२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

किसानको प्रश्न: हाम्रो नामको अनुदान कता हरायो ?

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि उपजको उत्पादन बढाउन भन्दै विभिन्न शीर्षकमा बर्सेनि अनुदान दिन्छ । पशुहरूका लागि फार्म निर्माण, मिनी टिलर खरिद, माछा पालन होस् या धान, मकै, तरकारी उत्पादनका लागि सेड निर्माण गर्न नै किन नहोस्, किसानका लागि भन्दै अनुदान दिइरहेको वर्षाै बितेको छ । तर यही अनुदान आफूहरूले नपाएको भन्दै भक्तपुरको सूर्य विनायक नगरपालिका क्षेत्रका किसानहरूले गुनासो गरेका छन् ।

विभिन्न प्रयोजनमा पनि किसानलाई अनुदान दिने गरिएको छ, राष्ट्रिय कृषक समूह महासङ्घ सूर्य विनायक नगर समितिको आयोजनामा सोमबार नगरपालिकाको कार्यालय कटुन्जेमा भएको साना किसानको सवालमा आधारित छलफल एवं पालिका स्तरीय परिषद्मा सहभागी किसानले एक स्वरमा भने,'यसरी किसानलाई अनुदान वितरण गर्न थालेको बर्सौँ बितिसक्यो । तर न अहिलेसम्म अनुदानको प्रभावकारी वितरण र नतिजा नै देखिएको छ, न वास्तविक किसानको हातमा अनुदान परेको छ । यहाँ वास्तविक किसानले अनुदान पाउँदैनन् । शक्तिको भरमा अनुदानको रकममा गैर किसानकै हालीमुहाली छ ।’

छलफलमा सहभागी किसानहरूले प्रश्न उठाएका थिए । कार्यक्रममा सहभागी एक जना किसान ईश्वर अधिकारीले किसानका लागि अनुदान छुटाएको छ भन्ने आफूलाई जानकारी भएको तर कहिले नपाएको सुनाए । किसानका नामका यी अनुदान यहाँका झोलाका किसानले पाउँछन् होलान्, उनले भने, अरु त यहाँं कार्यक्रममा सहभागी भएबापत खाजा खर्च भनेर प्रतिव्यक्ति दुई सय ५० रुपैयाँ दिने कार्यक्रममा त कसैलाई सुइको नदिई आफैंआफैं आफ्ना आफ्ना मान्छेलाई बोलाएर गर्छन् ।’

सूर्यविनायकन नगरपालिका वडा नं १ की अर्की किसान विना गिरीले वास्तविक किसान खेतमै काम गर्नमा व्यस्त हुने र उनीहरुले नपाउने बताइन्। यीबाहेकका टाठावाठा जो खेती किसानीमा भन्दा बढी सयम वडा कार्यालय, नगरपालिका वा कताकता दगुरिरहन्छन्, उनीहरुले ती रकम हात पार्ने उनले बताइन् ।

तथ्याङ्कले भक्तपुरको सूर्यविनायक नगरपालिकामा मात्रै होइन, देशभरि यस्तै भइरहेको सरकारी तथ्याङ्कले बताउँछ । किसानका सङ्घसंस्था, सहकारी, समूहलाई अर्बौँ रुपैयाँ वितरण भएको सरकारी तथ्याङ्क छ । तर ती रकम वास्तविक किसानसम्म नपुगेको किसानको भनाई छ ।

'अनुदान पाउन कम्पनी, पान नम्बर र वार्षिक अडिट रिपोर्ट चाहिन्छ, यी डकुमेन्ट नभए किसानले अनुदान पाउँदैनन्,’ आयोजक राष्ट्रिय कृषक समूह महासङ्घ सूर्य विनायक नगर समितिका अध्यक्ष मनोज थापाले भने, 'साना किसानबाट त्यो सम्भव हुँदैन । साना किसानसँग कम्पनी हुँदैन । फलस्वरूप किसानका नाममा पहुँचवालाले अनुदान पाए ।’

सरकारले कृषि अनुदान वितरण गरे पनि कार्यकर्ताको घेराभन्दा बाहिर निस्कन नसकेको उनीहरूको भनाई छ ।

प्रकाशित: १९ फाल्गुन २०८१ १८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App