२ माघ २०८१ बुधबार
image/svg+xml
समाज

‘मैचा’कै लागि बाँचेकी थिइन ‘मायाकुमारी’

वधशालामा प्रहार गरिएको घनको तोडको प्रतिकार नगरेको भए सम्भवतः ऊ डेढ वर्ष अगाडि नै मासुको कुनै परिकार बनिसक्थी। दूध कम दिएपछि मासुको लागि भनेरै  बिक्री गरिएको उक्त भैँसी जीवन जोगाउन मूल सडकै भागेको थियो।

भाग्दै–भाग्दै एउटा विद्यालयभित्र पसेर लुकेको उक्त भैँसीलाई पुन मार्ने प्रयास समेत गरियो । धन्न त्यति बेला पशु अधिकारकर्मीहरूले भैँसीलाई मार्न होइन बचाउन जरुरी भएको भन्दै सेल्टरमा लिएर गए । त्यसरी त्यति बेला भैँसीको जीवन जोगियो ।  

‘त्यो बेला भैँसीको हालत एकदमै दर्दनाक थियो । उसको टाउकोमा घनको डोब थियो । सिङ भाँचिएको थियो, आँखाबाट रगत चुहिएको थियो,’ स्नेहाज केयरकी स्नेहा श्रेष्ठले ले भनिन्, ‘त्यो अमानवीय कर्म देखेर हामी सबैको मन निकै रोएको थियो ।’ 

भाग्दाभाग्दै उद्धार गरिएको भैँसी मायाकुमारी ।

उनको मन त्यति बेला झन् धेरै रोयो, जब उनलाई थाहा भयो भैँसीको पेटमा दुई महिनाको गर्भ रहेछ भन्ने । ‘त्यसपछि त्यो भैँसीप्रति हेर्ने हाम्रो माया झनै घनिभूत भयो,’ पेटमा रहेको गर्भ जोगाउन उसले गरेको सङ्घर्षप्रति गर्व बोध भयो ।’  

स्नेह केयर्समा राखेर उसलाई स्याहारसुसार गरेपछि वैशाखतिर  पाडीलाई जन्म दिएको स्नेहाले सुनाइन् । ‘हामी यहाँ भएका सबै पशुलाई मानिसजस्तै सम्मान दिन्छौ,’ उनले भनिन्, ‘त्यही भएर पाडीलाई मायाले मैचा भनेर नामकरण गरियो ।’ 

मायाकुमारी र मैचा।

उपचारपछि भैँसी केही निको भए पनि कमजोर भएको उनले सुनाइन् । तर मैचालाई पुग्ने दूध भने भैँसीले दिने गरेको थियो । ‘दुई थुनबाट दूध आउँदैनथ्यो,’ उनले भनिन्, ‘बाँकी दुई थुनको दूध मैचाले पेटभरि खान्थिन्।’ 

आश्रयमा आएपछि मायाकुमारी नाम पाएकी उक्त भैँसी त्यहाँ भएका अन्य गाई भैँसी लगायतका जनावरसँग मिलेर बस्ने गरेको उनले सुनाइन्। 

आफूले जतिसुकै स्याहार गरे पनि त्यति बेला प्रहार गरेको घाउ बल्झेर मायाकुमारी बिरामी पर्दै गएको स्नेहाले बताइन् । ‘७ दिन जति त उठ्न पनि सकेन,’ उनले भनिन्, ‘अन्ततः आइतबार मायाकुमारीको मृत्यु भयो।’ 

ऊ मरे पनि उसले मैचाको लागि आफूलाई बचाएको कुराले सबैको मन छोएको श्रेष्ठले सुनाइन् । ‘हामीलाई यस्तो लाग्यो ऊ मैचाकै लागि बाँचेकी रहिछे,’ स्नेहाले भनिन्, ‘मैचाले दाना र घाँस खान थालेपछि  मायाकुमारीको मृत्यु भएको छ।’ 

मायाकुमारीको सबै जनावरप्रतिको स्नेहले सम्मानजनक अन्त्येष्टि गरिएको थियो । उसको अन्त्येष्टि अन्य जनावरले पनि देखुन् भन्ने चाहना रहेको स्नेहाले सुनाइन् । ‘मायाकुमारी मरेपछि पनि मैचाले दूध खान खोजेको दृश्यले भने हामीलाई निकै भावुक बनायो,’ उनले भनिन्, ‘मायाकुमारीलाई खाल्डोमा पुर्दै गरेको दृश्य मैचाले रुद्धै नियाली रहेकी थिइन्।

मायाकुमारीको मृत्युपछि स्नेहाले सामाजिक सञ्जालमा गरेकाे भावुक पाेस्टः

अलबिदा ! प्रिय मायाकुमारी,

मृत्यु शाश्वत सत्य हुँदाहुँदै पनि तिम्रो मृत्यु स्वीकार गर्न असाध्यै गाह्रो भइरहेछ ।

वधशालाभित्र टाउकोमा बज्रिएको घनको प्रहार कति दर्दनाक हुन्छ भन्ने तिमीलाई मात्र थाहा थियो । मृत्युको बज्र टाउकोमा बज्रिँदा पनि पेटको सन्तानका लागि मृत्यु जित्न सक्ने तिम्रो मातृ शक्तिको गाथा शायदै कसैले बयान गर्न सक्ला । अनि संवेदनाहीन मान्छेहरूको निर्दयताको पराकाष्ठाले शिखर छोएको देखेर हामीलाई मान्छे हौँ भन्न लाज लाग्छ । पीडा र वेदनाको आर्तनाद लिएर भौँतारिएकी तिमीलाई हामीले भाग्यले भेट्यौँ । तिम्रो दुःख सुखको साथी हुन पाएकोमा हामी निकै भाग्यमानी अनुभूति गरिरहेका छौँ । प्रिय मायाकुमारी,

तिम्रो मायाको चिनो मैचाको मुख हेरेर तिम्रो झल्को मेटाउनुबाहेक अब हामीसँग कुनै विकल्प छैन । आज हामी सबैको गला अवरुद्ध भइरहेको छ । तिम्रो वियोगले हाम्रो घर उजाड बनेको छ ।

गहभरि आँसु लिएर तिमीलाई श्रद्धाञ्जली अर्पण गर्दछौँ ।

स्वर्गबाट हाम्रा लागि आशीर्वाद पठाउनु है ।

हामी तिम्रो मायाको चिनो हेरेर सदैव तिमीलाई नै सम्झिरहनेछौँ ।

प्रकाशित: १ माघ २०८१ १८:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App