मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु परिवर्तनको असरका कारण मधेस प्रदेशका नागरिकको जीवन पद्धति नै खल्बलिएको बताएका छन्।
शनिवार काठमाडौंमा कोप-२९ सम्मेलनको पूर्व सन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उनले यस्तो कुरा बताएका हुन। उनले जलवायु परिवर्तनको असर जीवनपद्धति नै खल्बलिने गरी सतहमा देखिएको बताए। उनले मधेस प्रदेशमा केही वर्ष यता औसत तापक्रम वृद्धि भई जनजीवन अस्तव्यस्त बनिरहेको धारणा राखे ।
उनले जलवायु परिवर्तनको असरले कृषि क्षेत्र प्रभावित भई जीवनको उत्पादकत्व घट्नु, खाद्यसंकट बढ्नु, गरिबी बढ्नुका साथै जीविकोपार्जनमा समेत समस्या भएको उल्लेख गरे। प्रदेशमा स्वास्थ्यसम्बन्धी समस्या वृद्धि भएको र पानीका श्रोत सुक्दै जाँदा खानेपानी, सिँचाइका लागि जल सङ्कट भएको मुख्यमन्त्री सिंहको भनाइ छ।
मुख्यमन्त्री सिंहले जलवायु परिवर्तनको असर कम गर्न सबै स्थानीय तहमा कम्तीमा १० प्रतिशत हरियाली कायम गर्न आवश्यक रहेकाले विभिन्न कार्यक्रम अघि बढाएको बताए।
प्रकाशित: १० कार्तिक २०८१ १५:३२ शनिबार