वैदेशिक रोजगारीले मुलुकमा रेमिटेन्ससँगै धेरै परिवारमा खुसी भित्र्याएको छ। वैदेशिक रोजगारी धेरैको सहारा बनेको छ। घरेलु कामदारका रूपमा साउदीमा झन्डै दुई दशक समय बिताएकी प्रनिशा भन्छिन्, ‘विदेश आएको झन्डै १८ वर्ष हुन लाग्यो। घरमा स–साना बालक छोराहरू छोडेर आएकी थिएँ। आजभन्दा करिब २० वर्षअघि मलेसियामा अघिल्लो रात कुराकानी गरेर सुतेका बुढा भोलिपल्ट सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएको खबर आयो।’ परिवार पाल्छु भनेर बिदेसिएका पतिको मृत्यु लगत्तै गाउँमा ऋण लिएका साहु घरमा आउन थालेपछि उनलाई बाँच्न झन् धेरै गाह्रो भएको उनी बताउँछिन्।
उनले साहुको ऋण तिर्न तत्काल लिएको निर्णय हो– वैदेशिक रोजगार। वैदेशिक रोजगारीमा मलेसिया पुगेका उनका पतिको मृत्युपछि दिनप्रतिदिन घरको पर्खालहरू अन्धकारले छाइरहेको थियो। हुन त मलेसियामा काम गरिरहेका पति हुँदा पनि आफूले कमाइ खान नपाएको उनको अर्को दुःखद पाटो छ। किनभने प्रनिशामाथि उनका पतिले सौता हालेका थिए। प्रनिशा उनको पतिको पहिलो पत्नी थिइन्। मलेसियामा कमाएको प्रायः सबै पैसा कान्छीलाई पठाउने गरेको उनले सामाजिक सञ्जालमार्फत साउदीबाट नागरिकलाई बताइन्। ‘त्यति बेला कान्छी सौता हुँदै गर्दा पनि बुढासँग मेरो राम्रो कुराकानी हुन्थ्यो,’ उनले भनिन्, ‘आफू पनि सानै थिए। के हो माया नै थाहा थिएन। पछि उहाँ बित्नु भयो, त्यसपछि माया भन्ने थाहा पाएँ। उहाँको मरणले मलाई पनि मरेतुल्य बनायो ।’
पति बितेको वियोग त उनलाई छँदै थियो त्यसमाथि साहुले घरजग्गा बेचेर भए पनि ऋण चुक्ता गर्नुपर्छ भनेर दिनहुँ दिनहुँ दिने पीडाका बीच उनी बाँचिरहेकी थिइन्। तैपनि घरमा दूध चुसाउँदै गरेका छोराहरू र वृद्ध भएकी सासु आमालाई छोडेर २१ वर्षको उमेरमा उनी बिदेसिन बाध्य भएकी थिइन्।
‘उहाँ विदेश जानु पहिल्यै नयाँ घर बनाएका थियौं । त्यसको ऋण टन्नै थियो। १५ वर्षमा बिहे भएको मेरो वर्ष दिनको फरकमा दुई छोरा जन्मिए । आफ्नो कमाइ केही थिएन। घरमा बालक छोराहरू र वृद्ध भएका आमासँगै अरू कारणले पनि ऋण बढ्दै गएको थियो। उहाँको मृत्युपछिको काज किरिया सबै गरेर लगभग लाख रूपैयाँको ऋणले विदेश जान बाध्य भएँ,’ उनले भनिन्। विदेशमा पुगेका महिला सबै प्रायः खराब हुन्छन् भन्ने धारण नेपालमा फैलिएको छ तर सबै ठाउँमा त्यस्तो नहुने उनले सुनाइन्। ‘नेपालमा जुन हल्ला सुनिन्छ नि यहाँ त्यस्तो केही हुँदैन। अरू देशको बारेमा म केही भन्न सक्दिन तर १८ वर्ष साउदीमा बिताउँदै गर्दाको मेरो अनुभव छोरा मान्छेसँग त्यस्तो सम्बन्धको त के, उनीहरूले सिधा आँखा जुधाएर पनि हेर्न सक्दैनन्। कति कुरा महिलाको गुण अनुसार पनि हुन्छ।’
