१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
समाज

मेलम्ची खानेपानीको पाइप अकस्मात् फुट्दा त्राहिमाम्, यसकारण फुट्यो पाइप

तस्बिर: विजय राई/नागरिक

काठमाडौंको बबरमहल क्षेत्र जलमग्न हुनेगरी फुटेको पाइप मेलम्ची खानेपानी आयोजना अन्तर्गतको रहेको खुलेको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले उक्त क्षेत्रमा मेलम्चीको वितरण प्रणालीको पाइप फुटेको जानकारी दिए।

‘उक्त क्षेत्रमा हाम्रो बल्ब डिस्ट्रिब्युसन सिस्टम (बिडिएस) पाइप फुटेको छ। त्यो भनेको निकै ठुलो पाइप हो,’ प्रवक्ता राईले भने,‘हामीले त्यहाँको सप्लाई रोकिसकेका छौँ। यसैले जलमग्न स्थिति केहीबेरमा हटिसक्छ।’

उक्त पाइप कमजोर भएका कारण नफुटेको प्रवक्ता राईले दाबी गरे। ‘त्यहाँ थर्ड पार्टी (तेस्रो पक्ष) का कारण पाइपमा क्षति पुगेको हुनसक्छ। आयोजनाको कमजोरीले पाइप फुटेको होइन,’ उनले भने।

यसको अर्थ कसैले केही निर्माण गर्दा खानेपानीको वितरण पाइपमा क्षति पुगेर फुटेको आशंका उनले व्यक्त गरे।

बुधबार दिउँसो साढे दुई बजेतिर उक्त क्षेत्रमा पाइप फुटेर जलमग्न भएको थियो। सडकदेखि लिएर वन परिसर, जिल्ला अदालत काठमाडौं, विशेष अदालत परिसर सबै क्षेत्र जलमग्न भएको थियो। केही बेर सडक समेत अवरुद्ध हुन पुगेको थियो। पानीको सप्लाई रोकिएपछि अहिले सडक भने सुचारु भइसकेको छ।

प्रकाशित: ३० माघ २०८१ १५:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App