पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्ति र भाषणकलामाथि गरिएको विद्यावारिधि (पीएचडी) शोधले उनका भनाइहरू उखान-टुक्कामा मात्र सीमित नभई दार्शनिक गहिराइले युक्त रहेको निष्कर्ष निकालेको छ।
नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रमा अनुसन्धाता सानुमैयाँ खड्काले अध्यक्ष ओलीका भाषणमाथि गरेको शोधमा यस्तो निष्कर्ष निकालिएको हो।
उनले पूर्वीय दर्शनको ‘व्यञ्जना सिद्धान्त’ (शब्दको सोझो अर्थभन्दा परको विशिष्ट अर्थ) को कसीमा ओलीका अभिव्यक्तिहरूको विश्लेषण गरेकी थिइन्।
मंगलबार उक्त शोधको सफलतापूर्वक प्रतिरक्षा गर्दै खड्काले विद्यावारिधिको उपाधि हासिल गरेकी हुन्।
डा. खड्काको शोधले ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणा केवल राजनीतिक नारा वा गन्तव्य मात्र नभएको दाबी गरेको छ।
शोधको निष्कर्षबारे खड्काले भनिन्, ‘यो नारा समयानुकूल विकसित हुँदै गएको एउटा सिद्धान्त र दर्शन हो। यो अब आत्मसम्मान र सामाजिक न्यायको समिश्रित आयामहरूमा आधारित दर्शन बनिसकेको छ।’
ओलीका अभिव्यक्तिमा प्रयोग हुने कथनहरूमा गहिरो ‘व्यञ्जना अर्थ’ लुकेको उनको ठहर छ।
उक्त शोधमा केपी ओलीको भाषण शैलीलाई विश्वचर्चित नेताहरूसँग तुलना गरिएको छ।
अनुसन्धाता खड्काले अमेरिकी पूर्वप्रधानमन्त्री बाराक ओबामा, डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताहरूको अभिव्यक्ति शैलीसँग ओलीको तुलनात्मक अध्ययन गरेकी थिइन्।
तुलनात्मक समीक्षामा ओलीका अभिव्यक्तिहरूमा मौलिकता, सांस्कृतिक गहिराइ र प्रतीकात्मक भाषिक संरचनाको विशिष्ट पहिचान भेटिएको शोधमा उल्लेख छ।
नेपालको राजनीतिक वक्तृत्व परम्परामा पूर्वीय चिन्तन र व्यञ्जना सिद्धान्तको प्रयोग गरी गरिएको यो नै पहिलो विद्यावारिधि स्तरको शोध भएको दाबी गरिएको छ।
यस अध्ययनलाई नेपाली राजनीतिक भाषाशास्त्र, वक्तृत्व अध्ययन र दार्शनिक विमर्शका क्षेत्रमा महत्त्वपूर्ण शैक्षिक योगदान मानिएको छ।
डा. खड्काले आगामी दिनमा नेपाली नेताहरूका भाषण र वैचारिक संरचनालाई व्यवस्थित रूपमा अभिलेखीकरण र विश्लेषण गर्नुपर्नेमा जोड दिइन्।

शोधका लागि डा. ऋषिराम शर्मा निर्देशक तथा प्रा.डा. भागवत ढकाल र प्रा. केशव सुवेदी विशेषज्ञका रूपमा रहेका थिए।
प्रकाशित: १५ पुस २०८२ २०:५२ मंगलबार





