कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको आदेश लेखन कार्य जारी छ। बिहीबार सरकारी वकिलका तर्फबाट जवाफी बहस सकिएसँगै न्यायाधीश नीतिज राईले प्रतिवादीलाई बोल्न समय दिएका थिए।
अदालतको विश्राम कक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले समय बिताइरहेका छन्। आदेश आउन केही समय लाग्ने आंकलन गरिएको छ। विश्राम कक्षभित्र रवि-निकिता शान्त मुद्रामा देखिए पनि बाहिर भने रास्वपाका शीर्ष नेताहरूको बाक्लो उपस्थिति छ।
कार्यबाहक सभापति डीपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद विराजभक्त महर्जन, विनिता कठायतसहितका नेताहरू अदालत परिसरमा देखिएका छन्। कतिपय नेता अदालतभित्र प्रवेश गर्दै-निस्कँदै गरिरहेका छन् भने कतिपय बाहिर बसिरहेका छन्।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले निषेधित क्षेत्रको सुरक्षा कडा बनाएका छन्। बाहिर रास्वपा समर्थक र सहकारी पीडितहरूको चहलपहल देखिन्छ। उनीहरू आदेशको प्रतीक्षामा छन्।
अदालतले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छोड्ने, वा साधारण तारेखमा रिहा गर्ने निर्णय गर्ने तयारी गरिरहेको छ। रवि लामिछानेले आफूलाई साधारण तारेखमा छाड्न आग्रह गरेको जनाइएको छ।
देशकै कान्छा न्यायाधीश नीतिज राईको इजलासमा बहस सकिएको छ। अब आदेश सार्वजनिक हुने प्रतीक्षा छ।
यो पनि पढ्नुहोस्
कास्की अदालतले थुनामुक्तको आदेश दिए पनि छुट्ने छैनन् रवि
प्रकाशित: २५ पुस २०८१ १५:५४ बिहीबार