प्रधानसेनापति काजी भीम मल्ल
नेपालको इतिहासमा देशको भूगोल बढाउने र दुस्मनबाट बचाउने काममा धेरै पात्रहरूले अमूल्य नेतृत्व दिएका छन्। तीमध्ये प्रशंसनीय पात्र हुन् प्रधान सेनापति काजी भीम मल्ल। उनी कान्तिपुरका राजा लक्ष्मीनरसिंह मल्ल र उनका छोरा राजा प्रताप मल्लसमेतका प्रधान सेनापति काजी थिए। अनि राजपरिवारका नजिकका नातेदार थिए।
उनले हातहतियारसहितको ठुलो सैनिक बल लिएर कब्जा गर्न तिब्बत पुगेका थिए। त्यसबखत कुनै देश कब्जा गर्नु भनेको राजधानी कब्जा गर्नु हुन्थ्यो। त्यो समयअनुसार उनले आफ्नो देशको भूगोल र आर्थिक पाटो बलियो बनाउन कान्तिपुरबाट ठुलो सेना लिएर शक्तिशाली तिब्बतभित्र प्रवेश गरे। ठाउँठाउँमा लडे। हुँदा हुँदा ल्हासा पुगी तिब्बतको राजधानी कब्जा गरे। यो एकदम साहसी नेतृत्वकर्म थियो। उनले ल्हासामाथि कब्जा गरेपछि कुती र केरुङको सजिलो बाटो नफर्की ल्हासाबाट नाङपाल–थामे लेङ–थामे–नाम्चे–सतलेरी–हालको ओखलढुंगा–रामेछाप–पनौती हुँदै कान्तिपुर पुगेका थिए। सोही क्रममा चिसङ्खु थुमको एउटा गाउँँमा दुईचार दिन आराम गर्न सेनासहित बास बसे। सोही क्रममा सेनाका लागिसमेत धान–मकै–फापर खोजी ढुंगाको ओखल र हाते मुसल बनाई धान कुटेर चामल बनाई खाए। ती थुप्रै ढुंगे ओखलहरू त्यहीं छरिएर रहे। पछि यस स्थानको नाम नै ओखलढुंगा हुन गयो।
तिब्बतमाथिको आर्थिक नियन्त्रण कान्तिपुरको बनाए। थुप्रै नेपाली अर्थात् कान्तिपुरे व्यापारीलाई त्यहाँ बसाले। तिब्बतमा रहेको सुन, ऊन, नुन, घोडालगायतका व्यापारमाथि कान्तिपुरको एकछत्र नियन्त्रण रह्यो। अलिपछि भक्तपुर र पाटनले समेत तिब्बतमा व्यापार गर्ने सुविधा पाए। पाटन, कान्तिपुर र भक्तपुर सुनैसुनका मन्दिरले भरिनुमा समेत तिब्बत माथिको नियन्त्रण र त्यहाँको सुनले गर्दा हो भने बहादुर काजी भीम मल्लकै योगदानले हो।
सन् १६३५ तिरबाट सन् १९५५–५६ सम्म पनि (चीनले तिब्बत कब्जा नगरुन्जेल) तिब्बतमाथि कुनै न कुनै रूपले नेपालको नियन्त्रण थियो। यो नेपालको प्रतिष्ठा थियो। नेपालको आर्थिक अवस्था बलियो हुनु तिब्बतकै व्यापारका कारण थियो। पछि चीन र नेपालको युद्धमा नेपालले यो अधिकार गुमायो।
हालसम्म प्राप्त अभिलेखअनुसार भीम मल्ल नै पहिलो व्यक्ति हुन्, जसले नेपालबाहिर गएर अर्को देशमाथि नियन्त्रण गरे। अनि देशको अर्थात् नेपालको वैभव बढाई आर्थिक उन्नति गराए। यही व्यापारको नियन्त्रण गर्नका लागि नै पछि अंग्रेजले नेपालसँग युद्ध गरेको थियो।
यी पात्रबारे उपत्यकाका पुराना र नयाँ इतिहासकारहरूले सोधे– खोज किन नगरेको? अनि काठमाडौंलगायतका स्थानमा उनका सालिक किन राखिन्न? केवल भीम मल्लकी श्रीमतीले दिएको श्रापलाई ‘सतीको श्राप’सँग मात्र जोडेर उनलाई लेखिन्छ। अरूका विषालु कुरा सुनेर राजा प्रताप मल्लले उनलाई मारेपछि उनकी श्रीमतीले सती जाने बेलामा श्राप दिएकी थिइन्। उनी राजा लक्ष्मीनरसिंह मल्लकै पालामा मारिएका पनि भनेको भेटिन्छ।
‘बहादुर’ उपाधि पाएका कर्णेल गम्भीरसिंह माझी (रायमाझी)
