१० माघ २०८१ बिहीबार
image/svg+xml
समाज

विपिनको रिहाइका लागि सक्रिय सरकार, इजिप्ट र कतारसँग अपिल

नेपाल सरकारले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार र इजिप्ट सरकारसँग पुनः आग्रह गरेको छ। सरकारले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुबै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन पुनः आग्रह गरेको हो ।  

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्येबाट ३४ जनालाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमाससँग मध्यस्थता गरिरहेको कतार र इजिप्ट सरकारलाई विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह गरेकी हुन्। 

नेपालका लागि इजिप्टका राजदूत नोहा हमदी अहमद एलगेबलीसँग आज (शुक्रबार) मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा परराष्ट्रमन्त्री डा देउवाले इजिप्ट सरकार समक्ष सो आग्रह गरेको मन्त्रालयले जानकारी दिएको छ। 

आजै मन्त्री डा देउवाले नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग पनि फोन सम्पर्क गरी विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन्। हाल कतारमा रहेका राजदूत अन्सारीले यस विषयमा आफूले कतारका विदेशमन्त्रीसँग कुराकानी गरेर थप जानकारी गराउने जानकारी दिएका छन्।

हमासले पहिलो चरणमा आफ्नो नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला, बालबालिका एवं नाजुक स्वास्थ्य अवस्थामा रहेका व्यक्तिलाई रिहा गर्ने तयारी गरेको भन्ने सूचना आएकाले यही चरणमै विपिनको पनि रिहाइका लागि पहल गरिदिन मन्त्री डा देउवाले दुवै देशका सरकारलाई आग्रह गरेकी हुन्। 

यसअघि पनि गत बुधबार मन्त्री डा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग पनि यसबारे कुरा गरेकी थिइन्। 

सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए। त्यसलगत्तै उनीहरूले केही व्यक्तिलाई अपहरण गरी लागेकामा विपिन जोशी पनि छन्। 

विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयास जारी राखेको छ। नेपालले संयुक्त राष्ट्रसङ्घ, विभिन्न अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरूमा साथै द्विपक्षीय एवं बहुपक्षीय बैठकहरूमा समेत परराष्ट्रमन्त्री डा राणाले विपिनको रिहाइका लागि पहल गरिदिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दै आएको छ। 

प्रकाशित: २६ पुस २०८१ १७:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App