उनले बेलिबिस्तार लगाउँदै गइन्, ‘देश अनुसारको भेषभूषा त हुनैपर्यो। हामी घरमा काम गर्न बसेका मान्छे हौं। यहाँ मालिक हुन आएका होइनौं। शरीर नै देखिने गरेर काटिएको तथा जीउमा टाँसिने लुगा लगाएको, ओठमा लिपस्टिक जस्ता अन्य काम गरेको साउदीमा राम्रो मान्दैनन् ।’ कतिपय साँच्चै दुःखमा परेका महिला होलान्, तर धेरै त आफू गुना पनि हुने गरेको उनले बताइन्। आफू बसेको घरमा साहुनी धेरै मिलनसार, मायालु र दया गर्ने खालको भएको उनले बताइन्। साहुनीको छोराछोरी सानैदेखि आफैंले हुर्काएसँगै दुवै छोराछोरीको विवाह पनि भएको उनी बताउँछिन्। साउदीमा काम गर्ने घरमा अहिले वृद्ध भएकी आमा मात्रै रहेको प्रनिशाले सुनाइन्।
प्रनिशाले साउदी गएको सुरुमा घरधन्दा र साना केटाकेटी हेर्ने काम गर्नुपथ्र्यो। ती केटाकेटी रुँदा उनलाई आफ्ना काखे छोराछोरीको यादले खुब सताउँथ्यो। उनको मुटु बिझाउँथ्यो। जबरजस्ती चित्त बुझाउँथिन्। आफ्नै छोराहरू सम्झेर हेरचाह गर्थिन्।
प्रनिशाको दुई छोरा मध्ये जेठा छोरा कोरियामा छन्, भने कान्छो घरतिरको काममा रुमलिएका छन्। साउदीमा काम गरेर छोराहरू पढाइ ठाउँमा पुर्याउनु आफ्नै देन रहेको उनी सुनाउँछिन्। ‘बच्चा जन्माउनु मात्रै आमा होइन रहेछ,’ उनले भनिन्, ‘आमा हुन त तिनलाई पढाउनु पर्यो, हुर्काउनुपर्यो, खुट्टा टेक्ने बनाउनुपर्यो। जीवनमा जे–जति गरेँ, उनीहरूकै लागि गरेँ। एकल आमा भएपछि हरेक दुखसँग लड्न सक्नुपर्ने रैछ। हार खानु हुँदैन। अरूको अगाडि रुनु हुँदैन रहेछ। मनको पीडा मनमै राखेर अगाडि बढ्नुपर्ने रहेछ। त्यही हिम्मतले आज यहाँ पुर्याएको छ।’
जेठो छोराको घरबार भइसकेको प्रनिशालाई अब विदेशमा दुःख गर्नुपर्दैन स्वदेश आउन सबैले करकाप गर्छन् तर उनी भन्छिन्, ‘बालक छोराहरूलाई आमाको आवश्यक पर्दा नेपाल बस्न पाइएन्। अहिले छोराहरू ठाउँमा पुगे। त्यति धेरै मेरो जरुरी उनीहरूलाई छैन। नेपाल जान त हुन्थ्यो तर यहाँ वृद्ध भएकी साहुनी छिन्। उनी मेरो जन्म दिने आमा जस्तै लाग्छ। उनलाई एक्लै छोडेर पनि नेपाल आउन सक्ने अवस्थामा छैन।’
यी वृद्ध आमाले पनि नेपाल नफर्किन आग्रह गरेको र आफूलाई आवश्यकता अनुसार सबै पूरा गरिदिने प्रण गरेको उनले बताइन्। आफूलाई पनि ती आमाको साह्रै माया लाग्ने बताइन्।
उनले अहिले काम गर्ने घरमा खाना पकाउने, सरसफाइ गर्ने लगायतका काम गर्नुपर्छ। घरमा दिनभरि प्रायः साहुनी र उनी मात्रै हुन्छन्। साहुनीका लागि खाना–नास्ता र चिया बनाउने काम गर्छिन्। बूढी आमाले खान्छु भनेपछि खाना बनाउनुपर्छ। कहिलेकाहीँ साहुनीका छोराबुहारी पनि भेला हुन्छन्। आफन्त र नातागोता सबै जम्मा हुँदा अलि धेरैलाई खाना बनाउनुपर्छ।