पाल्पा, छहरामा जन्मिएका गम्भीरसिंह माझी क्षेत्री सन् १८५७ मा नेपाली सेनाको श्री शेर गणका लप्टन थिए । भारतमा भएको सिपाही विद्रोह नियन्त्रण गर्न प्रधानमन्त्री जङ्गबहादुर कुँवर राणाले बेलायतलाई सैनिक सहायता दिने निर्णय गरी आफ्नै नेतृत्वमा विशाल फौजसहित प्रस्थान गरे। त्यस फौजमा लप्टन गम्भीरसिंह पनि थिए। बेलायत विरोधी भारतीय विद्रोह नियन्त्रणमा खटिएको नेपाली सेनाको भारतको जउनपुरबाट ३६ माइल जति टाढा रहेको चन्दा भन्ने स्थानमा विद्रोहीहरूसँग भिडन्त भयो। त्यस भिडन्त रातको समयमा भएको हुनाले गम्भीरसिंह आफ्नो फौजबाट एक्लिए, हराए।
एक्लो भएपछि गम्भीरसिंहलाई धेरै संख्याका शत्रुको टोलीले घेरेर मार्न लाग्दा उनले झटपट कम्मरको खुकुरी झिकेर पाँच जनालाई छपाछप काटिदिए, त्यसपछि उनीसँग भिडिरहेका शत्रु टोली भागे। शत्रुसँग गम्भीरसिंहले एउटा तोप पनि खोसेका थिए।
युद्ध हुँदा शत्रु पक्षको प्रहारबाट लागेका चोटप्रति खास वास्ता नगरी उनले शत्रुमाथि एकोहोरो ध्यान केन्द्रित गरेर जाई लागिरहे। शत्रुको टोली भागेपछि उनलाई थाहा भयो, आफ्नो पेटमा दुस्मनको तरबारले काटिँदा आन्द्राभुँडी बाहिर निस्केको रहेछ। हतपत्त उनले आफूले बोकेको झोलाबाट मिस्टिनको बट्टा निकालेर आफ्नो आन्द्राभुँडीलाई राखे अनि पटुकाले काटिएको पेटलाई बाँधी फेरि अर्का दुई जनालाई काटी तोपसमेत खोसेर घिस्रिँदै आफ्नो फौजसँग मिल्न पुगे।
यो स्तरको सहन सक्ने शक्ति र शत्रुमाथिको बहादुरी पत्याइ नसक्नुको थियो। यो खबर थाहा पाउनासाथ उनलाई तुरुन्त बेलायती सेनाको अस्पताल पुर्याइयो र आवश्यक उपचार गरियो। उनी बाँचे, अस्पतालमा केही महिना आराम गरे।
भारतमा भएको त्यो सिपाही विद्रोह अंग्रेजराजविरुद्ध थियो। नेपाली सेना अंग्रेजको अनुरोधमा सिपाही विद्रोह नियन्त्रण गर्न गएको हो। त्यसैले अंग्रेज अस्पातलमा बहादुर माझीको उपचार राम्रो भयो।
लप्टन गम्भीरसिंहबाट भएको यसप्रकारको अकल्पनीय साहसको सम्मान गर्दै प्रधानमन्त्री जंगबहादुर कुँवरले राजा सुरेन्द्रबिक्रम शाहको स्वीकृति लिएर उनलाई नामको अगाडि ‘बहादुर’ लेख्न पाउने मान र कप्तान दर्जा दिए। बेलायत सरकारले पनि उनलाई उच्च स्तरको तक्मा दिएको थियो।
वैज्ञानिक जनरल गेहेन्द्रशमशेर राणा
प्रधानमन्त्री वीरशमशेर जबराका जेठा छोरा गेहेन्द्रशमशेर जबरा नेपाली सेनाका जनरल पदमा थिए। हालसम्म प्राप्त प्रमाणका आधारमा जनरल गेहेन्द्रशमशेर राणालाई नेपालका प्रथम वैज्ञानिक मानिन्छ। यिनी नेपालमा आधुनिक हतियार निर्माण गर्ने वैज्ञानिक थिए। उनीभन्दा अगाडि धेरै नेपालीले हतियार बनाएका त थिए तर तिनीहरू केवल कालीगढ थिए। अर्थात् तिनले पुराना हतियार मर्मत गर्ने र पुराना डिजाइन, क्षमता, शैलीका हतियार मात्र बनाएका थिए। तर, गेहेन्द्रशमशेर राणाले विदेशबाट आवश्यक कच्चा सामग्री ल्याएर आधुनिक मेसिनगनलगायतका हतियार निर्माण गरेका थिए। तसर्थ, यिनी नेपालका प्रथम हतियार वैज्ञानिक हुन्।

