भारत उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने सुरक्षागार्ड र कर्मचारीलाई हटाएको जनाएको छ।
नेपाली विद्यार्थीमाथि गरिएको दुर्व्यवहारप्रति विश्वविद्यालयले माफी माग्दै उनीहरूलाई कामबाट हटाएको जनाएको हो। विश्वविद्यालयले आज एक विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने दुई सुरक्षागार्ड र दुई जना छात्रबासका कर्मचारीलाई बर्खास्त गरेको जनाएको छ।
यस्तै प्रशासनका एक र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग (आइआरओ) का तीन कर्मचारीलाई निलम्बन गरेको छ। प्रकृतिले आत्महत्या गर्नुपूर्व यी कर्मचारीहरूलाई आफूमाथि भएको शारीरिक र मानसिक तनावको सुनुवाइ गर्न माग गर्दै निवेदन दिएकी थिइन्।
विश्वविद्यालयले क्याम्पस र होस्टलबाट निस्कासित नेपाली विद्यार्थीलाई फर्किन आह्वान समेत गरेको छ। विश्वविद्यालयले घटनाको छानबिनमा सघाउने र विद्यार्थीको सुरक्षामा ध्यान दिने जनाएको छ।
भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा बी.टेक तेस्रो वर्ष पढ्दै गरेकी प्रकृति लम्साल आइतबार साँझ मृत भेटिएकी थिइन्।
घटनापछि आक्रोशित विश्वविद्यालयका विद्यार्थीहरू सडकमा उत्रिएका थिए र उनीहरूले विश्वविद्यालयको प्रवेशद्वार बाहिर विरोध प्रदर्शन गरेका थिए। विश्वविद्यालय अधिकारीहरूको लापरबाहीको कारण प्रकृतिको ज्यान गएको भन्दै उनीहरूले नाराबाजी गरेका थिए।
विद्यार्थीहरूले प्रदर्शन गरेको भन्दै विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई जबरजस्ती होस्टेलबाट निकालेर विभिन्न ठाउँमा छाडिदिएको थियो।
प्रकाशित: ६ फाल्गुन २०८१ १४:०५ मंगलबार





