१७ माघ २०८२ शनिबार
image/svg+xml
समाज

गाउँमै सेवा, सदरमुकाममा सन्नाटा

संघीयताको कार्यान्वयनपछि सरकारी सेवा स्थानीय तहमै उपलब्ध हुन थालेपछि जुम्लाको सदरमुकाम खलंगा बजार सुनसान देखिन थालेको छ।

गाउँबस्तीमा यातायातको पहुँच विस्तार भएसँगै खलंगा बजारको व्यापार व्यवसाय ओरालो लागेको छ। स्थानीय व्यापारीहरू भन्छन्- ‘पहिले बजारमा थामिनसक्नुको चहलपहल थियो, अचेल सुनसान छ। घाम तापेरै दिन बित्छ।’

संघीयतासँगै स्थानीय तह बलियो बन्दै गएपछि गाउँमै आवश्यक सेवा-सुविधा उपलब्ध हुन थालेका छन्। पहिलेजस्तै सरकारी कामका लागि सदरमुकाम धाउनु नपर्ने भएपछि खलंगाको चहलपहल घटेको हो। दैनिक लाखौंको कारोबार गर्ने व्यापारी अहिले हजारमा सीमित हुनुपरेको गुनासो गर्छन्।

पातारासी–३ का वडा अध्यक्ष गोविन्द रावत भन्छन्, ‘पहिले रायोको साग, बन्दाकोबी, धनियाको बीउ किन्न १० रुपैयाँ खर्च गरेर सदरमुकाम जानुपर्थ्यो, अहिले गाउँमै पाइन्छ। ५० मिटर पाइपको सिफारिसका लागि सदरमुकाम धाउनु पर्ने बाध्यता हटेको छ।’

उनले थपे, ‘मेरो गाउँ चौरबाट खलंगा आउन साढे ३ घण्टा, फर्कन ४ घण्टा लाग्थ्यो। एक दिन बजारमै बस्नुपर्थ्यो। अहिले स्थानीय तहमै सेवा पाइएपछि समय र खर्च दुवै बचत भएको छ।’

जिल्ला समन्वय समिति (साविकको जिल्ला विकास समिति) सुनसान देखिन्छ। व्यापार व्यवसाय मात्र होइन, सरकारी कार्यालयहरूमा समेत सेवाग्राहीको चाप घटेको छ।

कनकासुन्दरी–५ लुड्कुका लक्ष्मीशरण उपाध्याय भन्छन्, ‘पहिले एक रुपैयाँमा दुई वटा सियो किन्ने मात्रै हो भने पनि सदरमुकाम आउनुपर्थ्यो। अहिले गाउँमै सबै कुरा पाइन्छ।’ यातायात सुविधा गाउँसम्म पुगेपछि गाउँकै पसलबाट सामान किन्न थालेपछि सदरमुकाम निर्जनजस्तै देखिएको छ।

हिमचुली जनरल स्टोरका सञ्चालक बिर्खबहादुर कठायत भन्छन्, ‘पहिले सिंगो जुम्ला सदरमुकाम आउथ्यो, अहिले आठ वटा स्थानीय तहमा बाँडिएको छ। व्यापार घट्दै गयो। पहिले पसल चलाएर पसिना छुट्थ्यो, अहिले घाम तापेर पसिना छुट्छ।’

खलंगाका होटल, किराना पसल, स्टेशनरी, खाद्यान्न व्यवसाय संकटमा परेका छन्। स्थानीय तहका केन्द्रहरूमा भने नयाँ व्यापारिक केन्द्र बन्दै छन्।

राजनीति, व्यापार वा जागिरका लागि सदरमुकाम बस्नेहरू समेत अहिले आफ्ना स्थानीय तह फर्किएका छन्। सदरमुकामको घरजग्गा कारोबार सुस्ताए पनि स्थानीय तहका केन्द्रहरूमा भने जग्गाको मूल्य आकासिएको छ।

चन्दननाथ मन्दिरका कारण धार्मिक तथा पर्यटकीय चहलपहल अझै बाँकी रहेको भए पनि व्यापारमा त्यसको प्रभाव न्यून छ। दशैं-तिहारमा मात्रै व्यापारमा हल्का चहलपहल देखिए पनि खलंगाको पुरानो व्यापारिक रौनक गुम्दै गएको व्यापारीहरू बताउँछन्।

प्रकाशित: १६ माघ २०८१ १४:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App