२४ चैत्र २०८१ आइतबार
image/svg+xml ८:२१ पूर्वाह्न
समाज

साङ्केतिक भाषामै व्यापार चलाउँदै बहिरा विद्यार्थी

दोलखाका अर्जुन खड्का सिन्धुलीको एक बहिरा विद्यालयमा कक्षा दशमा अध्ययनरत छन्। कान नसुन्ने उनी साङ्केतिक भाषामा पढ्दै आएका छन्। १० कक्षामा अध्ययनरत खड्का पढाइको अलवा हेयर कटिङको काम समेत गर्छन्। यहाँको कमलामाई नगरपालिका ६ स्थित नवज्योति बहिरा माध्यमिक विद्यालयमा अध्ययनरत खड्कालाई विभिन्न संघसंस्थाहरुले कपाल काट्ने तालिम दिएसँगै उनी कपाल काट्न पोख्त भएका हुन्।

विद्यालयमै उनलाई कपाल काट्ने सैलुन खोल्ने व्यवस्था गरी एउटा कोठामा सैलुन चलाइएका छन्। विद्यालयमा अध्ययनरत छात्र तथा अन्य विद्यालयका होष्टलमा बस्ने विद्यार्थीको समेत कपाल काटेर उनी आयआर्जन गर्दै आएका छन्। कक्षा ११ मा अध्ययनरत बाल कुमारी बुढा क्षेत्री पनि कान नसुन्ने विद्यार्थी हुन्। हातको इशारामा दोभासे शिक्षकको सहायतामा उनी कक्षा ११ सम्म अध्ययन गरिसकिन्। सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित सोही बहिरा माध्यमिक विद्यालयमा अध्ययनरत बालकुमारी यति बेला खाजा पसल सञ्चालन समेत गरेर जिविको पार्जन गर्दै आएकी छिन्।

कान नसुन्ने बहिरा अपाङ्गता भएकी बालकुमारीलाई प्लान नेपालको आर्थिक सहयोगमा जिल्लाकै सिड्स नेपाल नामक गैरसरकारी संस्थाले दक्ष युवा परियोजना मार्फत मम समोसा, भुजिया निम्की आलु चिप्स लगायत बनाउने तालिम दिएर दक्ष बनाएपछि उनी यति बेला व्यवसायी समेत भएकी छिन्। बालकुमारी मात्रै होइन बहिरा विद्यालयमा अध्ययनरत अञ्जना लो, मनिका विक कविता थिङ पनि विद्यार्थी सँगै व्यवसायी पनि बनेका छन्। विद्यालयले पढ्दै कमाउँदै गर्न सिकाएसँगै उनीहरूको परिचय विद्यार्थीसँगै व्यवसायी भएको हो।

व्यवसायको सुरुवाती चरणमै दैनिक पन्ध्र सय देखि तीन हजार सम्म कमाई भएको बालकुमारीले सुनाइन्। ग्राहकलाई सजिलो होस् भनेर उनीहरूले अन्य होटेल जस्तै मूल्य सूचि राखिदिएका छन्। ग्राहकले बोलेको उनीहरूले सुन्न नसक्ने भएकाले मूल्य सूचिमा भएको लिस्ट हेरेर हातको औलाले देखाएपछि उनीहरू ग्राहकको सेवामा जुट्छन्। हातको इशाराका साथै कपीमा लेखिदिएपछि ग्राहकलाई रोजेको र खोजेको खाजा तथा विल तिर्न उनीहरूले पनि लेखेरै सहजीकरण गर्छन्।

नवज्योति बहिरा माध्यमिक विद्यालयमा हाल २ सय २६ जना विद्यार्थी अध्ययनरत छन् । उनीहरूलाई दोभासे शिक्षकहरूले नै पडाउँछन्। १२ कक्षासम्म सञ्चालित रहेको विद्यालयका विद्यार्थीलाई अध्ययन गराउन सहज भने छैन। त्यसमाथि तालिम दिएर व्यवसायीक बनाउन तालिम दिने सहजकर्ता सँगै दोभासे शिक्षकले सहजीकरण गर्नुपर्छ। आवाज नसुन्ने भएपनि दिमाग तेजिलो हुने भएकाले धेरै कुरा अरूको बोली र इशारालाई उनीहरूले सहजै बुझ्न सक्छन्। त्यसैले उनीहरूले अन्य विद्यालयबाट आउने विद्यार्थी देखि ग्राहकलाई सन्तुष्ट पारेर पठाउने गरेका छन्। 

नवज्योति बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय तामाङका अनुसार साङ्केतिक भाषाबाटै उनीहरूले व्यापार सुरु गरेका छन्। विभिन्न गैरसरकारी सङ्घसंस्थाको सहयोगमा हामीले विशेष गरी छात्राहरूलाई तालिम दिएका थियौ, उनीहरूले अहिले खाजा पसल सुरु गरेका हुन्, प्रधानाध्यापक तामाङले भने, यसका अलवा पढाइसँगै सिपमूलक कार्यक्रम हामीले सञ्चालन गरेकाले हेयर कटिङ र सिलाईकटाईको व्यवसाय समेत विद्यार्थीले गर्ने गरेका छन्। विद्यार्थीको व्यवसायलाई विद्यालयले पनि सघाएको छ। पसल राख्ने स्थान तय गर्ने देखि अन्य विभिन्न प्राविधिक सहयोग विद्यालयले गर्दै आएको छ। इच्छाशक्ति भए अपाङ्गता भएपनि काम गरेर खान सकिन्छ जुन उदाहरण बहिरा माध्यमिक विद्यालयका विद्यार्थी पनि हुन् प्रधानाध्यापक तामाङले भने थप सहयोग गरी उनीहरूलाई हौसल्ला बढाउन जरुरी छ। 

प्रकाशित: २० मंसिर २०८१ १२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App