पोखरामा शक्ति र गृहलक्ष्मी गरि दुईवटा ग्यास उद्योग छन्। अहिले ती उद्योगलाई सबैभन्दा बढि दवाव छ। किनकी जति नै सुकै ग्यास भरेर बजारमा सिलिन्डर पठाएको भएपनि उपभोक्ताले सहज ग्यास पाएका छैनन्। दिनहुँजसो बजारमा ग्यास पठाएपनि अपुग भएको गुनासो उपभोक्ताले उद्योगसम्मै गर्ने गरेका छन्।
शक्तिले मात्र यो साउन महिनाको २१ दिन अवधिमा कास्कीमा मात्र ३१ हजार ६ सय ७० सिलिन्डर ग्यास बिक्री गरिसकेको छ। शक्तिले साउनमा बजार पठाएको ग्यास सिलिन्डरको यो संख्याले उद्योगको झन्डै ५६ प्रतिशत हिस्सा ओगट्छ। कास्की बाहेक आसपासका जिल्लामा पनि शक्तिले ग्यास बिक्री गर्छ। साउनको तीनसाता अवधिमा शक्तिले सबैगरि ५६ हजार ८ सय ३१ सिलिन्डर ग्यास बजारमा पठाइसकेको छ।
त्यसैगरि पोखराकै अर्काे उद्योग गृहलक्ष्मी कम्पनिले पनि साउनको २१ दिन अवधिमा कास्कीमा मात्र ३७ हजार ३ सय ४८ सिलिन्डर ग्यास बिक्री गरिसकेको छ। नियमित अवस्थामा गृहलक्ष्मीले कास्कीमा मासिक ३० हजार हाराहारीमा ग्यास बिक्री गर्दथ्यो। तर, योपटक तीनसाता अवधिमा ३७ हजार भन्दा बढि सिलिन्डर ग्यास बिक्री गरिसक्दा पनि अभाव कम हुन सकेको छैन। नियमित भन्दा बढि आकारमा ग्यास बजारमा पठाउँदा पनि अभाव कम हुन नसकेको भन्दै उद्योगी नै अचम्मित छन्।
‘सामान्य अवस्थामा हामीले कास्कीमा महिनामा ३० हजार हाराहारीमा सिलिन्डर पठाउँछौ। तर, यो पटक तीनसाता अवधिमा त्यो संख्या ३१ हजार नाघिसकेको छ। हामीले महिना दिनमा गर्दै आएको ब्यापार तीनसातामै नाघिसकेको छ। तरपनि उपभोक्ताको भीड डिलरमा उत्तिकै छ। ग्यास चाहियो, खाना पकाउन पाइएन भनेर गुनासो गर्ने उपभोक्ता उद्योगसम्मै आइपुग्छन,’ शक्तिका महाप्रबन्धक मेघराज पौडेल भन्छन, ‘हामीले पठाएको ग्यास कहाँ गयो भनेर अचम्मित छौं। उपभोक्ताको गुनासो सुन्दा हामी नै छक्क पर्ने अवस्था छ।’
डिलरकहाँ ग्यास ढुवानी गरेको भएपनि उपभोक्ताको भीड कम हुन नसकेको उनले बताए। पौडेलको बुझाईमा ग्यास बिक्रीको पुरानो ‘चेन’ नै अहिले ब्रेक भएको छ। उद्योगले सबैभन्दा पहिले ग्यासका सिलिन्डर डिलरकहाँ पठाउने, डिलरले सब–डिलरकहाँ पठाउने र सब डिलर मार्फत उपभोक्ताको घरमा ग्यास पुग्नुपर्नेमा अहिले डिलरमै ग्यास लिनेको भीड बढेपछि सब डिलरकहाँ ग्यास पठाउनै नसकेको उनले बताए। उपभोक्ताले नियमित रुपमा खरिद गरिरहेको ठाउँबाट अहिले ग्यास पाउन नसकेको उनले बताए।
‘उपभोक्ता ग्यासका सिलिन्डर लिएर डिलरमै लाइन बस्न आएपछि सब डिलरकहाँ पठाउनै सकिएन। सब डिलर हुँदै उपभोक्ताकहाँ ग्यास पुग्नै सकेन,’ पौडेलले भने, ‘सप्लाई चेन ब्रेक भएपछि समस्या परेको छ। डिलरमै लाइन बस्ने अवस्था आउनुपर्ने अवस्था सिर्जना भएकोले अप्ठेरो परेको हो।’ उद्योगले नियमित भन्दा बढि संख्यामा ग्यास बजारमा पठाउँदा पनि माग कम हुन नसकेको उनले बताए।
.jpg)