पृथ्वीनारायण शाहको राज्यकालमा बनारसबाट ल्याइएका मुसलमान कालिगड महमद ताकी, सेख जरावर र भेषा सिंहले १८०० सालको अन्त्यतिरबाट गोरखाली सेनाका लागि गोरखामा बसेर धेरै बन्दुक र गोली गट्ठा बनाएका थिए। ती कालिगडको नाम पनि नेपाली सैनिक इतिहासमा अभिलेख हुन सकेको छैन, अर्थात् विस्तृत विवरण प्राप्त भएको छैन।
काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरअगाडि त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय रहेको पुरानो स्थल, कान्तिपथ, जमलका पुराना घरहरू जनरल गेहेन्द्रशमशेर राणाले हतियार बनाउने कारखानास्थल थिए।
गेहेन्द्रशमशेर राणाले बनाएका बन्दुकलाई ‘वीरगन’ नाम दिइएको छ। गेहेन्द्रशमशेर राणाले बनाएको ‘वीरगन’को स्तरको हतियार त्यसबखत जर्मनी लगायतका युरोपियन देशमा पनि बनेका थिएनन्। उनले बनाएको ‘गन’ को नाम पिता वीरशमशेर राणाको सम्मानमा ‘वीरगन’ राखेका थिए। त्यसैगरी उनले आफ्नो नामबाट ‘गे–राइफल’ बनाए।
वीरगन, गे–राईफलबाहेक गेहेन्द्रशमशेरले आफ्ना काकाहरू देवशमशेर र चन्द्रशमशेरको नाम राखेर उनले ‘देवराइफल’ र ‘च–राइफल’ बनाएका थिए। त्यस बेला यी डिजाइनका हजारौं हतियार नेपालमा बने । गेहेन्द्रशमशेरले हतियार बनाउन बेलायत र कलकत्ताबाट झिकाएका मेसिनहरूमध्ये केही थान अहिले सैनिक सङ्ग्रहालय, छाउनीमा राखिएका छन्।
बहादुरीको कदर गर्दै इटलीले नेपाललाई गरेको सम्मान
गोरखाली/नेपाली सेनाले गुर्गिन खाँ नेतृत्वको इस्लामिक सेना, कप्तान किनलक नेतृत्वको इस्ट इन्डिया कम्पनीका सेना, सन् १८५७ को भारतीय सिपाही विद्रोहमा बेलायतलाई गरेको सैनिक सहयोग, प्रथम विश्व युद्धमा संयुक्त अधिराज्य बेलायत सरकारको पक्षबाट भाग लिएर युद्धमा परिचालन भई युद्ध मैदानमा प्रदर्शन गरेको अथाह बहादुरीबाट युरोपका विभिन्न देश र सरकार प्रमुखहरूमा नेपाली सेनाप्रति राम्रो र सकारात्मक प्रभाव परेको थियो।

त्यसबेलासम्म भारतलगायत विश्वका धेरै देशमा आमनेपालीलाई गोर्खा वा गोर्खाली भनेर सम्बोधन गरिन्थ्यो। पश्चिमी देशहरू र चीन सरकारले पनि सरकारी चिट्ठीपत्र–मान–सम्मानहरूमा गोरखा सरकार लेख्ने प्रचलन थियो। सन् १९२३ डिसेम्बर २१ को दिनमा नेपाल र बेलायतबिच एक सन्धि भएको थियो। त्यसपछि मात्र बेलायतले गोरखाको सट्टा नेपाल वा स्वतन्त्र देश नेपाल, श्री ५ महाराजाधिराजलाई ‘हिज म्याजेस्ट्री’ र प्रधानमन्त्रीलाई ‘हिज एक्सिलेन्सी’ भनी औपचारिक सम्मान दिन थालेको थियो।
विशेषगरी प्रथम विश्वयुद्धमा ब्रिटिस गोर्खामा सेवारत गोर्खाली÷नेपाली सैनिकहरूले युद्धमा देखाएको बहादुरीले पश्चिमा देशका सरकार प्रमुखहरू प्रभावित थिए। त्यसबखत नेपालले बेलायतलाई मात्र सहयोग गरेको हुनाले जर्मनका हिटलर र इटालीका मुसोलिनी पनि नेपाली युवाहरूलाई उनीहरूको सेनामा भर्ना गर्न चाहन्थे। यो चाहना पूरा गर्न जर्मन र इटलीका सरकार प्रमुखहरू नेपाल सरकारलाई फकाइफुलाई नेपाली युवालाई आफ्नो देशको सेनामा भर्ना गर्ने उपयुक्त अवसरको प्रयासमा थिए।