साउदीमा काम गर्दै गरेको घर उनलाई आफ्नै जस्तो लाग्छ। साहुनीको छोरीले पनि आफ्नै बहिनी र छोराबुहारीले पनि दिदीबहिनी जस्तो व्यवहार गर्ने गरेकोमा उनी मक्ख छिन्। यसबाहेक आफन्तहरूकहाँ केही कार्यक्रम हुँदा साहुनीलाई लिएर जाने र बजारमा किनमेल गर्ने पनि प्रनिशाकै जिम्मेवारीमा पर्छन्। अहिले उनले गाडी चलाउन पनि सिकिरहेकी छिन्। साउदी बसेको १८ वर्ष जित्दैगर्दा प्रनिशा बेलाबेलामा नेपाल आउने गर्छिन्। अब आउँदो चैतमा बिदाको छुट्टी लिएर नेपाल आए पनि केही महिनापछि साउदीमै फर्किने उनको अठोट छ।
जीवनमा कहिल्यै नसुनेको अरेबिक भाषा उनले साउदीमा सुनेकी थिइन्। साउदीमा घरको काममा पुगेकी उनलाई त्यहाँको भाषा बुझ्न निकै गाह्रो हुन्थ्यो। करिब ६ महिनापछि त्यहाँको भाषालाई उनले नियाल्दै गइन्। विस्तारै दैनिक बोलीचालीमा प्रयोग हुने भाषा बुझ्न र बोल्न सक्ने भइन्। अहिले प्रनिशालाई नेपाली भाषाभन्दा साउदीको भाषामा बोल्न सहज हुने बताउँछिन्। नागरिकसँग कुरा गर्दैगर्दा पनि उनी फरर अरबी भाषामा मालिक्नीसँग कुराकानी गर्दै थिइन्। उनलाई घरको कामसँगै फोनमा कुराकानी गर्न पनि सहज थियो। आफूलाई घरमालिक्नीले आफ्नै छोरी जस्तो गर्ने गरेको उनको अनुभव छ।
उनलाई अरबी आमाको माया लाग्छ ती आमालाई नेपाली चेलीको। साउदीमा भएकी ती वृद्ध आमा र प्रनिशा ‘आमा छोरी’ जस्तै भएर बसेका छन्। अब नेपाल बस्ने गरी कहिले फर्किने भनेर नसोचेको उनले सामाजिक सञ्जालमार्फत नागरिकलाई बताइन्। बरु सरकारले घरेलु काममा जान प्रतिबन्ध लगाएपछि भन्ने बित्तिकै बिदा लिएर नेपाल आउन नपाएको उनले बताइन्। नेपाल फर्केपछि फेरि जान नपाइने हो कि भन्ने उनलाई डर छ। घरेलु काम गर्ने सबै जना हिंसामा नपर्ने भएकाले सरकारले प्रतिबन्ध खुला गर्नुपर्ने प्रनिशाको भनाइ छ।
सरकारले मलेसिया तथा खाडीका विभिन्न ६ मुलुकमा घरेलु काममा जान प्रतिबन्ध लगाएको छ। २०७३ चैतमा तत्कालीन संसद्को अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिले जोखिम देखाउँदै त्यस्तो प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो। त्यसयता श्रम स्वीकृति लिएर मलेसिया तथा खाडी मुलुकमा घरेलु काम गर्न नेपालीहरू गएका छैनन् तर भारत वा विभिन्न तेस्रो मुलुकको बाटो हुँदै अवैध तरिकाबाट थुप्रै महिला जाने गरेका छन्। प्रनिशा पनि भारत हुँदै साउदी पुगेकी थिइन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीका अनुसार त्यसरी अवैध गएका महिला अप्ठेरोमा परेको खण्डमा घर फर्किन पनि मुस्किल छ र हामीलाई झिकाउन पनि सहज छैन।
प्रकाशित: २३ पुस २०८१ ०९:३१ मंगलबार