१७ माघ २०८२ शनिबार
image/svg+xml
समाज

स्थानीय संस्कृति प्रवर्द्धन गर्न आजदेखि स्वयम्भू महोत्सव

काठमाडौं महानगरपालिका-१५ ले स्वयम्भूको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व उजागर गर्न स्वयम्भू महाेत्सवकाे आयाेजना गरेकाे छ।

फागुन १७ सम्म चल्ने महोत्सवले स्थानीय उत्पादन, कला, संस्कृति र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिने वडाध्यक्ष ईश्वरमान डंगोलले बताए। उनले स्वयम्भू क्षेत्रको पर्यटन सम्भावनालाई परिष्कृत गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सवले भूमिका खेल्न विश्वास व्यक्त गरे। वडाले महोत्सवलाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गरिसकेको वडा सचिव प्रमोद अधिकारीले जानकारी दिए।

महोत्सवको पहिलो दिन झाँकीसहितको र्‍याली निकालिएकाे छ। र्‍याली वडा १५ का विशेष स्थानहरूको परिक्रमापछि सभामा परिणत हुनेछ। दिउँसो १ बजे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको प्रमुख आतिथ्यमा औपचारिक रूपमा सांस्कृतिक कार्यक्रम उद्घाटन हुँदै छ।

‘पुर्खाको पौरख, नेपाली गौरव’ नारासहित हुने महोत्सवमा सांस्कृतिक कार्यक्रम, परम्परागत कला प्रदर्शनी, मौलिक खानाका परिकार, स्वास्थ्य शिविर, रक्तदान, रञ्जना लिपि लेखन, फेस पेन्टिङजस्ता गतिविधि समावेश छन्। स्वयम्भूको भुइँखेल चौरमा महोत्सव सञ्चालन गरिनेछ।

प्रकाशित: १० फाल्गुन २०८१ १२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App