७ पुस २०८१ आइतबार
image/svg+xml
समाज

पर्वत अस्पतालमा फिजियोथेरापी सेवा सुरु

स्थापना भएको साढे तीन दशकपछि पर्वत अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सुरु भएको छ। शनिबारदेखि औपचारिक रूपमा सुरु भएको फिजियोथेरापी सेवाको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले उद्घाटन गरे।

फिजियोथेरापी सेवाको शुभारम्भ गर्दै मन्त्री पाठकले नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार निरन्तर सक्रिय भएर लागेकाे बताए। उनले प्रदेशका ११ वटै जिल्लाका अस्पताललाई सुविधासम्पन्न बनाइने बताए। अब जिल्लामै अधिकांश रोगको उपचार हुने गरी अस्पतालको क्षमता विकास गर्ने र त्यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।

सरकारबाट १५ शय्या क्षमताको अनुमति पाए पनि ६० शय्या क्षमतामा सञ्चालित अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेको हो। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको दरबन्दीबाट यो सेवा सञ्चालन गरिएको हो।

सेवा सञ्चालन गर्न डा. प्रमीला लामिछाने नियुक्त भएका हुन्। अब नियमित रूपमा सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.हेमन्त बाँस्तोलाले बताए।

‘फिजियोथेरापी’ विधिले शरीरका विभिन्न अङ्गहरूको चाल, लचकता, बल र समन्वय सुधार गर्न मद्दत गर्ने तथा यो उपचार मुख्य रूपमा शरीरको मांसपेशी, जोर्नी, स्नायु र हाडहरूको समस्या समाधान गर्न प्रयोग गरिने भएकाले बिरामीका लागि महत्त्वपूर्ण रहेको उनको भनाइ छ।

डा. बाँस्तोलाका अनुसार प्यारालाइसिस, ढाड दुख्ने, घुँडा दुख्ने, गर्धन दुख्ने, काध तथा कुहिना दुख्ने र मुख बाङ्गिएको समस्या भएका बिरामीले सहज रूपमा उपचार पाउने छन्।

अस्पतालले पहिलो चरणमा १० शय्याको व्यवस्था गरेर फिजियोथेरापी सेवा दिन थालेको छ। स्वास्थ्य बीमा गरेका विमितलाई स्वास्थ्य बीमा कार्डमार्फत नै सेवा उपलव्ध गराइने भएको छ। जिल्लामा फिजियोथेरापी सेवा नहुँदा यस क्षेत्रका बिरामी पोखरा, काठमाडाैं लगायतका ठाउँमा जान बाध्य थिए। जिल्लाबाटै उक्त सेवा सञ्चालन भए पनि यस क्षेत्रका बिरामीलाई सहज हुने छ।

-रासस 

प्रकाशित: ७ पुस २०८१ ०७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App