नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गर्न सरकारसँग माग गरेका छन्। उनले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र घाइते तथा मृतकका परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउन पनि आग्रह गरेका छन्।
सोमबार जारी विज्ञप्तिमा थापाले घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
थापाले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने प्रश्न उठाउँदै सामाजिक सद्भावमा असर पर्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ संयमित, सतर्क र जिम्मेवार हुनुपर्ने बताएका छन्। उनले समयमै परिस्थितिको आकलन गरी पर्याप्त समन्वय, सुरक्षा तयारी र सतर्कता अपनाउन नसक्दा नागरिकको ज्यान जाने अवस्था सिर्जना हुनु दुःखद भएको उल्लेख गरेका छन्।
उनले प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र जनविश्वास कायम हुने गरी परिस्थितिको संवेदनशील ढंगले व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेका छन्। साथै, अफवाह र उत्तेजनामा नलाग्न तथा सामाजिक सद्भाव कायम राख्न स्थानीयवासी, सामुदायिक संस्था, नागरिक समाज र राजनीतिक दललगायत सबै पक्षलाई संयमता अपनाउन अपिल गरेका छन्।
प्रकाशित: ११ श्रावण २०८३ १९:२० सोमबार


-600x400.jpg)