यसबिच जर्मन शासक एडोल्फ हिटलर पनि नेपाली युवाबाट प्रभावित थिए। उनले नेपाली युवालाई आकर्षित गर्न नेपालका राजा त्रिभुवनलाई कार र तक्मा, प्रधानमन्त्री जुद्धशमशेर जबरालाई तक्मा पठाएका थिए भने इटलीका प्रधानमन्त्री मुसोलिनीले पनि १९९० वैशाख २२ गते राजा त्रिभुवन प्रधानमन्त्री जुद्धशमशेरलाई तक्मा पठाएका थिए। त्यस बेला विश्व परिवेशमा नेपाल इज्जतदार देश थियो।
कूटनीतिक शिष्टताअनुसार नेपाल सरकारले पनि इटलीका राजा इमान्नुयल र प्रधानमन्त्री मुसोलिनीलाई नेपालको तक्मा पठाएको थियो। सो तक्मा बेलायतस्थित नेपाली राजदूत जनरल बहादुरशमशेर जबराले इटली पुर्याएका थिए। उनको साथमा बेलायतस्थित सैनिक सहचारी कर्णेल शोभागजंग थापा, सुब्बा गुञ्जमानसिंह र खरिदार कृष्णमोहन इटली गएका थिए। तर, जर्मन र इटलीको आशयअनुरूप नेपालले जर्मन र इटलीलाई उनीहरूको सेनामा नेपाली युवा भर्ना गर्न नसकिने जवाफ पठाएको थियो।
दोस्रो विश्व युद्धको समयमा नेपालमा पनि बङ्कर
सन् १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्व युद्धमा नेपालले संयुक्त अधिराज्य बेलायत सरकारलाई सैनिक सहयोग पठाएको थियो। नेपाली सेनाले बर्मा क्षेत्रमा जापानी सेनाविरुद्ध लड्न थालेपछि र नेपाली सेनाले धेरै जापानी सेना मार्न थालेपछि जापान सरकारले नेपालविरुद्ध हवाईजहाजबाट बम हान्ने योजना बनाएको थियो।
सोही समयमा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा अणु बम खसालेर जनधनको ठुलो क्षति गरेपछि जापानले आत्मसमर्पण ग¥यो र नेपालमाथि हवाईजहाजबाट बम खसाल्ने योजना पनि अन्त्य भयो।
बर्मा, थाइल्यान्ड, भारतका विभिन्न स्थलमा युद्ध मोर्चामा खटिएका अमेरिकी र बेलायती सरकार, सेना र गुप्तचरबाट जापान सरकारले बनाएको गुप्त योजना बेलायत सरकारको सहयोगका लागि खटिएर गएका नेपाली सेनाका कमान्डर जनरलसम्म आइपुगेको थियो।
नेपाली सेनाका कमान्डर जनरलहरूले खबर पाएपछि तत्कालै काठमाडौंमा यो समाचार आइपुग्यो। त्यसपछि नेपाल सरकारले काठमाडौंमा भएका श्री ५ को दरबार, श्री ३ को दरबार तथा प्रायः सबै राणाहरूको दरबारमा हवाई बमवर्षाबाट बाँच्नका लागि ‘बङ्कर घर’ बनाइएको थियो।
दोस्रो विश्वयुद्धको समयमा बनाइएका यसप्रकारका बङ्कर घरहरूको अवशेष पछिसम्म थिए। यीमध्ये केही बङ्कर घर महाराजगन्जस्थित हाल नेपाली सेनाको ब्यारेक घर, लक्ष्मी निवासमा र हाल नेपाल सरकार, स्टाफ कलेज, जावलाखेलमा पनि थियो। यसप्रकारका बङ्कर घरहरू धेरै नासिए, मासिए। यीमध्ये केही बङ्कर घर पंक्तिकार स्वयंले प्रत्यक्ष देखेको थियो।
काठमाडौंको नारायणहिटी राजदरबारभित्र, दक्षिणढोकाको बाँयातर्फ २०० मिटरमा रहेको दोस्रो विश्व युद्धताका निर्मित बङ्कर घर अझै पनि छ। २०६५ सालपछि नारायणहिटी राजदरबार नेपाल सरकारले ट्रस्टमार्फत निजी क्षेत्रलाई भाडामा दिएपछि ‘बतास ग्रुप’ले यो बङ्कर भत्काएर रेस्टुरेन्ट बनाउँदै गर्दा तत्कालीन नेपाल सरकारका मन्त्री प्रेम आलेले रोकेका थिए। त्यस अवस्थामा मैले सो बङ्करका केही तस्बिर र भिडियो लिएको थिएँ।
नारायणहिटी राजदरबारभित्रको यो बङ्कर घरका केही भाग नष्ट गरिएको भए पनि धेरै भाग ठिक अवस्थामा छन्।
नेपाली सेनामा ‘ब्यारेक सिस्टम’ कहिलेबाट भयो?
