१७ माघ २०८२ शनिबार
image/svg+xml
समाज

प्रदर्शनीस्थलमै काठका सामग्री बनाउँदै राउटे युवा

प्रदर्शनी भवन बनाउने मुख्यमन्त्री कँडेलको घोषणा

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको जन नमूना माविको हलमा लोपोन्मुख राउटे समुदायका पाँच जना युवा काठका मुडाबाट विभिन्न सामग्रीहरु बनाउँदै थिए । राउटे युवा  नवीन शाहीले पिर्का बनाए । दीपकले कोसी अनि बन्दवीर र सुरवीनले डाडु र पन्यौं बनाए । अवलोकन गर्न आउनेहरु राउटेले बनाउँदै गरेका सामग्रीहरु हेर्दै मख्ख परिरहेका थिए ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले मंगलबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रादेशिक ललितकला प्रदर्शनीको आयोजना गरेको छ । उक्त प्रदर्शनीमा कर्णालीका विभिन्न जिल्लाका चित्रकारहरुले बनाएका चित्रकालाहरु प्रदर्शनमा राखिएका छन् भने राउटेका सामाग्रीहरुसँगै राउटेले जंगलबाट काठ ल्याएर प्रदर्शनीस्थलमै काठका सामग्रीहरु बनाउने व्यवस्था मिलाइएको छ ।

‘जन्मँदै सीप ल्याएर आएको समुदाय रहेछ,’ प्रदर्शनी अवलोकन गर्न आएकी कालीकोटकी सुशीला गिरीले भनिन्, ‘हेर्दाहेर्दै एकैछिनमा राउटेले काठबाट डाडु, पन्यौं, कोसी, पिर्का बनाएर देखाए ।

केही दिनअघि सुर्खेतको प्रशिद्ध बुलबुलेमा ‘सामाजिक रूपान्तरणमा ललितकलाको अभियान’ भन्ने नाराका साथ कर्णालीका चित्रकारहरुले चित्र कोरेका थिए । ति चित्रहरु पनि प्रदर्शनीमा राखिएको छ ।

परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामाले १० गतेसम्म चल्ने प्रदर्शनीमा आठ वटा विधा समेटिएको बताए । ‘परम्परागत चित्रकला, समसामयिक चित्रकला, परम्परागत मूर्तिकला, समसामयिक मूर्तिकला, बास्तुकला तथा लोककला, हस्तकला, नवप्रतिभा र बहुआयामिक तथा अन्य सृजनात्मक कला प्रदर्शनीमा राखिएको बताए । ‘सबै विधामा एक–एक जना र एक जनालाई उत्कृष्ट पुरस्कारको पनि व्यवस्था गरेका छौं,’ उनले भने, ‘चित्रकलालाई देशब्यापी बनाउने अभियानस्वरुप प्रत्येक प्रदेशमा हरेक वर्ष प्रदर्शनीको आयोजना गरिरहेका छौं ।’

प्रदर्शनी भवन बनाउँछौं : मुख्यमन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चित्रकला प्रदर्शनीका लागि कर्णाली प्रदेशको राजधानीमा भवन निर्माण गर्ने बताएका छन् । उनले प्रदर्शनीस्थल नहुँदा विद्यालयको भवन प्रयोग गर्नुपर्ने अहिलेको अवस्थाको अन्त्यका लागि आफू लाग्ने बताए ।

‘स्थानीय सरकारले जमिनको व्यवस्थापन गरिदिए प्रदेश सरकारले भवन निर्माण गर्छ,’ प्रदर्शनीको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले भने, ‘अव अर्को वर्ष विद्यालयको कोठा खोजेर प्रदर्शनी गर्न नपर्ने गरेर काम गछौं ।’ उनले कर्णाली प्रज्ञा प्रतिष्ठान गठनको तयारी भइरहेको जानकारी पनि दिए । ‘संघीय सरकारले वा केन्द्रमा गठन भए अनुसार विषषगत संरचना र संस्था बनाउन हामी नसकौंला,’ उनले भने, ‘गक्ष अनुसारको सरकार चलाएका छौं, सोही अनुसारको संरचना निर्माणको तयारीमा छौं ।’

मुख्यमन्त्री कँडेलले कर्णाली कला र संस्कृतिका हिसावले सम्पन्न प्र्रदेश रहेको बताए । उनले साधन–स्रोतको अभावले कला र संस्कृतिमा धनी भएपनि त्यसको उपयोग हुन नसकेको बताए । ‘बाटो हे¥यो विकट छ, तर चित्र हे¥यो भने कर्णाली धनी रहेछ भन्ने देखाउँछ,’ उनले भने, ‘साधन स्रोतको अभावमा यसको विकास हुन मात्रै नसकेको हो ।’

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति नारदमणि हार्तम्छालीले विद्यागत उत्कृष्ट हुनेलाई ३०–३० हजार र आठै विद्यामा उत्कृष्ट हुनेलाई ५० हजार पुरस्कारको व्यवस्था गरिएको बताए । उनले पाँच दिनसम्म चल्ने प्रदर्शनीमा १० हजारबढीले अवलोकन गर्ने बताए ।

प्रकाशित: ६ फाल्गुन २०८१ १८:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App