बाक्लो हुस्सु लागेका कारण 'भिजीबिलिटी' कम हुँदा आज (मंगलबार) बिहानैदेखि नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ। बिहानैदेखि चलेको शीतलहर तथा हुस्सुका कारण ५० मिटरमात्र भिजीबिलिटी हुँदा नेपालगञ्ज विमानस्थलबाट हुने सबै उडान ठप्प रहेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका ट्राफिक कन्ट्रोलर रिङ्की मल्लिकले जानकारी दिए।
उनका अनुसार हवाई उडानका लागि आवश्यक पर्ने भिजिबिलिटी नहुँदा आज विमानस्थलमा उडान हुन नसकेको हो। ट्राफिक कन्ट्रोलर मल्लिकका अनुसार नेपालगञ्ज विमानस्थलबाट पहाडी जिल्ला, सङ्घीय राजधानी काठमाडौँ, धनगढी र पोखराका लागि दैनिक करिब ५० भन्दा बढी उडान हुने गरेको छ।
जहाज उडाउन एक हजार भिजीबिलिटी हुनुपर्ने र जहाज अवतरण गर्नका लागि एक हजार छ सय भिजीबिलिटी आवश्यक पर्छ। नेपालगञ्ज विमानस्थलबाट हुने उडान अवरुद्ध हुँदा काठमाडौँ र पहाडी जिल्लामा यात्रा गर्न जाने यात्री प्रतीक्षामा विमानस्थलमा बसिरहेका छन्। निरन्तरको शीतलहरले यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। रासस
प्रकाशित: ८ माघ २०८१ १०:४९ मंगलबार