नेपाली सेनामा पहिलोपटक ‘ब्यारेक सिस्टम’ सुरु गर्ने कमान्डर इन चिफ भीमसेन थापा हुन्। उनले छाउनी, काठमाडौंमा जंगी अड्डा बनाए। अनि त्यसको आसपासमा सैनिक ब्यारेकहरू बनाएका थिए। त्यसपछि फौज ब्यारेकमा बस्न थाले। छाउनी भनेका फौज बस्ने घरहरू हुन्। पछि यो स्थानको नाम नै छाउनी बन्यो। भीमसेन थापा केही समय यही भवनमा बसे। छाउनीस्थित हाल राष्ट्रिय सङ्ग्रहालय रहेको भवन नै नेपाली सेनाको पहिलो मुख्यालय थियो।
त्यसैगरी उनले बालाजुमा पानीबाट चल्ने हतियार कारखाना, स्वयम्भूमा बारुद कारखाना र ठिमीमा गोलीगट्ठा भण्डारण गर्ने गट्ठाघर पनि बनाएका थिए।
नेपाली सेनामा कर्णेल र जनरल दर्जाको सुरुवात भीमसेन थापाले गराएका थिए भने पहिलो जनरल उनी आफैं थिए।
भीमसेन थापाको पतन हुनासाथ रणजंग पाण्डे मूलकाजी बने। उनले कमान्डर इन चिफ र जनरललगायतका पश्चिमा सैनिकपद खारेज गरे र सैनिक छाउनी पनि बन्द गरे। त्यसपछि सैनिकहरू परेड लगायतका सरकारी काममा डेराबाट आउन थाले। रणजंग पाण्डेले ब्यारेक सिस्टम खारेज गर्नुको कारण भीमसेन थापाको सैनिक सुधार फ्रेन्च र अंग्रेजी वा पश्चिमी देशका शैली वा ढाँचाको भयो।
यद्यपि एडिसी कम्पनी भने हनुमानढोकाको ब्यारेकमा नै बस्थे। पछि जंगबहादुर कुँवर प्रधानमन्त्री भएपछि भने एडिसी कम्पनीको नाम ‘बिजुली गारत’ राखियो र यो गारत २००८ सालको जेठतिरसम्म श्री ३ को दरबारकै ब्यारेकमा बस्थे। बाँकी सेना डेरा वा घरबाट आउने गर्थे।
२००८ सालमा डा. केआई सिंहले रक्षादल (कांग्रेसका लडाकु) को सहयोगमा नारायणहिटी दरबारबाहेक काठमाडौं कब्जा गरे। त्यसपछि सबै नेता नजरबन्द जस्तै बने। प्रधानमन्त्री, मन्त्री, कमान्डर इन चिफ, सबै राजदरबारमा शरण लिन पुगेका थिए।
त्यस अवस्थामा बिजुली गारत अर्थात् पुराना नेपाली सेनाले स्थिति नियन्त्रणमा लिए। रक्षादललाई पनि नियन्त्रणमा लियो। २००८ सालपछिको सरकार खुसी भयो। सिंहदरबारमा राखिएका रक्षादललाई दुई भागमा बाँडेर काठमाडौंबाहिर पठाइयो। एउटा पल्टन नगरकोटको भँगेरी दरबार क्षेत्रमा र अर्को पल्टन मकवानपुरको सुपिङ अर्थात् भीमफेदीमा राखियो।
यो कारबाहीबाट कांग्रेस नेताहरूको पुरानो सेना अर्थात् नेपाली सेनाप्रति विश्वास बढेर अबदेखि नेपाली सेनालाई ब्यारेकमा राख्नुपर्छ, आपद्विपद् जुनसुकै समयमा पनि परेको बेला तुरुन्त काम लिन सकिन्छ भन्ने आशयले पहिलो ब्यारेक टुँडिखेलमुनिको हाल गणेशदल गण बसेको स्थानमा बन्यो र नेपाली सेनामा फेरि ब्यारेक सिस्टमको सुरुवात भयो।
नेपालमा भएको ठुलो सैनिक हवाई दुर्घटना
नेपाली सेनामा मित्रराष्ट्र इजरायलको सहयोगमा २०२२ सालमा प्यारा अथवा छाताधारी फौज स्थापना भएको थियो।
नेपाली सेनाको छाताधारी युनिट अर्थात् प्यारा जम्प गर्ने गण श्री भैरवनाथ गण र प्यारा तालिम शिक्षालयका तर्फबाट काभ्रेपलान्चोक जिल्लाको पाँचखालमा नियमित रूपमा ‘प्यारा जम्प’ को पूर्वअभ्यास हुने गरेको थियो। यस सिलसिलामा श्री भरतकेशर सिंह (उपरथी पदबाट अवकाश) प्याराको ओभरअल कमान्डर छँदा, काभ्रेपलान्चोकको पाँचखालमा प्यारा जम्प गराई प्यारा ट्रुपरहरूबाट स्पेसल मिसनको सैनिक कारवाहीको अभ्यास राजा वीरेन्द्रलाई देखाउने नजर गराउने कार्यक्रम भएको हुँदा सो अभ्यासको रिहर्सलका क्रममा कर्णेल भरतकेशर सिंह, ए कम्पनी कमान्डर सेनानी सच्चितशमशेर जबरा र अभ्यास कमान्डर सहसेनानी चिनियाँबहादुर बस्न्यातसमेतका कमान्डरहरू हेलिकोप्टरमा पहिल्यै अभ्यासस्थल पाँचखाल पुगिसकेका थिए। त्यसपछि काठमाडौं विमानस्थलबाट प्यारा जम्पर सैनिक टोली लिएर डकोटा प्लेनले पाँचखालतर्फ उडान गरेको थियो।
