२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

अब पाथीभरा मन्दिरको टीका प्रसाद हुलाकमार्फत घर–घरमै पुर्‍याइने

अब ताप्लेजुङस्थित पाथीभरा मन्दिरको टीका प्रसाद पनि हुलाकमार्फत सम्बन्धित लाभग्राहीकै घरमा पुर्‍याइने भएको छ।

बिहीबार ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले पहिलो सेवाग्राहीको रूपमा पाथीभरा मन्दिरको टीका प्रसाद हुलाकमार्फत धनुषा पठाएका छन्।

दाहाल धनुषाको सहायक प्रमुख जिल्ला अधिकारीबाट असार २८ गते देखि ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत छन्।

पाथीभरा क्षेत्र विकास समिति र जिल्ला हुलाक कार्यालयबिच बिहीबारै मन्दिरको टीका प्रसाद हुलाकमार्फत घर–घरमै पुर्‍याउने कार्यका लागि द्विपक्षीय सम्झौता भएको थियो।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङ र जिल्ला हुलाक कार्यालय ताप्लेजुङका निमित्त प्रमुख हेमनाथ पाण्डेबिच मन्दिरको टीका प्रसाद हुलाकमार्फत घर–घरमै पुर्‍याउने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

क्षेत्र विकास समिति र हुलाक कार्यालयबिच भएको सम्झौता अनुसार प्रजिअ दाहालले बिहीबार पाथीभरा मन्दिरको टीका प्रसाद हुलाकमार्फत धनुषा पठाएका हुन्।

कोशी प्रदेशको हिमाली जिल्ला ताप्लेजुङबाट मधेस प्रदेशको धनुषामा पाथीभरा मन्दिरको टीका प्रसाद पठाउँदा धार्मिक तथा सामाजिक सद्भाव समेत कायम हुने तथा एक अर्काबिच भ्रातृत्व र भाइचारा सम्बन्धमा समेत सुधार ल्याउने देखेर आफूले पहिलो सेवाग्राहीको रूपमा पाथीभरा मन्दिरको टीका प्रसाद जिल्ला प्रशासन कार्यालय धनुषामा पठाएको प्रजिअ दाहालले जानकारी दिए।

धनुषामा प्रसिद्ध जानकी मन्दिर रहेको छ। यो कार्यले जानकी मन्दिर सहितका प्रसिद्ध मठमन्दिरको टीका प्रसाद समेत हुलाकमार्फत ताप्लेजुङ सहितका अन्य जिल्ला आउन सक्ने आधार समेत खुलेको छ।

क्षेत्र विकास समिति र जिल्ला हुलाक कार्यालयबिचको सम्झौता पत्र अनुसार क्षेत्र विकास समितिले माग भए अनुसारको टीका प्रसाद सेवाग्राहीलाई उपलब्ध गराउने छ। यसको शुल्क बारे केही उल्लेख नभएपनि मन्दिरमा उपलब्ध भएसम्मको टीका प्रसादको व्यवस्थापन क्षेत्र विकास समितिले गर्ने छ भने खरिद गरी मन्दिरमा चढाएर पठाउनुपर्ने अवस्थामा टीका प्रसादको माग गर्ने पक्षले सो बराबरको शुल्क तिनुपर्ने छ।

टीका प्रसाद प्रेषण गर्दाको हुलाक शुल्क मागकर्ताले क्षेत्र विकास समितिमार्फत हुलाक कार्यालयमा व्यहोर्नुपर्ने हुन्छ। टीका प्रसाद माग गर्ने पक्षले क्षेत्र विकास समितिसँग सम्पर्क स्थापित गरी त्यस बापतका सबै शुल्कका बारेमा बुझ्न सक्ने प्रबन्ध गरिएको छ। 

झोलिलो, तैलिय र टुटफुट हुने, धारिलो र तापक्रमले असर पार्ने सामग्री भने हुलाकमार्फत प्रेषण नहुने भएको छ। 

प्रकाशित: २१ श्रावण २०८३ १८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App