२१ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

‘राज्य दोहन गर्ने महारोगले शेरा दरबारलाई पनि छाडेन’

विदुर नगरपालिकाका उपमेयर प्रभा बोगटी।

विदुर नगरपालिकाका उपमेयर प्रभा बोगटीले लामो समयदेखि चासोको विषय बनेको र हाल मिडियामा निकै चर्चामा आएको नुवाकोटको शेरा दरबारसम्बन्धी केही प्रसंग यहाँ उल्लेख गरेकी छिन्। प्राप्त प्रमाणहरूले लिच्छविकालीन मानवबस्ती रहेको शेरा क्षेत्रमा मल्लकालमा पनि मानवबस्तीको निरन्तरता देखिन्छ। १८२२ सालमा पृथ्वीनारायण शाहले शेराबेंसीमा माडी दरबार बनाउन लगाएको र सो स्थानमा उनको हिउँदे मुकाम रहने गरेको देखिन्छ।

१९०३ सालमा भत्किएको सो दरबार १९९९ सालमा तत्कालीन श्री ३ जुद्धशमशेर नुवाकोट भ्रमणमा आउँदा बनाउन आदेश दिएपछि पुरानो माडी दरबारभन्दा दक्षिणपट्टि नयाँ दरबार बनेको छ। सो दरबार रानी दरबारको नामले प्रसिद्ध थियो। २०१३ सालमा प्राचीन स्मारक संरक्षण ऐन आएपछि उक्त ऐतिहासिक क्षेत्र र दरबार स्वतः नेपाल सरकारको मातहतमा आउनुपर्थ्याे तर आएन र पछि राजपरिवारका सदस्य हेलेन शाहका नाममा पुगेको देखिन्छ।

२०२१ सालमा भूमिसुधार ऐन आएपछि हदबन्दीभन्दा बढी जग्गा सरकारीकरण हुनुपथ्र्यो, त्यो भएन। उक्त क्षेत्रको १८ रोपनी नौ आना जग्गा व्यक्तिका नाममा र एक सय ६४ रोपनी जग्गा गौरीशंकर कम्पनीका नाममा गएको देखिन्छ। पछि अन्नपूर्ण फार्मिङ काठमाडौं हुँदै २०५२ सालमा राजपरिवारका सदस्यले उक्त ऐतिहासिक स्थल अन्य व्यक्तिहरूलाई सेयर बिक्री गरी बेचेको देखिन्छ।

मुलुक आन्तरिक संघर्षको चरम स्थितिमा पुगेको बेलामा २०५९ माघमा दरबारमा गम्भीर क्षति पुगेको थियो। यसपछि ओझेलमा परेको सो दरबार र त्यसले स्वामित्व लिएको जग्गा २०६० बाट पुनः उक्त ऐतिहासिक स्थलको सेयर खरिद बिक्री हुँदै गएको भेटिएको छ। २०६३ पछि रानी दरबार पूर्ण रूपमा भत्काएको देखिन्छ।

राज्यभित्र कानुनको दुरुपयोग गर्ने पद, शक्तिको बलमा राज्यको दोहन गर्ने नेपालभित्रको महारोगले शेरा दरबार क्षेत्रलाई पनि छाडेको देखिन्न। हिजोदेखि भएका गल्ती र कमजोरीलाई ढाकछोप नगरीकन उक्त ऐतिहासिक महत्त्वको क्षेत्र सरकारीकरण गर्न जरुरी छ। यसका लागि म, विदुर नगरपालिका र मसँग सम्बन्धित पार्टी हरहालतमा सहयोग गर्न तयार छौं। यस विषयलाई अतिरञ्जित गर्नुभन्दा सत्यतथ्य उजागर गर्नु र कानुनसम्मत राज्यको ऐतिहासिक धरोहरहरूको संरक्षण गर्नु हाम्रो दायित्व हो।

माडी दरबार क्षेत्र मात्र होइन, ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको हरक्षेत्रको संरक्षण र संवर्धन हाम्रो दायित्व हो। विदुर नगरपालिकाभित्र मिचिएका सरकारी जग्गाहरू क्रमशः खोजी गरी राज्यमातहत ल्याइने प्रतिबद्धता व्यक्त गर्छु।

पृथ्वीनारायण शाह र उनको सकारात्मक योगदानको हामी सबैले आत्मसात् गर्न सकौं। बहुसंख्यक मानिस र राष्ट्रका लागि योगदान दिने मानिस सम्झनायोग्य रहन्छन्। मैले सुनेकी छु, शेरा दरबारले लिएको जग्गा सरकारीकरण गर्ने विषयमा राज्यका विभिन्न निकायले अनुसन्धान गरिरहेका छन्। ती अनुसन्धानपछि पुरातत्त्व विभाग वा राज्यको नाममा आउने र ऐतिहासिक महत्त्वको शेरा दरबार पुनर्निर्माण हुने कुरामा पनि विश्वस्त छु। (कुराकानीमा आधारित)

 

यो पनि पढ्नुहोस्

शेरा दरबार संरक्षण गर्न पुरातत्त्वलाई पत्राचार

 

प्रकाशित: १५ माघ २०८१ ०७:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App