उक्त दिनको अभ्यासमा प्यारा जम्प र ग्राउन्ड अभ्यास नगरी अभ्यासका लागि लाग्ने समयको यकिन मात्र गर्ने कार्यक्रम भएको हुनाले जम्प गर्ने २८ जना र चार पाइलट (चालक) सहित जम्मा ३२ जनाको उडान भरिएको थियो। अभ्यास इलाकामा प्यारा टुपर डप गर्ने प्लेनले फन्को मारेर काठमाडौं फर्केको थियो। त्यसको पछिपछि कर्णेल भरतकेशर सिंहलगायतका सैन्य अधिकारीहरू सवार अर्काे हेलिकोप्टर थियो। पछाडिको हेलिकोप्टरमा सवारहरूले आफूभन्दा अघिको प्लेन देखिरहेका थिए।
यो प्लेन धुलिखेलको डाँडातर्फ उचाइ लिइरहेको थियो। अचानक अघि उडिरहेको प्लेन देखिन छाड्यो। केहीछिनमै एक्कासी आगोको मुस्लो आकाशतर्फ बढेको देखिन थाल्यो। त्यसपछि हेलिकोप्टरमा सवार अधिकारीहरूमा आफूअघिको प्लेन दुर्घटनामा परेको शंका गरी हेलिकोप्टरलाई आगोको मुस्लो आएतर्फ लैजान लगाइयो। नभन्दै उचाइ लिने सिलसिलामा प्लेनको एउटा पखेटाले बिजुलीको तारमा ठक्कर खाएर धुलिखेलको डाँडोमा दुर्घटना भइसकेको रहेछ। प्लेनभित्र सवार प्यारा जम्परहरूमध्ये केही उछिट्टिएका र धेरै सैनिक प्लेनभित्र जलिरहेका थिए।
उक्त दिन भएको दुर्घटनामा ३२ जना सैनिकको दुःखद निधन भएको थियो। नेपाली सेनाको इतिहासमा उक्त दुर्घटना सबैभन्दा ठुलो हवाई दुर्घटना हो।
उक्त दुर्घटनाको एक महिनापछि पूर्वयोजनाअनुसार पाँचखालमा पुनः अभ्यास गरी श्री ५ महाराजाधिराजलाई प्यारा जम्प अभ्यास देखाइएको थियो।
डिल्लीबजार नामकरण
नेपाली सेनाका चिफ कर्णेल डिल्लीसिंह बस्न्यात प्रधानमन्त्री जंगबहादुर कुँवर राणाका सम्धि नाताका थिए। डिल्लीसिंह बस्न्यातले राष्ट्र निर्माणमा अतुलनीय योगदान पु¥याएका छन्। तत्कालीन समयमा काठमाडौंको डिल्लीबजारदेखि मैतीदेवी इलाकासम्मको भूभागमा बाक्लो मानव बसोबास थिएन। त्यसै इलाकाको हालको पद्मकन्या हाई स्कुल भएकै स्थानमा चिफ कर्णेल डिल्लीसिंहको घर र जग्गाजमिन थियो।
डिल्लीसिंह बस्न्यात धार्मिक प्रवृत्तिका व्यक्ति थिए। धार्मिक सुकर्ममा समेत उनको योगदान छ। त्यस समय काठमाडौंको मुख्य सहरबाट श्री पशुपतिनाथ मन्दिर जाने मुख्य बाटो, बागबजारको मुखदेखि मैतीदेवीसम्म मानिसहरू पैदल हिँड्ने साधारण गोरेटो बाटो थियो। चिफ कर्णेल डिल्लीसिंह बस्न्यातले हालको डिल्लीबजारको आफ्नो निजी जग्गामा बग्गी हिँड्ने ठुलो बाटो खुलाउन नेपाल सरकारसँग बिन्तीपत्र हाले।
बस्न्यातको यसप्रकारको परोपकारी सुकर्मबाट खुसी भएर प्रधानमन्त्री जंगबहादुर कुँवर राणाले त्यहाँ बग्गी चल्ने ठुलो बाटो बनाउन अनुमति दिए। बग्गी चल्ने, ठुलो बाटो खुलेपछि, त्यस भूभाग अर्थात् त्यो इलाका ‘डिल्लीसिंह’ को नामबाट पछि ‘डिल्लीबजार’ राख्न समेत हुकुम प्रमाङ्गी भयो। त्यसपछि यो क्षेत्रको नाम ‘डिल्लीबजार’ कायम भयो।
