आसन्न निर्वाचनका कारण देशमा फिल्मी गतिविधिहरू सुस्त बनिरहेका बेला नेपाली चलचित्र ‘लालिमा’ को ट्रेलरले भने युट्युबमा दर्शकको राम्रो साथ पाएको छ।
शनिबार सार्वजनिक गरिएको उक्त ट्रेलर २४ घण्टा नबित्दै युट्युबको फिल्म श्रेणीअन्तर्गत ट्रेन्डिङको ५ नम्बरमा उक्लिएको हो।
लेखक तथा निर्देशक रोशन मिराजको निर्देशनमा तयार भएको यस चलचित्रले समाजमा रहेका यौनकर्मीहरूको यथार्थ, उनीहरूका बाध्यता र मानसिक सङ्घर्षलाई पर्दामा उतारेको छ।
चलचित्रको शीर्ष भूमिकामा नायिका रोश्नी कार्की छिन्। उनलाई ट्रेलरमा यौनकर्मीको रूपमा प्रस्तुत गरिएको छ। चलचित्रको कथा ‘लालिमा’ को जीवनमा आउने उतारचढाव र उसको मानसिक द्वन्द्वमा केन्द्रित रहेको छ। ट्रेलरको अन्त्यतिर उनी मानसिक समस्यासँग जुधिरहेको दृश्य समावेश छ।
नायिका कार्कीका अनुसार यस चलचित्रले यौनकर्मीहरूको पृष्ठभूमि, समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण र उनीहरूको मानसिक अवस्थालाई उजागर गर्ने प्रयास गरेको छ।
चलचित्रमा रोश्नी र जीवनका साथै उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
विशेषगरी, अभिनेत्री उषा रजकले फिल्ममा सुस्त श्रवणशक्ति भएकी महिलाको भूमिका निर्वाह गरेकी छन्। आगामी फागुन २९ गते अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सार्वजनिक प्रदर्शनमा आउन लागेको यस चलचित्र फेथ आस्थाको प्रस्तुति हो।
चलचित्रकी कार्यकारी निर्माता रीना लामा हुन् भने यसको देशव्यापी वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ।
प्रकाशित: १७ फाल्गुन २०८२ १८:२१ आइतबार





