गत आइतबार १०० वर्षको उमेरमा निधन भएका अमेरिकाका पूर्वराष्ट्रपति जिम्मि कार्टर नेपाल आउँदा पक्षी अवलोकन (बर्ड वाचिङ) गर्दथे । नेपालको शान्ति तथा प्रजातान्त्रिक प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन योगदान गरेका कार्टरको त्यो नितान्त गैरराजनीतिक रुचि थियो ।
सन् १९८५ देखि सन् २०१३ सम्म नेपालको ५ पटक भ्रमण गरेका कार्टरले हरेक भ्रमणमा पक्षी अवलोकन गर्ने समय जुटाएका थिए । पक्षी अवलोकनमा उनलाई गाईड गरेका नेपाली पक्षीविज्ञका अनुसार उनी प्रकृतिप्रेमी त छँदै थिए, त्योभन्दा बढी उनको रुचि पक्षी अवलोकन (बर्ड वाचिङ) मा थियो । हुन पनि सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको ३९औं राष्ट्रपति रहेका कार्टर वातावरण र प्रकृति संरक्षणका अभियन्तासमेत थिए ।
पहिलो पटक सन् १९८५ मा नेपाल आउँदा सगरमाथा आधारशिविरवाट सिधा चितवनको टाइगर टप्स पुगेको र त्यहाँ वाइल्ड लाइभ सफारी र चरा अवलोकन गरेको चराविद् राजेन्द्र सुवाल बताउँछन् । त्यसपछि सन् २००७ को अगस्तमा शिवपुरीमा पक्षी अवलोकन गर्दा कार्टरलाई स्वर्गीय हरिशरण नेपाली ‘काजी दाइ’ र सुवालले गाईड गरेका थिए ।
यसैगरी सुवालले सन् २०१३ को अप्रिल र नोभेम्बरमा कार्टर नेपाल आउँदा नागार्जुन र गोदावरीमा पक्षी अवलोकन भ्रमणको गाईड गरेका थिए । त्यसबीचमा सन् २००८ मा नेपाल भ्रमणको बेला नेपालका अर्का पक्षीविद् डा. हेमसागर बरालले कार्टरलाई फुलचोकीमा पक्षी अवलोकन गराएका थिए । कार्टर प्रकृतिप्रेमी र विशेषगरी चराप्रेमी रहेको उनलाई गाईड गर्ने सुवाल र बराल सम्झन्छन् । जर्जिया राज्यको प्लेन्स्मा रहेको आफ्नो घरमा ब्रेक फास्ट खाँदासमेत कार्टरले घर वरपर देखिने चराको डाटा राख्ने गरेको बताएको सुवाल सम्झन्छन् ।
‘जतिसुकै व्यस्त दैनिकी भए पनि दिनको २ घण्टा उहाँ प्रकृतिसँग रमाउन चाहनुहुन्थ्यो,’ सुवाल भन्छन् । आफैँले मौरी पालन गर्ने र घार आफैले काट्ने गर्ने गरेको कार्टरले आफूलाई बताएको सुवाल सम्झन्छन् ।
विश्वका जुनसुकै कुनामा जाँदा जंगल सफारी गर्ने गरेका कार्टरलाई दक्षिण अफ्रिकाको क्रुगर नेशनल पार्क सबैभन्दा धेरै मन पर्ने सुवाल बताउँछन् । नेपाल भ्रमणको बेला वर्षाको सम्भावनाले समेत कार्टरलाई पक्षी अवलोकन गर्नबाट नरोकेको सुवाल सम्झन्छन् । ‘सन् २००७को अगस्तमा शिवपुरीमा चरा अवलोकन मनसुनको बेला थियो तर, त्यसले उहाँलाई रोकेन । संयोगले त्यो दिन पानी परेन,’ सुवाल भन्छन् ।
आफ्ना पूर्वराष्ट्रपतिले पक्षी अवलोकन गर्ने रुचिका कारण नेपालका लागि कतिपय तत्कालीन अमेरिकी राजदूतहरूसमेत यस्ता भ्रमणमा सक्रिय हुने गरेको गरेको सुवाल सम्झन्छन् ।
सुवालका अनुसार सन् २००७को शिवपुरीमा चरा अवलोकनमा जाँदै गर्दा बिच बाटोमा मोटरमै नेपालका पक्षीहरूको बारेमा पावरपोन्ट र सन् २०१३मा प्लानेट अर्थको माउन्टेन्स नामक डकुमेन्टरी कार्टरलाई देखाइएको थियो ।
बिहान झिसमिसेमै पक्षी अवलोकनका लागि कार्टर तयार हुने सुवाल सम्झन्छन् । हुन पनि नेपाल पक्षीका विभिन्न प्रजातिको संख्याको हिसाबले धनी राष्ट्र मानिन्छ । नेपालमा झन्डै ९ सय प्रजातिका चरा पाइन्छन् । कार्टरले अवलोकन गरेका स्थान–राजधानीको उत्तरतिर रहेको शिवपुरी र दक्षिणतर्फको फुलचोकीमा मात्र ४०० थरीका चराहरू पाइन्छन् ।
‘नेपाल प्रकृतिका हिसाबले स्वर्गको टुक्रा हो,’ कार्टरले आफूलाई भनेको सुवाल सम्झन्छन् । कार्टरलाई अत्यन्त पारिवारिक र सहजै गफगाफ गर्ने मिजासका रहेको डा. बराल बताउँछन् ।
चराका कैयन् प्रजातिको अवलोकनपछि कार्टरले ‘आई रियल्ली लाइक वर्डिङ’ भनेको बराल सम्झन्छन् । सन् २००८को अप्रिलमा नेपाल भ्रमणको बेला बरालसँग फुलचोकी पुगेका कार्टरले त्यसको लगत्तै दोस्रो दिन आफ्नी श्रीमती रोजालिन, बुहारी र भ्रमणका अन्य दलका सदस्यालाई समेत लिएर शिवपुरीमा चरा अवलोकन गरेको बराल सम्झन्छन् ।
प्रकाशित: १५ पुस २०८१ २०:३६ सोमबार