डिल्लीबजारको मूल सडकबाट चारखालतर्फ मोडिने घुम्ती (उत्तर वा दाँयातर्फ) मा मन्दिरहरू छन्। ती मन्दिरहरू उनै डिल्लीसिंह बस्न्यातले स्थापना गराएका थिए भने त्यहाँस्थित ठुला घण्टामा चिफ कर्णेल डिल्लीसिंह बस्न्यातका कीर्ति उल्लेख छन्।
साथै डिल्लीबजार मूल सडकको दक्षिणतर्फको प्रसिद्ध कालिकास्थान मन्दिरमा पहिले ‘कालिका’को ‘शिला’ मात्र थियो। त्यो शिला पिपलको रुखमुनि स्थापना गरिएको थियो। पछि चिफ कर्णेल डिल्लीसिंह बस्न्यातले प्रधानमन्त्री जंगबहादुर कुँवर राणाबाट अनुमति लिएर त्यहाँ ‘कालिका’को मन्दिर निर्माण गरेका थिए। अन्तिम नेपाल भोट युद्धका लागि चाहिने सम्पूर्ण असबाब बन्दोबस्ती (लेजेस्टिक म्यानेजमेन्ट)को जिम्मा उनैको थियो। उनले अन्तिम नेपाल भोट युद्ध लडे। त्यसअघि जंगबहादुर राणाको बेलायत भ्रमणमा पनि उनी सँगै गएका थिए।
लडाकु प्रवृत्तिका पोडे र खड्गी
गोर्खाका राजा पृथ्वीनारायण शाहले १८२५/२६ मा एकीकरण गर्नुअघि काठमाडौं उपत्यकामा भक्तपुर, ललितपुर र कान्तिपुर नामका अलग राज्य थिए। उपत्यकाका यी राज्यहरू पूर्व र पश्चिमका ससाना राज्यका तुलनामा आर्थिक रूपले सबल र सम्पन्न मानिने हुनाले पश्चिम नेपालको शक्तिशाली सिंजाका राजा जितारी मल्ल, पाल्पाका राजा मुकुन्द सेन, सिम्रौनगढका डोय राजाहरू र बंगालका इस्लाम शासक समसुद्धिन तुगलक आदिले उपत्यकामा पटकपटक सैन्य हमला गरेका थिए।
१३४४ र ४५ सालमा दुईपटक पश्चिम नेपालको सिन्जा राजधानी भएको राज्यका राजाजितारी मल्लले उपत्यकामा आक्रमण गरेर धनमाल लुटेका थिए। लुटपाटसँगै उनका सेनाले उपत्यकामा आगजनी पनि गरेका थिए।
सेनाको आक्रमणको प्रतिकार गर्न उपत्यकाका राजा र सेना असमर्थ भए। त्यसपछि १४०७ सालमा दक्षिणपूर्वमा पर्ने बंगालका इस्लाम शासक समसुद्धिनले ठुलो संख्याका सैनिकसहित आएर काठमाडौं उपत्यकामा हमला गरेर धनमाल लुट्नुका साथै आराध्यदेव श्री पशुपतिनाथको मूर्ति तोडफोड गरेका थिए। उनका मुस्लिम सेनाले स्वयम्भु र चाँगुनारायणलगायत धेरै चैत्यहरू भत्काएर नष्ट गरिदिएका थिए। यसैगरी पाल्पाका राजामुकुन्द सेनले १५८२, १५८३ र १५८४ मा तीनपटक हमला गरेर उपत्यकामा लुटपाट गरेका थिए। साथै, उपत्यकामा दक्षिणको डोय सेनाले पनि आक्रमण गरेको थियो। ती आक्रमणहरूमा उपत्यकावासीले सशक्त प्रतिकार गर्न सकेनन्।
बंगालका मुसलमान–सेनाले पृथ्वीनारायण शाहको राज्यकालमा १८१९ सालमा मकवानपुरका पराजित राजा दिग्बन्धन सेन र मन्त्री कनक बानियाँको अनुरोधमा गोरखाली सेनाको चौकीमाथि हमला गरेका थिए। गुर्गिन खाँ नेतृत्वमा आएको इस्लाम सेनामाथि गोरखाली सेनाका सेनानायकहरू काजी केहरसिंह बस्न्यातको नेतृत्वमा काजी वंशराज पाण्डे, सरदार रामकृष्ण कुँवरलगायतका सेनाले मकवानपुरको हर्नामाडीमा अचानक हमला गरी झन्डै १३ सय सैनिकको हत्या गरिदिएपछि उनीहरू हतियारसमेत छाडेर भागेका थिए। नेपाली भूमिमा त्यसपछि इस्लाम सैनिकहरू आक्रमण गर्न कहिल्यै अघि सरेनन्।
