बिहीबार छठ पर्वको मुख्य दिन व्रतीहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज (बिहीबार) मुख्य दिन हो। भोलि बिहान (शुक्रबार) उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ समापन हुन्छ।
उखुको लाक्रा,ठेकुवा, केराको घरीलगायत ७० प्रकारका पूजा सामग्री व्रतीहरू अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्।
आज रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ। रातभर पूजा सामग्री छठी घाटमै राखेर व्रतीहरू छठी घाटमा बस्ने गरेका छन्।
बिहान स्नान गरी चोखोनितो गरेर बसेका व्रर्तालुले भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व समापन गरिन्छ। छठ पर्व मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ।
छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ। दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसाद स्वरूप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ। यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान छ।
प्राचीन कालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहु धार्मिक एवं बहु जातीय पर्व छठको अनुष्ठान मंगलबार सुरु हुँदै छ।
शास्त्रीय मान्यता अनुसार छठको पहिलो दिन मंगलबार व्रतालुले ‘नहाय राय’ गरी यो पर्वको विधिवत् सुरुआत गरेका थिए। उदाउँदो एवं अस्ताउँदो सूर्यलाई बराबर सम्मानका साथ पुजिने यो लोक पर्वका लागि मधेसलगायत मुलुकभरका नदी तथा खोला किनार, पोखरीका डिल र नहरवरपर सरसफाइ गरी झिलिमिली पारिएको छ।
व्रतालुले पहिलो बिहान घर, नदी, खोला, इनार, नहर वा पोखरीमा स्नानपछि अरूवा चामलको भात, रहरको दाल र तरकारी (वर्जितबाहेक) समाविष्ट शुद्ध शाकाहारी भोजन ग्रहण गरी पर्वको थालनी गर्छन्। ‘नहाय राय’को विधिपछि उनीहरू दोस्रो दिन (बुधबार) साँझसम्म उपवास बसेका थिए।
घरका ज्येष्ठ, स्वस्थ र सक्रिय महिला सदस्यले चार दिनसम्म कठिन उपवाससहित यो पर्व मनाउँछन्। यो पर्वमा पुरुषको सहायक भूमिका हुन्छ। प्राचीन कालदेखि परिवारको समृद्धि, सन्तान प्राप्ति, रोग एवं कष्ट निवारणका लागि छठ पूजा गर्ने चलन रहिआएको छ। यो पर्वका लागि व्रतालु एवं परिवारजनले तिहार सकिए लगत्तै माछामासु खान छोड्छन्।
व्रतालुले नै पुजारीको भूमिका निर्वाह गर्ने सूर्य उपासनाको यो पर्वमा घरदेखि जलाशय वा नदी–खोला किनारसम्म दीपावलीमय वातावरण हुन्छ। यो जल, जीवन र सम्पूर्ण ऊर्जाको स्रोत सूर्यबिचको सम्बन्ध झल्काउने असीम श्रद्धाको पर्व हो। सबै जाति, धर्म, वर्ग र लिङ्गका मानिसले पूजा गर्न सक्ने हुनाले यो सामाजिक सद्भावको अद्भुत धार्मिक एवं सांस्कृतिक उत्सव हो।
प्रकाशित: २२ कार्तिक २०८१ १७:३२ बिहीबार