कास्की जिल्ला अदालतमा पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको थुनछेक बहस सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने पनि जोडिएकाले यो मुद्दामा धेरैको चासो छ ।
कास्की प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय रवि लामिछाने लगायतका अभियुक्त विरुद्ध ठगीका साथसाथै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाएको छ ।
उक्त मुद्दाको थुनछेक बहस कान्छा न्यायाधीश नीतिज राईको इजलासमा परेको थियो । जसअन्तर्गत पक्राउ परेर अदालतमा पेस भएका रवि सहितका अभियुक्तलाई सामान्य तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने विषयमा अब आदेश आउने छ । अदालतले यही आदेशको तयारी गरिरहेको छ । सम्भवतः बिहीबारै आदेश आउने सम्भावना छ ।
यता रवि लामिछानेलाई अदालतले साधारण तारेख वा धरौटीमा छाड्ने आदेश भए पनि उनी बिहीबारै हिरासतमुक्त हुने सम्भावना भने छैन ।
किनभने रवि विरुद्ध अन्य चार ठाउँमा सहकारी ठगीकै मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । रुपन्देहीको सुप्रिम, चितवनको सहारा, काठमाडौंको स्वर्णलक्ष्मी र विरगञ्जको सानोपाइला सहकारी ठगी प्रकरणको अनुसन्धानमा पनि सम्बन्धित जिल्लाका जिल्ला अदालतले रवि विरुद्ध प्रहरीलाई पक्राउ पुर्जी दिएका छन् ।
काठमाडौंको स्वर्णलक्ष्मी ठगी प्रकरणको मुद्दा अदालत पुगिसकेको छ । जहाँ अब रविलाई थुनछेककै लागि अदालतमा पेस गर्नुपर्ने छ । अन्य ठाउँमा प्रहरी अनुसन्धान नै गरिरहेको छ ।
यसर्थ रवि बिहीबार कास्की अदालतको आदेशले छुटे पनि फेरी पक्राउ पर्ने छन् ।
प्रकाशित: २५ पुस २०८१ १५:०९ बिहीबार