प्राचीनकालदेखि खासगरी लिच्छविकालदेखि काठमाडौं उपत्यकाको सैनिक सुरक्षा जनसेना अर्थात् जनताको सामूहिक प्रतिरक्षाबाट गरिने प्रचलन थियो। मल्लकालमा भने उपत्यकाको सैनिक सुरक्षाबारे जानकारी मिल्ने केही कागजातहरू पाइएको छ, ती कागजातमा उपत्यकाको सुरक्षाको जिम्मा पाउने केही जातहरूको उल्लेख गरिएको छ। ती जातको सुरक्षामा देहायको भूमिका देखिन्छ: मानन्धर– किल्ला निर्माण तथा संरक्षण गर्ने, पोडे– पानीमा पौडी खेलेर होस् वा जमिनबाट होस्, शत्रुको सशक्त प्रतिकार गर्ने लडाकु। पौडी खेल्ने कलाबाट नै पौडे–पोडे थर कायम भएको सम्भावना देखिन्छ। उस बखत सिमरौनगढ, भक्तपुर, ललितपुर, कान्तिपुर, कीर्तिपुर लगायतका सहर वा राजधानीलाई सुरक्षाका लागि वरिपरि पर्खालले घेरिन्थ्यो। अर्थात् किल्ला वा गढ बनाइएको हुन्थ्यो। अनि पर्खालको बाहिरपट्टि ठुला ठुला खाल्डो घेरेर त्यसमा पानी जमाइन्थ्यो। यो पानी जमेको ठाउँ पार गर्न पौडी खेल्नै पर्थ्याे, हमला गर्नेले र प्रतिरक्षा गर्नेले पनि, कि डुङ्गा प्रयोग गर्नुपर्थ्याे। ज्यापू– सबैभन्दा ठुलो सैनिक दस्ता, दुस्मनसँग लड्ने बहादुर समूह। खड्गी – यो जाति सुरवीर, तेज घोडाजस्तै लडाकु थियो। यिनीहरू खड्ग चलाउनमा निपुण थिए। खड्ग चलाउन निपुण भएकाले यिनीहरू खड्गी नामले परिचित भए र अन्ततः यही जात/थर कायम भयो।
पश्चिम नेपालको सिन्जा राजधानी भएको खस साम्राज्यको सेनामा खड्ग हतियार चलाउने समूह खड्का नामबाट परिचित भएको र पछि यो समूह खड्का थरबाट परिचित भएको इतिहास लेखकहरूले उल्लेख गरेका छन्।
मल्लकालअघि मानन्धर, पोडे, ज्यापू र खड्गीको आपसी सल्लाह र निर्णयबाट दुस्मन वा राज्यका शत्रुको प्रतिकार गर्ने काम हुन्थ्यो। यिनीहरूले खासमा मल्ल राज्यका तालिम प्राप्त सेनाको रूपमा काम गर्ने देखिन्छ। त्यस समय राज्य र राज्यभित्रका सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नु राज्यभित्रका सबैको दायित्व हुन्थ्यो। यसलाई लेखकहरूले झारा प्रथा भनेका छन्। युद्ध वा लडाइँका पोडे, मानन्धर र खड्गीहरूले उपर्युक्त जिम्मेवारी वहन गर्ने गरे तापनि आमजनता घर घरबाट राज्यमाथि आक्रमण भएमा अनिवार्य रूपमा युद्धमा भाग लिन उपस्थित हुनुपथ्र्यो।
उपर्युक्त तथ्यहरूमाथि विचार गर्दा पोडे, मानन्धर, खड्गी, ज्यापू जातिहरू लिच्छवीकालीन योद्धा समूह थिए। लिच्छवि वंशको शासन पतन गराउँदा विजेता पक्षले पराजित शासन व्यवस्थाका संरक्षक मानिएका लडाकु जातिका योद्धाहरूबाट भविष्यमा हुन सक्ने सुरक्षा खतरालाई मध्यनजर राखेर उनीहरूलाई नियन्त्रणमा राख्न र समाज तथा राष्ट्रमा उनीहरूको मान्यतालाई गिराउन, क्षीण बनाउने उद्देश्यले पराजित शत्रु शासकका लडाकु जातिलाई तल्लो तहको जातमा झारिदिएका थिए। यसप्रकार मल्लकालमा यिनीहरूमध्ये केही समाजमा तल्लो वा पानी नचल्ने अछुत कहलाए, केही पानी चले तापनि तल्लो तहमा राखिए।
लिच्छवि शासनकालका लडाकु जातिको पौरख राज्यले लिनका लागि मल्ल राजाहरूले पनि सुरु सुरुमा तिनै लिच्छवि कालीन लडाकुहरूलाई सैनिक सुरक्षाको काम दिएका थिए तर पछि पछि मल्ल राजाहरूका सेनामा तराईवासी, क्षत्री, मुर्मीलगायत धेरै जाति भर्ना गरिए। पछि मल्ल राजाहरूले काँगडा, कुमाउँलगायतबाट नगरकोटी लडाकुहरू ल्याई सेना बनाए। तर किन हो, उपत्यकाका नेवार समुदायबाट भने सेनामा काम गरेको देखिँदैन।
प्रकाशित: १७ माघ २०८२ ०८:४१ शनिबार





