२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml ८:१० पूर्वाह्न
समाज

कर्णालीमा सवारी दुर्घटनाबाट ५ वर्षमा ७ सय बढीको मृत्यु

कर्णालीमा पाँच वर्ष अवधिमा तीन हजारभन्दा बढी सवारी साधन दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको विवरण अनुसार २०७५ सालदेखि २०८१ कात्तिक मसान्तसम्म कर्णालीमा ३ हजार ८५ वटा सवारी दुर्घटना भएका हुन्। जसमा दुर्घटनामा परी ७ सय ८७ जनाको मृत्यु भएको छ, भने ६ हजार १ सय ६७ जना घाइते भएका छन् ।

कर्णाली प्रदेशमा जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा, जाजरकोट, रुकुम पश्चिम, सल्यान र दैलेख जिल्ला पर्छन्। तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा दुर्घटनाको दर बर्सेनि बढ्दो देखिन्छ । आर्थिक वर्ष २०७५/२०७६ मा कर्णाली प्रदेशभर १ सय ४६ वटा सवारी दुर्घटना भए।२०७६/२०७७ मा वृद्धि भएर २ सय३६ पुगेको छ । आर्थिक वर्ष २०७७/ २०७८ मा २ सय ९१, आर्थिक वर्ष २०७८/२०७९ मा ४ सय १५, आर्थिक वर्ष २०७९/२०८० मा ५ सय ४९ र २०८०/२०८१ मा एक हजार ८६ वटा दुर्घटना भएको तथ्याङ्कले देखाउँछ।

यस्तै चालु आर्थिक वर्ष २०८१/२०८२को चार महिना (साउन १ देखि कात्तिक मसान्तसम्म) मा प्रदेशभरि ३ सय ६२ वटा सवारी साधन दुर्घटना भए । त्यसमा पनि चाडपर्वको आसपास असोज १७ देखि कात्तिक मसान्तसम्म १ सय १० भन्दा बढी सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी २८ जनाले ज्यान गुमाए भने, ३ सय जनाभन्दा बढी घाइते भएको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

प्रदेश प्रहरीको तथ्याङ्क अनुसार कर्णालीमा दैनिक सरदर ३ वटा सवारी साधन दुर्घटना हुने गरेका छन् । लामो यात्रा, पुरानो सवारी साधन,ओभर स्पिड,ओभर लोड, भौगोलिक विकटता, सडकको दुरवस्था तथा चालकको लापरबाहीका कारण कर्णालीका सडकमा दुर्घटना बढी हुने गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए।

कर्णालीमा कुल २७ हजार ९ सय ८४ वर्ग किलोमिटर क्षेत्रफल छ। कर्णालीमा ९ हजार ६ सय ८७.६२ किलोमिटर सडक सञ्जाल छ। त्यसमा १ हजार २ सय ६५.४१ किलोमिटर कालोपत्रे १ हजार २०.६५ किलोमिटर ग्राभेल र ७ हजार ४ सय १.५६ किलोमिटर कच्ची सडक रहेको प्रदेश ट्राफिक कार्यालयको तथ्याङ्क छ ।

प्रकाशित: १५ फाल्गुन २०८१ १४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App