२५ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

चितवनमा मगर समुदायको मौलिक ‘कौराहा’ प्रतियोगिता हुने

नेपाल मगर सांस्कृतिक संघ चितवनको आयोजनामा भरतपुरमा मौलिक कौराहा (कानराहा) प्रतियोगिता हुने भएको छ । संघले बुधबार (आज) पत्रकार सम्मेलन गरेर पुस २७ गते खुल्ला कौराहा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

प्रतियोगिता वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको हलमा हुने छ । प्रतियोगितामा १० भन्दा बढी समूहको सहभागिता रहने आयोजकको अपेक्षा छ । अहिलेसम्म ८ समूहले भाग लिइसकेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहने समूहको लागि दर्ता शुल्क पाँच हजार तोकिएको छ । मूल्याङ्कनमा मौलिक भेषभूषा, गायन, शब्द चयन, वाद्यवादन र नृत्यलगायतका विषयलाई ध्यानमा राखिनेछ ।

आधुनिक प्रविधिको बढ्दो विकाससँगै मगर जातिको सांस्कृतिक पहिचान बोकेको कौराहाको वास्तविक रस हराउँदै गएकाले संरक्षणका लागि प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल मगर सांस्कृतिक संघ चितवनका अध्यक्ष प्रेमकुमारी आले मगरले जानकारी दिइन् । मगर समुदायको बसोबास बाक्लिँदै गएको चितवनमा संस्कृति संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आले मगरले बताइन् ।

मगर समुदायमा प्रचलित लोकगीतको एक प्रकारलाई ‘कौराहा’ र यसै गीतमा नाचिने नाचलाई ‘कौराहा नाच’ भनिन्छ । यो स्वरठी नाँच भित्र पर्ने एक इकाई हो । यसलाई मगर समुदायले रमाइलोका रुपमा नाचगान गर्ने गरेको आलेमागरले बताइन् ।

प्रतियोगितामा प्रथम हुने समूहलाई ३५ हजार, द्वितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १० हजार पुरस्कार र सान्त्वना हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ । 

प्रकाशित: २४ पुस २०८१ ११:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App