पोखरामा बेलुन पड्किएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको छ ।
आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप अनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्य सचिव रहेका छन् । साथै समितिमा एक जना विस्फोटक पदार्थ विज्ञ समेत हुनेछन् ।
समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ।
पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा हाइड्रोजन बेलुन पड्किँदा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए।
प्रकाशित: ४ फाल्गुन २०८१ १४:२१ आइतबार





