५ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

शवदाह गृह निर्माण नरोक्न अदालतको आदेश

कोहलपुरमा शवदाह गृह निर्माण कार्य नरोक्न उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले आदेश दिएको छ। निर्माण कार्य रोक्न माग गर्दै अदालतमा रिट परेको थियो। अदालतले रिट निवेदकले माग गरेबमोजिम अन्तरिम आदेश दिन इन्कार गरेको छ। कोहलपुर नगरपालिकाले वडा नं ११ स्थित डुडुवा र रोहिणी खोलाको संगमस्थलमा शवदाह गृह निर्माण कार्य थालेको थियो।

गत मंसिर २४ मा कोहलपुरका स्थानीय भुमबहादुर भण्डारीले शवदाह गृह निर्माण तत्काल रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए। दुवै पक्षबीच भएको बहसपछि उच्च अदालतले अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो। एक करोड २५ लाख रूपैयाँको लागतमा शवदाह गृह निर्माण हुँदै छ।

नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले शवदाह गृह निर्माणको काम अगाडि बढिरहेको बताए। अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको उनले जानकारी दिए। आगामी माघ महिनादेखि औपचारिक रूपमा शवदाह गृह सञ्चालनमा ल्याउने नगरपालिकाको तयारी छ। शवदाह गृहका लागि चाहिने अधिकांश संरचना निर्माण भइसकेको बताइएको छ।

निर्माण समितिका संयोजक चक्र अधिकारीले कोहलपुरवासीका लागि शवदाह गृह अत्यावश्यक रहेको बताए। ‘निर्माणको ८० प्रतिशत काम हामीले सम्पन्न गरिसकेका छौं, आगामी माघ महिनामा शवदाह गृह सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ’, उनले भने। 

शवदाह गृह निर्माणका लागि स्थानीय सरकार, व्यवसायी र बैंकबाट राम्रो सहयोग पाइएको अधिकारीले बताए। नगरपालिकाले शवदाह गृह निर्माणका लागि १५ लाख रूपैयाँ छुट्ट्याएको छ। कोहलपुर नगर विकास समितिबाट ५० लाख रुपैयाँ ऋण लिएर शवदाह गृह निर्माण भइरहेको छ। यस्तै एभरेस्ट बैंकले ५० लाख रुपैयाँ सहयोग गरेको छ। 

यसैगरी ग्लोबल आईएमई बैंकले २० लाख सहयोग गरेको छ। गोल्छा समूह र दुगड समूहले समेत शवदाह गृहका लागि आवश्यक संरचरना निर्माणको वाचा गरेका छन्। कोहलपुरमा शवदाह गृह नहुँदा करिब बयालीस किलोमिटर दूरी पार गरेर राप्ती सोनारी– २ स्थित अगैयाघाट जानुपर्ने बाध्यता छ।

प्रकाशित: ५ पुस २०८१ ०९:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App