उनका अनुसार पोखरामा विभिन्न १७ वटा कम्पनिले ग्यास बिक्री गर्छन। तर, शक्ति र गृहलक्ष्मीले नियमित भन्दा बढि नै आपूर्ति जिल्लाभित्र गरिसकेका छन्। तर, उपभोक्ताको त्यो माग दिनदिनै पेचिलो बन्दै गएको छ। ‘जब भरि सिलिन्डर ग्यास आउन थाल्यो, त्यसपछि कृत्रिम अभाव सिर्जना गरियो। बजारमा ग्यास पाइँदैन भन्ने हल्ला फिजाँइयो। पहुँच भएका उपभोक्ताले लाइन बसेरै भएपनि ग्यासका सिलिन्डर घरभित्र राखेकोले यो अवस्था सिर्जना भएको हो,’ उनले भने।
अर्काे उद्योग गृहलक्ष्मीका महाप्रबन्धक भीमराज लामिछाने पनि पहुँच भएका व्यक्तिले जर्बजस्ती ग्यास थुपारेर बजारमा अभाव सिर्जना गरेको बताउँछन्। ‘हामीले महिनाभरमा गर्ने भन्दा बढिको ब्यापार तीनसातामा गरिसक्यौं। तर, अभाव अझै कम भएको छैन। बजारमा ग्यास पाउन नसकेको भनेर उपभोक्ताले गुनासो गरिरहेका छा। काखे बालक च्यापेर ग्यास लिन लाइनमा बस्ने अवस्था घट्न सकेको छैन।’
शक्तिका महाप्रबन्धक पौडेलको बुझाईमा पोखरामा १७ वटा कम्पनिले ग्यास बिक्री गरेको भएपनि सबै कम्पनिले अरु समयमा जस्तो माग अनुसार पोखरामा ग्यास पठाएका छैनन। त्यसले गर्दा उपभोक्ताको दवाव स्थानीय दुईवटा उद्योगमाथि थपिएको छ।
‘१७ वटै कम्पनिले केही समयका लागि पोखरामा पर्याप्त ग्यास आपूर्ति गरिदिने हो भने अहिलेको अभाव टर्छ। तर, अरु कम्पनिले फाट्टफुट्ट मात्र ग्यास दिए। मागेको बेला ती कम्पनिको ग्यास नपाएपछि हामीमाथि दवाव थपिएको हो,’ उनले भने, ‘सहज हुँदा अरु कम्पनिले पनि बिक्री गरे। तर, असहज अवस्थामा ती कम्पनिले भनेजति ग्यास दिएनन। त्यो अभावलाई हामीले पुरा गर्नुपर्दा दवाव थपियो।’ अभावको त्रास अनुभव गर्दा यो अवस्था सिर्जना भएको पौडेलको भनाई छ।
स्थानीय प्रशासनले पनि ग्यास बिक्रीमा कडाई गर्दै अनुगमन तिब्र पारेको बताएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले रातको समयमा ग्यास बिक्री गर्न नपाउने गरि समय निर्धारण गरेको समेत बताए। रातको समयमा ग्यास बिक्री गर्दा पहुँचवालाले मात्र पाएको भन्ने गुनासो आएपछि बिहान ७ देखि बेलुकी ७ बजेसम्म मात्र ग्यास बिक्री गर्न पाइनेगरि समय निर्धारण गरेको उनले बताए। बजार अनुगमनलाई तिब्र बनाउँदै ग्यास लुकाउने कतिपय डिलरलाई कारवाहि गरिने समेत उनले बताए।
‘पोखरा क्षेत्रमा ग्यास बिक्री गर्ने सबै कम्पनिलाई केही समयका लागि आपूर्ति बढाउन अनुरोध गरेका छौ। सबै कम्पनिले केही समयका लागि ग्यास ल्याइदिने हो भने यो समस्या हटिहाल्छ,’ उनले भने, ‘हामीले सबैजसो कम्पनिलाई यो सम्बन्धमा सचेत गराएका छौं। अनुगमनलाई कडाई गरेका छौ।’
पोखरा क्षेत्रमा गृहलक्ष्मी र शक्ति कम्पनिले लेखनाथ क्षेत्रमा आफ्नै प्लान्टमार्फत पोखरामा ग्यास भरेर बजारमा पठाउँछन। यी बाहेक अरु कम्पनिले पनि पोखरामा ग्यास बिक्री गर्छन। ती बाहेक पोखरामा अरु कम्पनिले पनि ग्यास बिक्री गर्छन। पोखरामा सबैगरि १७ वटा कम्पनिले ग्यास बिक्री गर्छन। पोखरामा जाडोको बेला मासिक डेढलाख र गर्मीको बेला मासिक १ लाख ४० हजार हाराहारीमा ग्यास सिलिन्डर खपत हुन्छ। पर्यटकीय क्षेत्र लेकसाइडमा सबैभन्दा बढी संख्यामा ग्यासको खपत हुन्छ।
प्रकाशित: २१ श्रावण २०८३ १८:१५ बिहीबार





