढी सक्षम हुन्छन्। उनीहरू सामूहिक सफलता र सल्लाहका लागि सधैं खुला हुन्छन्।

– महिलाहरू परिस्थितिअनुसार छिट्टै आपूmलाई अनुकूल बनाउन सक्षम हुन्छन्। यो क्षमता परिवर्तनशील वातावरणमा काम गर्न उपयोगी हुन्छ।

– महिलाहरू अरूको भावनालाई सजिलै बुझ्न र आवश्यक सहयोग गर्न सक्षम हुन्छन्। यो गुण शिक्षण, नेतृत्व र हेरचाहसम्बन्धी भूमिकामा उपयोगी हुन्छ।

– महिलाहरू सबैलाई समेट्ने वातावरण बनाउन सक्षम हुन्छन्।

कमजोर पक्षभन्दा सबल पक्ष बढी, पुरुषसरह सक्षम हुँदाहुँदै पनि सम्भाव्यता बोकेका महिला निर्णायक तहको भूमिकामा अत्यन्त न्यून देखिन्छन्। आज पनि समाजमा नारीहरूको प्रमुख जिम्मेवारी परिवार हो भन्ने धारणा व्याप्त छ। आधाभन्दा बढी जनसंख्या ओगटेका महिलाले पुरुषसरह आफ्नो क्षमता र योग्यता विकास गरिरहेका भए तापनि कानुनी रूपमा सुनिश्चित गरिएका अधिकारहरू व्यवहारमा प्रभावकारी रूपमा लागु हुन भने सकिरहेको छैन।

राष्ट्र, समाज तथा परिवार निर्माणमा महिला र पुरुषको समान महत्त्व हुन्छ भने समाजले हेर्ने दृष्टिकोण, सोच्ने सोचाइमा फरकपन किन ?

हामी महिला हुनुमा गर्व गर्छौं। हामी छोरी, श्रीमती, बुहारी, आमा, सासूको भूमिकामा रमाउन चाहन्छौं। शारीरिक रूपमा कमजोर हुन सक्छौं तर बौद्धिक र मानसिक रूपमा पुरुषसरह सक्षम छौं। हामीले कहिल्यै पनि पुरुष बराबर महिला भन्ने समानता चाहेका थिएनौं, किनभने हामीलाई थाहा छ, यो सम्भव छैन। पुरुष र महिलाबिच शारीरिक, जैविक र भावनात्मक स्तरमा भिन्नताहरू छन्, जुन स्वाभाविक हुन्। तर समानताको अर्थ ठ्याक्कै समान हुनु होइन, बरु समान अवसर, सम्मान र अधिकार पाउनु हो।

पुरुष र महिलाको भिन्नतालाई स्वीकार गर्दै उनीहरूको योगदान, क्षमता र भूमिकालाई उचित मूल्याङ्कन गरिनुपर्छ। लिङ्गका आधारमा कुनै भेदभाव नहुने न्यायपूर्ण समाजको निर्माण गर्दै समान अवसर सुनिश्चित गरिनुपर्छ।

त्यसैले दृष्टिकोणमा परिवर्तन ल्याऔं। महिला सम्मानलाई एउटा संस्कृतिका रूपमा विकास गर्दै महिला सशक्तीकरणलाई सांस्कृतिक र सामाजिक रूपान्तरणसँग जोडेर संस्थागत गर्दै लैजाऔं। वास्तवमा सशक्तीकरण भनेको महिलालाई शक्ति प्रदान गर्ने कुरा होइन, बरु उनीहरूमा भएको शक्ति प्रयोग गर्नबाट रोक्ने अवरोध हटाउनु हो। त्यसैले मानसिकतामा परिवर्तन, नीति सुधार र अवसरमा समान पहँुच नै महिला सशक्तीकरणको मूल आधार हो।

प्रकाशित: २४ फाल्गुन २०८१ ०६:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App